कोरोनाबाट एकैदिन नेपालमा पाँचौं मृत्यु, पोखरामा थप एक वृद्धको मृत्यु

Died_Corona1 (1)

पोखरा । नेपालमा पछिल्ला दिनमा कोरोना संक्रमितको मृत्यु हुने क्रम बढेको छ । यसैक्रममा सोमबार दिउँसो स्वास्थ्य मन्त्रालयले गरेको कोरोना अपडेटपछि पाँचौं व्यक्तिको मृत्यु भइसकेको छ ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा भर्ना भएका पोखरा महानगरपालिका वडा नम्बर १६ का ८७ वर्षीय वृद्धको मंगलबार बिहान १०ः४० बजे मृत्यु भएको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल स्रोतले जनाएको छ ।

पोखराका ८७ वर्षीय वृद्धलाई उच्च ज्वरो र श्वासप्रश्वासको समस्या भएपछि साउन ३२ गते अस्पताल लगिएको थियो । त्यसपछि समस्या बढ्दै गएपछि उनलाई भदौ १ गते आईसीयूमा भर्ना गरिएको थियो ।

पछिल्लो १२ घन्टामा नेपालमा अन्य चार जनाको मृत्यु भएको जनाइए पनि स्वास्थ्य मन्त्रालयले आधिकारिक पुष्टी भने गरिसकेको छैन ।

यसअघि पोखरामै तनहुँकी ५० वर्षीया संक्रमित महिलाको पनि गएराति मृत्यु भएको थियो । त्यस्तै ललितपुरको पाटन अस्पतालमा नवलपरासीका एक ३८ वर्षीय पुरुष, धुलिखेल अस्पतालमा ९८ वर्षीय एक वृद्धको पनि मृत्यु भएको थियो ।

त्यस्तै नेपालगञ्जमा ६२ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय १२ पुगेको जनाइएको छ ।

Comments

Top