हाईड्रोको अवैध कार्यमा वडाध्यक्ष शेर्पाको साथ, अख्तियार गुहार्दै स्थानीय

BHOTEKOSHI

 

सिन्धुपाल्चोक । पछिल्लो समय निर्बाचित जनप्रतिनिधिहरु विभिन्न विवादमा मुछिन थालेका छन् । जनताको दुःख सुखमा साथ दिने प्रतिबद्धताका साथ निर्वाचित भएका बिभिन्न दलका जनप्रतिनिधिहरु भष्ट्राचारदेखी ठगी, तस्करी हत्या जस्ता अपराधमा मुछिँदै आएका छन् । 

जनताका सुख दुःखमा भन्दा आफ्नो व्यक्तिगत स्वार्थमा लागेपछि जनप्रतिनिधिहरु एक पछि अर्को बिबादमा आउन थालेका हुन् । जनताका दुःखमा भन्दा जनप्रतिनिधीहरु आफ्नो ओहदाको दुरुपयोग गर्दै व्यक्तिगत स्वार्थमा निहित हुन थालेपछि आलोकप्रिय बन्दै गएका छन् । यस्तै घटनाका पात्र बनेका सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाँउपालिका वडा नं. ४ का वडाध्यक्ष साङदोर्जे शेर्पा । शेर्पा नेपाली कांग्रेसबाट निर्वाचित अध्यक्ष हुन् । सो वडामा निर्माणाधीन हाईड्रोको (माथिल्लो भोटेकोशी हाईड्रो पावर कम्पनी) निर्माण विगत एक दशक देखी जारी छ ।

१२ बैशाख २०७२ मा आएको माहाभुकम्पले वडा नंः ४ को गोलेपा, पांगसेर्पू, आटक, बाँमागाँउ, ज्यांगबा, डाँडागाँउ, ओखरबोटे, फुल्पिंगकट्टी, पागेप, सुरसिंग गाँउमा अन्य ठाँउको तुलनामा बढी क्षती हुन पुगेको थियो । जसको कारण निर्माणाधीन हाईड्रोको टनेल भएको जिकिर वडा बासिन्दाको थियो । निर्माणाधीन हाईड्रोको टनेलको कारण आफ्नो क्षती भएको दाबी गर्दै वडाबासीले हाईड्रोमा अवरोध गर्दै आएको थिए । सो समयमा क्षतीपूर्तिको सम्बोधन गर्दै हाईड्रोले गाउँको स्थानीयको माग सम्बोधन गर्ने बाचा दिएको थियो ।

स्थानीय निर्वाचनपश्चात् हाईड्रोका प्रबन्धक बबिन प्रधानले निर्बाचित वडाध्यक्षलाई आर्थीक प्रलोभनमा पारी स्थानीयलाई छाँयामा पार्ने रणनीतिमा लाग्दै आएका थिए । तर पछिल्लो समय माग सम्बोधन नभएको भन्दै स्थानीय फेरी आन्दोलनमा उत्रिएपछि गाँउमा ६ करोड बराबरको विकासका काम गर्दिने सहमती भएको थियो । यस सहमतीलाई पनि हाईड्रोका प्रबन्धक प्रधान र वडाध्यक्ष शेर्पा मिलेर आफू निकट केही स्थानीयलाई सहमति पत्रमा हस्ताक्षर गर्न लगाएर गुपचुप राखेको स्थानीयको आरोप छ ।

क्षतिपूर्ती तथा गाउँ विकासको आर्थिक सम्झौता गर्दा वडाध्यक्ष शेर्पाले प्रभावित गाउँको सार्बजनिक भेला नै नगरी आफूखुशी हाईड्रोसँग सम्झौता गरेको आरोप स्थानीयले लगाएका छन् ।

प्रभावित गाँउको अन्य प्रतिनिधिलाई समेत छलकपट गरी माग पत्रमा हस्ताक्षर गराएको आरोप वडाध्यक्ष शेर्पामाथी लागेको छ । गाउँका स्थानीय मागको सम्बोधन नगरी वडाध्यक्ष शेर्पाले उल्टै हाईड्रोको हितमा सम्झैता गरेको भन्दै स्थानीयले बिभिन्न निकायमा छानबिनको माग गर्दै उजुरी दर्ता गराएका छन् ।

स्थानीयलाई कुनै जानकारी बिना वडाध्यक्ष शेर्पाको एकल नेतृत्वमा प्रभावित क्षेत्र बाहिराका व्यक्तिको जमघट गरी उनिहरुको हस्ताक्षर लिएको आरोप छ । क्षती भएको ठाउँमा छाडेर वडाध्यक्ष शेर्पाले हाईड्रोको रकमले अन्य स्थानमा निर्माणकार्य सुरु गरेपछि गाउँले रुष्ट बनेका हुन् ।

वडाध्यक्ष शेर्पाले हाईड्रोसँग क्षतीपुर्तीबापत कती रकम लिए भन्ने समेत जानकारी गराएका छैनन् । यस बिषयमा हाईड्रोका प्रबन्धक प्रधानले समेत कति रकम निकाशा भएको भन्ने बिषयमा गाउँलेले जानकारी माग्दा भन्न नमिल्ने भन्दै पन्छिएपछि प्रधान र शेर्पाको मिलोमतोमा ठूलो रकम हिनामिना भएको आँकलन स्थानीयले गरेका छन् ।

यस हिनामिनामा हाईड्रोका प्रबन्धक प्रधानले समेत मोटो रकम हात पारेको स्थानीयको आरोप छ । पैसा हिनामिना र पीडित स्थानीयको माग सम्बोधनका बिषयमा यर्थाथ के भएको हो जानकारी लिने उद्देश्यले भोटेकोशी न्यायिक समितीले ४ असारमा सार्बजनिक बहस गराउन दुबै पक्षलाई उपस्थितीको लागी पत्रचार गरेको थियो । तर त्यस दिन हिनामिनाको आरोपित लागेका हाईड्रोका प्रबन्धक प्रधान, वडाध्यक्ष शेर्पा लगाएत कोही पनि उपस्थिती भएनन् । तर हाईड्रोले भने केही थाहा नभएका प्रतिनिधीलाई भेलामा पठाएको थियो । 

शेर्पाले पारदर्शी हिसाब किताब नदेखाएको भन्दै स्थानीय अब हाईड्रोको निर्माणकार्य काम रोक्ने र अख्तियार दुरुपयोग आयोगमा उजुरी दर्ता गर्ने तयारीमा लागेका छन् ।

Comments

Top