कोरोना कहरमा फोटोपत्रकारमाथि ज्यादती किन ?

Pradip raj photo journalist

काठमाडौँ ।
चीनको उहानबाट शुरु भएको कोरोनाले यतिखर सारा संसारलाई समस्यामा पारेको छ । सम्पूर्ण आर्थिक क्रियाकलाप ठप्प प्राय भएका छन् । धेरैका रोजगारी गुमेका छन् । नागरिकले पाएको पिडा शब्दमा उतार्न गाह्रो छ । मानिसको जीवन र तिनका पिडाले समस्या मात्रै पारेको छैन, स्वास्थ्य क्षेत्रमा बढाउनुपरेको बजेटका कारण अन्य क्षेत्र पछाडि पर्ने अवस्था छन् ।
विद्यालय तथा अन्य आर्थिक गतिविधि हुने क्षेत्र समस्यामा छन् । तर , संसारभर नै राज्यको चौथो अंग मान्ने र भन्ने सञ्चार क्षेत्र समेत समस्यामा परेको छ । संसारभरकै नाम चलेका अधिकाशं जसो सञ्चार माध्यम समेत समस्यामा छन् । उनीहरुको प्रमुख आर्थिक स्रोतको रुपमाा रहेको विज्ञापन बजारमा ठूलो अंकले गिरावट आएको छ । आर्थिक क्रियाकलाप नहुँदा त्यसले पार्ने प्रभाव नकारात्मक नै हुन्छ ।
छिमेकी देश भारतका केही छापा माध्यममा समेत कोरोनाका कारण जटिलता उत्पन्न भएको छ । बेलायत, अमेरिका, अष्ट्रेलिया जस्ता देश मात्रै नभई चीनमा समेत सञ्चार उद्योगले समस्या व्याहोर्नु परेको छ । नेपाल पनि त्यसबाट अछुतो छैन । तर संसारभरका सञ्चार उद्यमले आफूलाई कसरी सबल र सक्षम राख्दै आफ्नो कर्म पूरा गर्ने भनेर सोच विचार मात्रै गरेका छैनन्, उनीहहरु विपदसँग जुधेर अगाडि बढीरहेका छन् । तर, नेपालको हकमा भने कर्मचारी तथा पत्रकार केही होइनन्, हामी मात्रै बााँच्नुपर्छ भन्ने मान्यताका साथ प्रस्तुत भएका छन् ।

सञ्चारकर्मी एवम् फोटो पत्रकारको आडमा , उनीहरुको मेहनतमा अगाडि बढेका, नाफा कमाएका, समाजमा शान सौकत बनाएका सञ्चार गृहहरु नै विपदमा परेका सञ्चारकर्मी एवम् फोटो पत्रकारलाई जोगाउने, उनीहरुलाई राहत दिने भन्दा पनि उनीहरुलाई कसरी निकाल्ने, उनीहरुलाई कसरी समस्यामा पार्ने, उनीहरुलाई कसरी पेशाबाट पलायन गराउन सकिन्छ भन्ने ध्येयका साथ लागेका छन् । उनीहरुले विपदमा देखाएको व्यवहार कसाईका सामु बोल्न नसक्ने पशुको जस्तै भएको छ । अर्थात् समस्यामा परेकालाई साथ सहयोग लिने र दिने भन्दा पनि पेशाबाट पलाएन गराएर, उनीहरुको श्रम, रगत पसिनामाथि होली खेल्न उद्यत् भएका छन् ।

नेपालका नाम चलेका, आफूलाई अब्बल तथा आफूलाई जिम्मेवार भनेर प्रचार गराएका सञ्चार गृह नै यतिखेर जसरी भएपनि सञ्चारकर्मी एवम् फोटो पत्रकारको रोजी रोटी खासेर अट्टाहास गर्ने अवस्थामा आइपुगेका छन् । नेपालको एक नम्बर दावी गर्ने कान्तिपुर दैनिक, अन्र्नपूर्णपोष्ट दैनीक , नागरिक दैनिक, नयाँ पत्रिका दैनिक जस्ता पत्रिका प्रकाशन गर्ने सञ्चार गृहले धमाधम आफ्ना सहकर्मीलाई बिना सुविधा कामबाट हटाएका छन् भने कतिपए संस्थाहरु हटाउने वहाना खोज्दैछन ।

विगतमा यति नाफा कमाएको, नेपालको यतिऔं नम्बरमा रहेको भनेर विज्ञापन गर्ने, त्यसलाई प्रचार गर्ने तथा समाजमा शान सौकत देखाउनेहरु नै तीन महिना वा १०० दिन पनि धान्न नसक्ने अवस्थामा पुगे त ? प्रश्न गम्भीर मात्रै होइन, मन दुखाउने खालको छ । पत्रकार तथा सञ्चारकर्मी केही पनि होइनन्, यिनीहरु हाम्रा घरमा बढुवा मजदुर हुन्, यिनीहरुलाई जे जसरी भएपनि लखेट्न सकिन्छ भनेर मुटु भएका सम्पादकहरु प्रस्तुत भएका छन्ु । उनीहरु कर्मचारी हटाउन, कटौती गर्न, सेवा सुविधा नदिन तथा समस्यामा पार्न उद्यत् छन् ।

