कांग्रेस महामन्त्री डा. कोइरालालाई कोरोनापछि निमोनिया, आइसियुमा उपचार हुँदै

om

 

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाको चावहिलस्थित ओम अस्पतालमा उपचार भइरहेको छ ।

कोेभिड­१९ को सङ्क्रमण देखिएपछि घरमै होमआइसोलेसनमा रहेका कोइरालालाई मङ्गलबार साँझ ज्वरो आएपछि अस्पतालमा भर्ना गरेर उपचार भइरहेको अस्पतालका प्रबन्ध सञ्चालक बाबुकाजी कार्कीले जानकारी दिए ।

कार्कीका अनुसार महामन्त्री डा कोइरालाको अहिले सघन उपचार कक्ष (आइसियु)मा राखेर उपचार भइरहेको छ । “अस्पताल आएदेखि नै हामीले आइसियुमा राखेर उपचार गरिरहेका छौँ”, उनले भने, “अहिले उहाँको ज्वरो घटेर स्वास्थ्यमा सुधार भइरहेको छ ।” उनका अनुसार महामन्त्री डा कोइरालालाई निमोनिया भएको छ ।

महामन्त्री कोइरालाको उपचारमा अस्पतालमा निर्देशक डा विश्वनाथ कोइरालाको नेतृत्वमा डा सुवोधसागर ढकाल र डा प्रमेशसुन्दर श्रेष्ठलगायतको टिम रहेको छ । उनको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालका प्रबन्ध निर्देशक कार्कीले जानकारी दिए । केही दिनअघि महामन्त्री डा कोइरालालाई कोरोना सङ्क्रमण देखिएको थियो ।

Comments

Top