एउटा स्वचालित बन्दुक जसले छानी–छानी मार्न सक्छ ?

काठमाडौं :

आज जेठ १९, आज भन्दा ठिक १६ वर्ष अघि राजा वीरेन्द्रको परिवारको बंशनाश भएको थियो । त्यतिखेर विद्रोही नेता रहेका डा. बाबुराम भट्टराईले 'नयाँ कोतपर्वलाई मान्यता दिनु हुँदैन' भन्ने शिर्षकमा कान्तिपुर दैनिकमा सनसनीपूर्ण लेख लेखेपछि सम्पादक र प्रवन्ध निर्देशक माथि राजद्रोहको मुद्दा लगाइएको थियो । उक्त लेख यस्तो थियो :

                     २०५८ जेड १९ गते नेपाली इतिहासमा अर्को एउटा ‘कोतपर्व’ घट्यो । राजा वीरेन्द्रसहित राजपरिवारका प्रायः सबै सदस्यहरूको हत्या गरिएको त्यस त्रासदीपूर्ण घटनाबारे सत्य –तथ्य अझै जनसमक्ष प्राप्त हुन नसक्दा यतिबेला सर्वत्र अड्कलबाजी र शंका –उपशंकाको बजार गरम हुनु स्वाभाविक छ । ‘पाप धुरीबाट कराउँछ’ भनेझैं त्यस घटनाबारे वास्तविक सत्य एक दिन अवश्य उद्घाटित हुनेछ । तर, यतिबेला सरकारी सूत्रहरू र तिनका विदेशी मालिकहरूबाट जुन कुराहरू प्रचारमा ल्याइएको छ, त्यसलाई पत्याउन नेपाली जनता पटक्कै तयार छैनन् ।

     खासगरी जुन ढंगले ‘प्रेम प्रसङ्ग’ र ‘दुर्घटना’ को प्रायोजित सिद्धान्त प्रचारमा ल्याएर त्यसभित्रको गम्भीर राजनीतिक षडयन्त्रलाई ढाकछोप गर्ने प्रयास सत्तापक्षबाट भइरहेछ, त्यसले नै शङ्काको सुई उनीहरूतिरै फर्काइरहेको छ र नेपाली जनताको सत्य –तथ्य बुझ्ने अधिकारलाई अरु बल पुर्‍याइरहेको । त्यसैले घटनाबारे सम्पूर्ण तथ्य जनसमक्ष ल्याउन र नयाँ ‘कोतपर्व’ का खलनायकहरूलाई बेनकाव गर्न यतिवेला सम्पूर्ण देशभक्त र जनवादी शक्तिहरूले एकीकृत प्रयास गर्नु इतिहासको माग भएको छ । प्रतिक्रियावादी विश्व दृष्टिकोणले कुनै ऐतिहासिक घटनालाई एउटा फगत आकस्मिकताको रुपमा मात्र प्रस्तुत गर्न खोज्छ र घटनाको प्रमुख कारक तत्व अमूक व्यक्तिलाई बनाउन खोज्छ, साथै त्यसले घटना प्रक्रियाको अन्तर्वस्तुलाई लुकाएर त्यसको बाहिर सतहमा देखिने रुप पक्षमा मात्र एकपक्षीय जोड दिन्छ ।त्यसरी हेर्दा नारायणहिटीभित्र घटेको नयाँ ‘कोतपर्व’ मा कुनै व्यक्ति विशेषको प्रेम प्रसङ्गले निर्णायक भूमिका खेलेको जस्तो देखिन सक्छ, जसलाई सुरुमा सरकारी सञ्चार माध्यमले र मूख्यतः उनीहरूका विदेशी मालिकहरूका सञ्चार माध्यमले निकै जोडतोडका साथ प्रचार गरेको पाइयो । पछि फेरि बडो नाटकीय ढङ्गले स्वचालित बन्दुक आफैं पड्केर मुख्य व्यक्तिहरूलाई छानी –छानी मारेको अत्यन्त हास्यास्पद कुतर्क सो काण्डका खलनायकहरूबाटै अघि सारेको पाइयो ।