विपदको समयमा १०० दिन पनि धान्न नसक्ने, अवस्थामा पुगे ? वा यिनीहरुले प्रस्तुत गरेको व्यवहार साच्चै तथ्यको नजिक रहेको छ । वा, उनीहरु विपदलाई नै देखाएर आफ्नो स्वार्थ सिद्ध गर्न लागेका छन् ? कर्मचारी, पत्रकार वा फोटोपत्रकारप्रति तिनको कुनै दायित्व रहँदैन वा त्यो दायित्व पूरा गर्नु पर्दैन ? यस्तै खालका प्रश्नहरु यतिखेर सतहमा उद्घाटित भएका छन् ।
विपदको समयमा आफूसँग काम गर्ने जो कोहहीलाई पनि आठ भरोसा दिने, उपलब्ध स्रोतको समानुपातिक वितरण गरेर बाँच्ने तथा बचाउन लाग्नुपर्नेमा अधिकाशं सञ्चारगृह गैरकानूनी वा अझ भनौ, मानवीय हिसाबले समेत नमिल्ने तथा गर्नै नसकिने काम गर्न लागिपरेका छन् । कयौ पत्रकारको रोजगारी खोसिनु कुनै पनि अर्थमा राम्रो कुरा होइन ।

आफैले खरिद गरेको क्यामेरा तथा फ्याल्सबााट सञ्चारगृहको अनुहार चम्काइदिने, फोटो पत्रकार सबैभन्दा बढी मारमा परेका छन् । त्यसको अर्थ अन्य पत्रकार तथा कर्मचारी मारमा परेका छैनन् भन्ने होइन । आफैले दुःख जिलो गरेर खरिद गरेको क्यामेरा लिएर फोटो पत्रकारिता गर्ने पत्रकारको गाँसमाथि लात हान्ने काम कुनै पनि अर्थमा सञ्चारगृहका लागि मिल्दो, सुहाउँदो वा कानून सम्मत विषय हुँदै होइन ।
एउटा फोटो पत्रकारले सामान्यता रु एक लाख देखि पाँच लाखसम्मका क्यामेरा तथा अन्य उपकरण खरिद गरेको हुन्छ । त्यसमा सञ्चारगृहको कुनै लगानी रहेको पाइदैन । तर आफ्नै साधन र स्रोत प्रयोग गरेर काम गर्नेलाई रोजगारीबाट हटाउने, उनीहरुले काम गरे वापतको पारिश्रमिक नदिने तथा उनीहरुलाई समस्यामा पार्ने काम आफूलाई नम्बर एक बताउने सञ्चार गृहहरुले गर्न सुहाउँछ वा मिल्छ त ? भन्ने प्रश्न सतहमा खडा भएको छ । पत्रकारको छाता संगठन बताउने, नेपाल पत्रकार महासंघ समेत सो विषयमा प्रभावकारी रुपमा क्रियाशिल हुन सकेको छैन । पत्रकारको नाममा खुलेका अरु संगठन समेत चुप जस्तै बसेका छन् । यस्तै, समस्यामा परेका सञ्चारकर्मीले समेत कडा रुपमा प्रस्तुत हुन सकेको अवस्था छैन । उनीहरुको पीडामा मल्हम पट्टी लगाइने कसले हो ? भन्ने कुराको भेऊ समेत पाउन सकिएको छैन ।
सुखद अवस्थामा त जो कोही पनि रमाउन सक्छ, दुःख परेको बेलामा हो सबैको साथ, आड भरोसा हुने भनेको । तर पीडामा परेका, विपदको कहरमा फसेकाको आफन्त र उनीहरुको अभिभावक यतिखेर कोही पनि भेटिएको छैन । सञ्चार मन्त्रालयलाई कुनै जानकारी नभएको जस्तो वा जिम्मेवारीबाट पन्छेको जस्तो देखिन्छ । कोरोना कहरमा अग्रपंक्तिमाा खटेका पत्रकार तथा फोटोपत्रकार प्रति राज्य यत्ति धेरै गैर जिम्मेवार भयो कि उसले सामान्य शब्दको समेत सम्बोधन गर्ने प्रयत्न गर्न सकेन । उसले राहत दिने कुरा त परै जाओस् सम्बोधन गर्ने प्रयास समेत गरेन । यसले के देखाउँछ भने पत्रकार वा फोटोपत्रकार काम गर्दा भाडो, काम नपर्दा ठाडो भने जस्तै भयो ।

प्रदीपराज वन्त (फोटोपत्रकार )

Comments

Top