मास्क लगाउनुपर्ने नियम तोड्ने ८५ जना प्रहरी कारबाहीमा

mask

काठमाडौं । पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या बढ्दै जान थालेपछि सरकारले सर्वसाधारणलाई थप कडाई गरेको छ । यसैअनुरुप सरकारले घरबाट बाहिर निस्कने मानिसहरुलाई अनिवार्य रुपमा मास्क लगाउनुपर्ने निर्देशन जारी गरेको छ ।

उक्त नियम उल्लंघन गर्नेलाई प्रहरीले पक्राउ गर्न सक्ने समेत जनाइएको छ । यसैअनुरुप प्रहरीले सिराहाबाट मास्क नलगाई हिँड्ने ६४ जनालाई पक्राउ गरेको छ । लकडाउनको नियम पालन गर्न आग्रह गरिरहँदा पनि बेवास्ता गरी मास्क नलगाउने ६४ जनालाई कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन सरकारले अत्यावश्यक काममा सवारी साधन वा पैदल हिँड्दा अनिवार्यरूपमा मास्क लगाउन र सामाजिक दूरीलाई पालन गरी कार्य गर्न आग्रह गरे पनि सर्वसाधारणले बेवास्ता गरेकाले पक्राउ गरी सङ्क्रमण रोग ऐन, २०२० अनुसार कारवाही शुरु गरिएको प्रहरी नायब उपरीक्षक घिमिरेले बताए । पक्राउ परेका सबैलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रशासन कार्यालय सिरहा पठाइएको उनले बताए ।

त्यसैगरी जिल्ला प्रहरी कार्यालय कास्कीले बुधबार मास्क नलगाई हिँड्ने २१ जनालाई नियन्त्रणमा लिएको छ ।

अनिवार्य मास्क तथा सेनिटाइजर प्रयोग गर्न र भौतिक दूरी कायम गर्न आग्रह गरिएकामा त्यसको अवज्ञा गर्नेहरुलाई नियन्त्रणमा लिएर सङ्क्रामक रोग ऐन, २०२० अनुसार कारवाहीका लागि जिल्ला प्रशासनमा पठाइएकोमा जनही रु १०० जरिवाना लिएर छाडिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।

पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि देशभर नै लकडाउनमा सर्वसाधारणलाई हिँड्नका लागि कम गर्न यो विधि अपनाइएको मानिन्छ ।

Comments

Top