      जसमा सायद सो काण्डमा बाँचेका अन्य शाही परिवारका सदस्यहरूको चश्मदीद गवाही(प्रत्यक्षदर्शी) को डरले काम गरेको हुन सक्छ । निश्चित रुपमा इतिहासका कतिपय घटनाहरू फगत संयोगको रुपमा घट्छन् र कुनै व्यक्ति विशेषको अचेतन सनकले पनि निर्णायक भूमिका खेल्न सक्छ ।तर, त्यस्तो अपवाद स्वरुप घट्ने घटनाको पनि एउटा पत्यारलाग्दो शृङ्खला हुन्छ, जुन वर्तमान घटनामा देख्न सकिँदैन । एउटा भावी राजाले प्रेममा पागल भएर गद्दी त्याग गर्न सक्छ तर त्यत्तिकै निम्ति आफ्ना पूरै शाखा सन्तान र स्वयं आफूलाई भौतिक रुपले समाप्त गर्न सक्दैन । झन् एउटा स्वचालित बन्दुक आफसेआफ कुनै अति सुरक्षित कोठाभित्र पसेर देशको राष्ट्राध्यक्ष लगायत एउटा परिवारका सबैलाई छानी –छानी मार्ने र अर्को परिवारका सबैलाई चोखै छोड्ने काम गर्न सक्छ भन्नु एउटा सामान्य सास फेर्ने प्राणीको सहजबुद्धिकोसमेत अपहेलना गर्नु हो, विज्ञान र तर्कको त कुरै छाडौं ।

     संसारमा विभिन्न प्रकारका यन्त्रमानवको आविष्कार भएको सुनिन्छ, तर यति सचेत र अचुक यन्त्रमानवको आविष्कार यदि कसैले गरेको हो भने उसलाई नारायणहिटीको गद्दी मात्र होइन दिल्ली दरवार र ह्वाइट हाउसकै गद्दी सुम्पनु पर्ने हो कि ? प्रतिक्रियावादी विश्वदृष्टिकोणको विपरित प्रगतिवादी द्वन्द्वात्मक भौतिकवादी विश्वदृष्टिकोणले कुनैपनि घटनालाई जीवन र जगतका निरन्तर गतिमा रहेको वस्तुगत प्रक्रियाको अभिव्यक्तिको रुपमा बुझ्दछ र त्यो ऐतिहासिक आवश्यकता र आकस्मिकताको द्वन्द्वात्मक मेलका रुपमा प्रकट हुने मान्दछ ।

       त्यसरी हेर्दा कुनै ऐतिहासिक घटनामा त्यसभित्र अन्तर्निहित पक्षको निर्णायक र प्रधान भूमिका हुने तर बाहिर देखिने पात्रहरू निमित्त पात्र मात्र हुने वा एउटा आकस्मिकताको रुपमा मात्र प्रकट हुने कुरा बुझ्न सकिन्छ । त्यसैले नारायणहिटी दरवारभित्र घटेको यो नयाँ कोतपर्व देशमा तीव्र गतिले बदलिँदो राजनीतिक र वर्गीय शक्ति सन्तुलनको अभिव्यक्तिको रुपमा हेर्नु र बुझ्नु अनिवार्य हुन्छ ।पृथ्वीनारायण शाहको नेतृत्वमा सवा दुई सय वर्ष पहिले स्थापित नेपालको केन्द्रीय राज्यसत्ता सुगौली सन्धीदेखि २००७ साल र २०४६ साल हुँदै २०५८ सालसम्म आइपुग्दा जुन प्रकारले तीव्र सङ्कटमा परेको थियो, त्यसैलाई उही पुरानै स्वरुपको वर्गीय नेतृत्व अन्तर्गत टिकाइ राख्नु सम्भव थिएन र छैन ।

      फेरि नेपालको विशिष्ट भू –राजनीतिक सन्दर्भ र विश्व तथा दक्षिण एशियामा तीव्र रुपले परिवर्तित हुँदै गइरहेको शक्ति सन्तुलनको हेरफेरको स्थितिमा नेपालको राष्ट्रिय एकता र सार्वभौमिकताको संरक्षण पुरानो रुपमा भइरहनु अत्यन्त कठिन बन्दै गइरहेको थियो र छ ।यहाँनेर विशेष रुपले स्मरणयोग्य के छ भने सुगौली –सन्धी पश्चात नेपालको केन्द्रीय राज्यसत्तामा पहिले ब्रिटिश भारतीय उपनिवेशवाद र पछि भारतीय विस्तारवादी शक्तिको झण्डै निर्णायक प्रकृतिको पकड रहने गरेको छ ।

     त्यसैले देशभक्त भिमसेन थापाको हत्या र त्यसपछिको कोतपर्वमा ‘अंग्रेजको कुकुर’ (शब्द साभारः कार्लमाक्र्स) जङ्ग बहादुर राणाको उदयदेखि पछि प्रायः सबै सत्ता परिवर्तनहरूमा साम्राज्यवादी र विस्तारवादीहरूको प्रत्यक्ष हात रहने गरेको कुराको साक्षी नेपाली इतिहास छ ।नारायणहिटीमा घटेको यो पछिल्लो ‘कोतपर्व’ पनि त्यसैको एउटा कडी मात्र भएको कुरा बुझ्न नेपाली देशभक्तहरूलाई कुनै कठिनाई हुँदैन ।

