अछामका एक पुरूषमा अन्तेष्टीपछि कोरोना पुष्टी, अन्तेष्टीमा सहभागी छोरा र भाइको आरडीटी पोजेटिभ

Died_Corona1

अछाम । अछामका एक पुरुषमा मृत्युपछि कोरोना पोजेटिभ देखिएको छ । जेठ २७ गते त्रिनगर भन्सार नाका हुँदै नेपाल भित्रिएको १४ दिनको क्वारेन्टाइन बसाइ पछि घर फर्केको एकसातापछि आइतबार मृत्यु भएका ४५ वर्षीय पुरुषको मृत्युपछि गरिएको परिक्षणमा कोरोना पोजेटिभ पुष्टी भएको छ ।

जिल्लाको रामारोशन गाउँपालिका– ५ का पुरूषमा मृत्युपछि कोरोना पुष्टि भएको गाउँपालिकाको स्वास्थ्य शाखाका इन्चार्ज प्रभुनाथ देवकोटाले जानकारी दिए। उनको स्वास्थ्यमा समस्या देखिएपछि एम्बुलेन्समार्फत् मंगलसेन अस्पताल लगिए पनि त्यहाँ उपचार नभएपछि उनको साफेंवगरस्थित बयालपाटा अस्पतालमा उपचार गर्दा गर्दै मृत्यु भएको जनाइएको छ ।

उनको शव सोमबार छोरा र भाइले व्यवस्थापन गरेका थिए। मृतकका छोरा र भाइसहित अन्य जनालाई आरडिटी परीक्षण गर्दा पोजेटिभ आएकोले विशेष निगरानीमा राखिएको छ । र उनीहरुको पीसीआर परिक्षण गर्ने तयारी गरिएको छ ।

मृतक पुरूषको कोरोना पुष्टिसँगै नेपालमा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ३० पुगे पनि हालसम्म स्वास्थ्य मन्त्रालयको तथ्यांकमा भने समावेश गरिएको छैन ।

 

Comments

Top