भक्तपुरमा एकै परिवारका चारसहित आठ जनालाई कोरोना

Corona_Test

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका ४ दधिकोटको एकै परिवारका चारसहित आठजनामा कोरोना भाइरस संक्रमण भएको छ।स्वास्थ्य मन्त्रालयले मंगलबार सार्वजनिक गरेअनुसार दधिकोटको एउटै परिवारको आमा, दुई छोरी र एक छोरा गरी चारैजनामा कोरोना भाइरस संक्रमण भएको हो।

स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारका अनुसार काठमाडौंको सिनामंगलस्थित क्वारेन्टाइनमा बसेर दधिकोटस्थित घरमा फर्किएका उनीहरुलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। जसअनुसार ४४ वर्षीया आमा, २० र १५ वर्षीया दुई छोरी तथा तीन वर्षीय छोरामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रमुख मिजारले उनीहरु क्वारेन्टाइनमा बस्दा संक्रमितको सम्पर्क आएको हुनसक्ने अनुमान गरे।

त्यस्तै चाँगुनारायण नपा ७ वागेश्वरीका श्रीमान श्रीमती पनि संक्रमित भएका छन्। यात्रा विवरण नभएका ५४ वर्षीय श्रीमान र ५३ वर्षीया श्रीमतीमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय प्रमुख मिजार बताउँछन्। ‘उहाँहरु (श्रीमानश्रीमती) को यात्रा विवरण छैन’, उनले भने, ‘त्यसैले संक्रमण कहाँबाट कसरी भएको हो अहिल्यै बताउन मुस्किल छ।’

उनका अनुसार मध्यपुर थिमि नपा ४ नयाँ ठिमीकी ४८ वर्षीया गृहिणीमा पनि मंगलबार कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। उनको पनि यात्रा विवरण नभएको मिजारले जानकारी दिए। यसको आधारमा भक्तपुरमा समुदायस्तरमै कोरोना भाइरस संक्रमण फैलिएको हुनसक्ने उनको दावी छ। उनले अत्यावश्यक काममा बाहेक अन्य बेला घरबाट बाहिर ननिस्कन आग्रहसमेत गरेका छन्।

तराईबाट सूर्यविनायक नपा ३ बालकोटस्थित छोराको घरमा आएका ६० वर्षीय बुबामा पनि मंगलबार कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। कोरोना भाइरस संक्रमणसँग मिल्दोजुल्दो सामान्य लक्षण आएपछि आठैजनाको परीक्षण गरिएको थियो। उक्त परीक्षणको रिपोर्ट मंगलबार आउँदा पोजिटिभ आएको प्रमुख मिजारले सुनाए।‘सामान्य लक्षण आएपछि उहाँहरुले कोरोना भाइरस संक्रमण परीक्षण गराएका थिए’, उनले भने, ‘जसअनुसार मंगलबार स्वास्थ्य मन्त्रालयले पोजिटिभ पुष्टि गरेको हो।’

उनका अनुसार अहिले आठैजना आआफ्नो घरमै सेल्फ आइसोलेसनमा बसेका छन्। उनीहरुको कन्ट्याक्ट ट्रेसिङ गर्ने कार्य भइरहेको उनले बताए। मंगलबारसम्म भक्तपुरमा कोरोना संक्रमितको संख्या ९३ जना पुगेको छ। जसमध्ये ५० जना कोरोनालाई जितेको स्वास्थ्य कार्यालयले जनाएको छ। -अन्नपूर्ण पोस्ट्

Comments

Top