    आखिर यतिवेला नै राजा वीरेन्द्र र उनको सम्पूर्ण परिवारको हत्या किन गरियो त ? साम्राज्यवादीहरू र विस्तारवादीहरूको नजरमा उनको मूख्य अपराध के थियो त ?जुनसुकै विचारधारा अङ्गाल्ने भएपनि सबै देशभक्त र इमान्दार नेपालीहरूले के कुरा निर्धक्क स्वीकार्नु पर्छ भने सामन्ती वर्गमा पैदा भएपनि राजा वीरेन्द्रको सापेक्ष देशभक्तिको भावना र उदार राजनीतिक चरित्र नै साम्राज्यवादी र विस्तारवादीहरूको आँखामा उनको सबैभन्दा ठूलो ‘कमजोरी’ वा ‘अपराध’ थियो ।

     २०४६ को एकतर्फी भारतीय आर्थिक नाकावन्दी र त्यसपछिको जनआन्दोलनको बेला उनले विस्तारवादीहरूको सामुन्ने झुक्नु भन्दा आफ्नै जनताको सामु झुक्ने जुन प्रतिवद्धता देखाए, त्यो विस्तारवादीहरूलाई पट्टक्कै मनपरिरहेको थिएन ।पछिल्लो चरणमा खासगरी नेकपा ९माओवादी० को नेतृत्वमा युगान्तकारी जनयुद्धको थालनी भएपश्चात् त्यसको विरुद्धमा आफूप्रति परम्परागत रुपमा वफादार रहेको साही सेनालाई परिचालन गर्न उनले जुन आनाकानी गरे साम्राज्यवादी र विस्तारवादीहरूका निमित्त त्यो उनको सबैभन्दा ठूलो ‘अपराध’ ठहरियो ।कतिपय मार्क्सवादी पण्डाहरूसमेतले यसै आधारमा हामीलाई राजावादी भनेपनि अब हामी निर्धक्क साथ के भन्न सक्छौ भने कतिपय राष्ट्रिय प्रश्नहरुमा राजा वीरेन्द्र र हाम्राबीचमा समान सोंचाइहरू थिए र त्यसले कतिपय प्रसङ्गहरुमा हामीलाई अघोषित कार्यगत एकता गराइरहेको थियो ।

    यो कुराबाट विस्तारवादीहरू र तिनीहरूका दलालहरू त्रसित हुनु विल्कुल स्वाभाविक थियो ।केही समय यता अमेरिका र चीनबीच बढ्दै गएको अन्तरविरोध र अमेरिका र भारतबीच बढ्दै गएको साँठगाँठको पृष्ठभूमिमा चीन र हामी माओवादीहरूसँग ‘नरम’ देखिने राजा वीरेन्द्र अमेरिकी साम्राज्यवादीहरू र मुख्यतः भारतीय विस्तारवादीहरूको आँखाको कसिङ्गर बन्नु झन स्वाभाविक भयो ।भारतीय विस्तारवादको नीति नेपाललाई सिधैं ‘सिक्किम’ बनाउनुको सट्टा पहिले ‘भुटान’ बनाएर पछि ‘सिक्किम’ बनाउने नयाँ ग्राण्ड डिजाइनमा बदलियो । सिआईए (दिल्लीमा शाखा खोलिएको एफबिआई मार्फत्) को सहमतिमा ‘र’ ले यस सम्बन्धी रणनीतिको तर्जुमा गर्यो ।

     दन्त्य कथाको छट्टु स्यालले ‘चील आएको’ हल्ला गरेर कुखुरा चोर्ने गरेझै आईएसआईको हौवा खडा गरेर ‘र’ ले दरवारभित्र समेत आफ्नो पहुँच बनायो र ‘भुटानीकरण’ को निमित्त नयाँ ‘जिग्मे सिंघे’ मार्फत् दरावारभित्रैबाट यो ‘कोतपर्व’ को मञ्चन गरियो । पहिले नै गिरिजाको रुपमा ‘लेण्डुप दोर्जे’ पाइसकेको ‘र’ ले अब ‘जिग्मे सिंघे’ र ‘लेण्डुप दोर्जे’ को नयाँ गठबन्धन नेपालमा गराएर ‘भुटानीकरण’ हुँदै ‘सिक्किमीकरण’ गर्ने बृहत् रणनीति कार्यान्वयन गरेको कुरामा अब कसैलाई कुनै शङ्का नभए हुन्छ ।यो स्थितिमा देशभक्त नेपालीहरूको नयाँ दायित्व के हुनु पर्ला त रु हाम्रो पार्टीका अध्यक्ष क। प्रचण्डले जारी गर्नुभएको प्रेस वक्तव्यले सम्पूर्ण देशभक्त नेपालीहरूलाई नयाँ ढङ्गले सोच्न र नयाँ आधारमा नयाँ एकता कायम गरेर अघि बढ्न आह्वान गरीसकेको छ ।

