विश्वभरका नेपालीको आत्मा रोएको त्यो दिन...

Bhadau_16

आज भदौ १६ । सम्झनामा १६ वर्ष अगाडिको भदौ १६ । भदौ १६ भन्ने बित्तिकै संसारभरका नेपालीहरुको कहाली लाग्दो दिन । दुई छाक टार्नका लागि विदेशी भूमिमा श्रम बेच्न बाध्य नेपालीहरुका लागि अझै कहाली लाग्दो दिन । रोजगारीका लागि इराक पुगेका १२ नेपालीहरुको हत्या भएको दिन आज १६ वर्ष नै पुगेको छ ।

राकका सुन्नी अतिवादी संगठन इस्लाम अल सुन्ना समूहले १२ जना नेपालीको हत्या गरेको भदौ १५ गते नै भिडियो सार्वजनिक भएको थियो । आज भन्दा ठीक १६ वर्षअघि आजकै दिन नेपालका १२ युवाहरुको इराकमा घाँटी रेटेर र गोली हानेर हत्या गरिएको विरोधमा उपत्यका लगायतका स्थानमा विभिन्न प्रदर्शन भएका थिए । भिडियो सार्वजनिक भएपछि १६ गते देशभर आन्दोलन, तोडफोड एवं आक्रोश पोखिएको थियो ।

राजधानीकै मुनलाइन म्यानपावरमार्फत वैदेशिक रोजगारमा गएका उनीहरुको बर्बरतापूर्वक हत्या भएको भिडियो सार्वजनिक भएको थियो । त्यसपछि वैदेशिक रोजगारमा संलग्न कार्यालयहरुमाथि आम जनताको आक्रोश पोखिएको थियो । उता १२ जना होनाहार युवाको रगतको खोलो बगीरहेको बेला राजधानी लगायत देशभरिका म्यानपावर कार्यालयहरुमा आगो बलेको थियो । सयौं घरहरु आगलागी भएका थिए, हजारौं राहदानीहरु खरानी भएका थिए । १२ जनाको अन्तिम साससँगै हजारौं नेपालीहरुको सपना पनि तत्कालका लागि खरानी बनेको थियो ।

सोही दिन तत्कालिन समयमा प्रकाशित हुँदै आएको स्पेशटाइम दैनिक र कान्तिपुर दैनिकको कार्यालयमा पनि तोडफोड गरिएको थियो । उपत्यका भरि आक्रोशित मानिसहरु अनियन्त्रित बनेका थिए । म्यानपावर कार्यालयहरु ध्वस्त पार्ने क्रममा स्पेशटाइम दैनिक, कान्तिपुर दैनिक केका लागि टार्गेट बन्यो त्यो अहिलेसम्म पनि नखुलेको प्रश्न रह्यो । पछि गएर स्पेशटाइम दैनिक बन्द हुनुमा बाहिरी कारण त्यही नै देखिएको थियो ।

कतिपय प्रर्दशनकारीहरुले म्यानपावर कम्पनीमा भेटिएका नेपालीका राहदानीहरु ती पत्रिकाका कार्यालयमा बुझाउन गएका थिए, त्यही मध्ये कसैले स्पेसटाइम पनि मुस्लिमकै भएका कारण जलेको यदाकदा सुनिएको थियो । तर, कान्तिपुरमा केका लागि तोडफोड भयो त्यो अनुत्तरित नै छ ।

सबै नेपालीमा आक्रोश थियो, पीडा थियो अनि थियो बदलाको भावना । फलस्वरुप ती १२ जनाको हत्याको विरोध गरिएको थियो । विशेष गरी मुस्लिम समुदायहरु भीडको ‘टार्गेट’मा परेका थिए, कारण मुस्लिम देश इराकमा भएको त्रासदीपूर्ण घटना । राजधानीको केन्द्र घन्टाघरमा रहेको मस्जिद जलाइएको थियो ।

उपत्यकाका सबै म्यानपावर कार्यालयहरुमा आगजनी भएको थियो । केही दूताबासहरुमा आक्रमण गर्ने खोज्ने प्रदर्शनकारीहरुको ज्यान गएको थियो  । यही दिनलाई वैदेशिक रोजगार व्यवसायीहरुले इतिहासमा कालो दिनका रुपमा सम्झँदै अहिलेसम्म व्यवसायमा संलग्नहरुले कालो दिन मान्दै कार्यालयहरु बन्द गर्दै आइरहेका छन् ।

सोही घटनालाई मध्यनजर गर्दै सरकारले इराकमा कामदार पठाउन बन्देज लगाउने निर्णय गरे पनि अवैधानिक तरिकाले जाने क्रम रोकिन सकेन । नेपाली युवाहरुको विवशता अनि समस्यालाई त्यस क्रुर घटनाले पनि सचेत गराउने भन्दा पनि आर्थिक समस्या ठूलो बन्यो, फलस्वरुप अझै पनि अवैधानिक रुपमा इराक जाने क्रम भने रोकिएको छैन ।

Comments

Top