पटक–पटक प्रकृतिको शिकार बन्दै सिन्धुपाल्चोक, सभामुख सवार हेलिकोप्टर धुलिखेलबाटै फर्कियो

Badi-Sindhupalchok

 

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसे जम्बु बजारमा गए राती गएको बाढीमा परि अहिलेसम्म २ जनाको मृत्यु भएको छ भने १६ जना हराइरहेको जनाइएको छ ।

बुधबार रातीदेखि परेको पानीका कारण अरनिको राजमार्गमा ठाउँठाउँमा गएको पहिरोका कारण उद्धारकार्यमा कठिनाई भइरहेको छ । उद्धारका लागि नेपाली सेना र नेपाल प्रहरीले बेपत्ताहरुको खोजी गरिरहेको जनाइएको छ । तर पनि मुख्य घटनास्थलमा नेपाली सेना र प्रहरी पुग्ने क्रममा नै रहेको पनि जनाइएको छ ।

सिन्धुपाल्चोकका त्यस क्षेत्रका प्रायः घरहरु भत्किने अवस्थामा रहेका कारण उनीहरुको उद्धारका लागि स्थानीयहरु सरिक हुने अवस्था नरहेको पनि जनाइएको छ ।

बाढीले बस्तीका १६ जना बेपत्ता बनाकोमा दुई जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्थानीय युधिर पौडेलका अनुसार २० वर्षीय निकेश बस्नेत र उनकी ३ वर्षीया छोरीको मृत्यु भएको हो । उनका अनुसार अझै नौ जना बेपत्ता छन्। तीन जना घाइते रहेको र उनीहरूलाई उपचारमा लैजान माथिल्लो निकायमा हेलिकप्टरका लागि प्रयास भइरहेको प्रहरीले जनाएको छ।

अरनिको राजमार्गको ड्याम, जुरे, साधीखोल्सा, जलेटार ब्यारेकमुनिको भाग, बाह्रबिसे इप्रका चौकीछेउ, खाग्दलदेखि जम्बु बजारसम्मको वरिपरिको सडक र पुल सबै खोलाले बगाएपछि जनजीवन अस्तव्यस्त बनेको छ ।

अहिले बिहान सभामुख अग्नि सापकोटालाई लिएर घटनास्थलतर्फ गएको नेपाली सेनाको हेलिकोप्टर धुलिखेलबाट बाह्रबिसेतर्फ जान नसकेपछि काठमाडौं नै फर्किएको जनाइएको छ ।

प्रत्येक वर्ष प्राकृतिक विपत्तिमा पर्ने गरेको सिन्धुपाल्चोकमा बाढी र पहिरोका कारण ठूलो जनधन हुने गरेको छ । २०७२ सालको भूकम्पमा पनि सबैभन्दा धेरै जनधनको क्षति ब्यहोरेको सिन्धुपाल्चोकमा त्यसपछि जुरेमा पहिरो गएको थियो ।

०७२ सालकै भूकम्पबाट अरनिको राजमार्ग भत्किएपछि अहिलेसम्म चीनसँगको सबैभन्दा सहज मानिएको तातोपानी नाका सुचारु हुन नसकिरहेको अवस्थामा आजको बाढीले पुनः तहसनहस बनाएको छ ।

Comments

Top