      त्यसलाई गम्भीरतापूर्वक लिन जोड दिंदै हामी सबै देशभक्त, जनवादी र वामपन्थी शक्तिहरूसँग के विनम्र आग्रह गर्दछौँ भने घटनाक्रम जुन तीव्रताका साथ अघि बढिरहेको छ, त्यही तीव्रतामा हामीले हाम्रा सोच र गतिविधिलाई पनि उँचाइमा उठाउन जरुरी छ ।आजको यो ऐतिहासिक मोडमा हामीले अलिकति पनि गल्ती गर्‍यौं भने त्यसले देश र जनताको निमित्त भयङ्कर दुष्परिणम ल्याउन सक्छ भने हाम्रो एउटा वुद्धिमतापूर्ण कदमले नेपाल र नेपालीलाई एक्काइसौं शताब्दीमा गर्व गर्न लायक स्थानमा पुर्‍याउनेछ ।

    त्यसैले सर्वप्रथम हामीले यो नयाँ ‘कोतपर्व’ को पछाडिको ‘ग्रायण्ड डिजाइन’ र तिनका सूत्रधारहरूलाई राम्ररी चिनेर जनसमक्ष नाङ्गेझार पार्नुपर्छ र अब अर्को ‘कोतपर्व’ लाई वैधानिकता दिन दृढतापूर्वक अस्वीकार गर्नु पर्छ ।किनकि यो सन् २००१ साल हो, १८४६ साल होइन, यसबीचमा कोशी, गण्डकी र कर्णालीमा धेरै पानी बगेको मात्र होइन थुप्रै रगत पनि बगिसकेको छ ।

       हाम्रा विभिन्न मतभिन्नताका वावजुद शाहवंशीय राजाहरू ९पृथ्वीनारायण शाहदेखि राजा वीरेन्द्रसम्मको मूख्य योगदान भनेको पहिले अंग्रेज उपनिवेशवादीहरू र पछि भारतीय विस्तारवादीहरू विरुद्ध संघर्ष गरेर नेपाली सार्वभौमिकता र स्वतन्त्रताको रक्षामा योगदान दिनु हो । तर अब यदि कुनै ‘शाह’ ले विस्तारवादीहरूको आड लिएर नयाँ ‘कोतपर्व’ मार्फत् अर्को ‘राणावंश’ को थालनी गर्ने दुःस्वप्न देख्छ भने त्यसलाई नेपाली जनताले मान्यता दिने प्रश्नै उठ्दैन ।पृथ्वीनारायण शाहदेखि वीरेन्द्रसम्मका राजाहरूले गरेको देशभक्तिपूर्ण कामको नेपाली जनताले युग –युगसम्म उच्च मुल्याङ्कन गर्ने छन् ।

       तर ‘कोतपर्व’ बाट आएको ‘जिग्मे सिंघे’ लाई कुनै पनि हालतमा स्वीकार्ने छैनन् ।यसै सन्र्दभमा ‘देश र नरेश’ को सेवामा समर्पित शाही सेनाका अफिसर र जवानहरूले अब ‘नरेश’ को रक्षा गर्न नसके पनि ‘देश’ को रक्षामा नयाँ ढङ्गले लाग्नु पर्छ र उनीहरूले दरवारभित्र जन्मेको विस्तारवादको कठपुतलीलाई होइन झोपडीमा जन्मेका नेपाल आमाका देशभक्त सपुतहरूलाई साथ दिनुपर्छ भन्ने हाम्रो हार्दिक आग्रह छ । देश गम्भीर स्थितिमा छ, त्यसैले देशभक्तहरूको एकता यतिबेला सर्वाधिक महत्वपूर्ण छ । (भट्टराईले दरवार हत्याकाण्डबारे कान्तिपुर दैनिकमा लेखेको चर्चित लेख )। साभारः बावुराम भट्टराई डटकम

Comments

Top