सांसद बस्नेतद्वारा भक्तपुरमा राष्ट्रिय परिचय पत्र विवरण कार्यको शुभारम्भ

Mahesh-Basnet-1-1

भक्तपुर । जिल्ला प्रशासन कार्यालय भक्तपुरले राष्ट्रिय परिचय पत्र विवरणको दर्ता कार्य शुरु गरेको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरमा आइतवार आयोजना गरिएको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य, पूर्वमन्त्री एवं संघीय सांसद महेश बस्नेतले परिचय पत्र वितरण दर्ता कार्यको शुभारम्भ गर्नु भएको हो ।

जिप्रकाले आयोजना गरेको शुभारम्भ कार्यक्रममा सांसद बस्नेतको विवरण भरेर राष्ट्रिय परिचय पत्र विवरण दर्ताको शुभारम्भ गरिएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिनुभयो ।

सरकारले जिल्ला प्रशासन कार्यालय भक्तपुर लगायत ७७ जिल्लाबाट राष्ट्रिय परिचय पत्रको विवरण दर्ता गर्ने कार्य शुरु गरेर यस आर्थिक वर्षमा करिब १ करोड जनसंख्याको विवरण दर्ता गर्ने लक्ष्य लिएको सांसद बस्नेतले बताउनुभयो । सरकारले ३ वर्ष भित्र सम्पूर्ण नेपालीलाई राष्ट्रिय परिचय पत्र वितरण गर्ने लक्ष्य राखेको उहाँले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरमा दुईवटा बुथबाट विवरण दर्ता सुरु भएको छ । एकवटा बुथबाट साउन ४ गतेबाट शुरु भएको र अर्को बुथ आईतवारबाट सुरु भएको हो । दुईवटा बुथमा दुई वटा कम्प्युटर लगायतका आवश्यक उपकरणहरु राखिएको प्रजिअ पाण्डेले जानकारी दिनुभयो । नागरिकता प्रमाणपत्र लिन आउनेहरुले आवश्यक विवरण भरेर राष्ट्रिय परिचय पत्रका लागि निवेदन दिन सक्नेछन् ।

पञ्जिकरण विभागको सहकार्यमा जिल्लाका चार वटै नगरपालिका र वडा कार्यालयहरु मार्फत सेवा सञ्चालन गरिने भएको छ । यसका लागि स्थानीय तहका वडाध्यक्ष, वडा सचिव र कर्मचारीलाई यसवारेमा अभिमुखीकरण दिएको जानकारी दिदै उहाँले नगरपालिकाले छनौट गरेको व्यक्तिलाई रुजु अधिकारी तोकेर प्रत्येक वडा कार्यालय मार्फत विवरण संकलन सुरु गरिने जानकारी दिनुभयो ।

तत्काल भक्तपुर नगरपालिका र सूर्यविनायक नगरपालिकामा राष्ट्रिय परिचय पत्रका लागि विवरण संकलन सुरु गरेपनि अर्को सातादेखि मध्यपुरथिमि र चाँगुनारायण नगरपालिकामा सञ्चालन हुने भएको छ । प्रजिअ पाण्डेका अनुसार कम्प्युटर लगायतका प्रबिधि जडानका लागि एकसाता समय लाग्ने भएकाले त्यसपछि कोभिड–१९ को जोखिमबाट बच्न स्वास्थ्य मापदण्ड पुरा गरेर विवरण संकलन हुने गरिनेछ ।

  

 

Comments

Top