प्रहरीका अधिकृतहरुलाई दर्ज्यानी चिह्न प्रदान

Nepal-Police-Headquarters

काठमाडौं । नेपाल सरकार मन्त्रिस्तरको असार १४ को निर्णयानुसार प्राविधिकतर्फको प्रहरी नायब महानिरीक्षक र प्रहरी वरिष्ठ उपरीक्षकमा पदोन्नति भएका प्रहरी अधिकृतलाई आज दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

यस्तै सचिवस्तरको मंगलबारको निर्णयानुसार प्राविधिकतर्फ कै प्रहरी उपरीक्षक र प्रहरी नायब उपरीक्षकमा पदोन्नति भएका प्रहरी अधिकृतले समेत आजै दर्ज्यानी चिह्न प्राप्त गरेका छन् । प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीबाट दर्ज्यानी चिह्न प्राप्त गर्नेहरुमा प्रहरी नायब महानिरीक्षक डा सुन्दरप्रसाद हैजु, प्रहरी वरिष्ठ उपरीक्षक डा दामोदर पौडेल, डा सञ्चिता दाहाल घिमिरे, डा मनोजकुमार यादव र कुशल रानाभाट रहेका छन् ।

यस्तै अन्यमा प्राविधिक प्रहरी उपरीक्षक हरि डङ्गोल, ईश्वर थापा, डा सुवर्ण कुँवर, डा छन्द बुढाथोकी, डा केदार खड्की, उन्देश्वर तिवारी र लालबाबु गिरी तथा प्राविधिक प्रहरी नायब उपरीक्षक भुपाल बानियाँ रहेका छन् ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक ज्ञवालीले पदोन्नति भएका अधिकृतलाई बधाई तथा शुभकामना दिँदै नेपाल प्रहरीको संस्थागत विकासका लागि भरपर्दो मेरुदण्डको रुपमा रहेका प्राविधिक समूहका प्रहरी अधिकृत तथा जवानले निर्वाह गर्दै आएको योगदान ज्यादै प्रशंसनीय रहेको बताए ।

उक्त अवसरमा पदोन्नति भएका अधिकृतको तर्फबाट प्राविधिक प्रहरी नायब महानिरीक्षक डा सुन्दरप्रसाद हैजुले सङ्गठनले अङ्गीकार गरेको नीतिअनुरुप प्राप्त पेशागत जिम्मेवारी अझै उत्कृष्ट ढङ्गबाट निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।

Comments

Top