६ महिनापछि आजदेखि सञ्चालनमा आउँदै लामोदूरीका सवारी

lognroot

काठमाडौं । सरकारले चैत ११ देखि जारी गरेको लकडाउनका कारण बन्द रहेका लामो दूरीका सार्वजनिक यातायात आज अर्थात् बिहीबारदेखि सञ्चालनमा आउने भएका छन् । असोज १ अर्थात् विश्वकर्माको पूजाको दिन । आजैबाट व्यवसायीहरु लामोदूरीको यातायात सञ्चालनगर्ने तयारी गर्दैछन् ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले असोज १ गतेदेखि लामो दूरीका सार्वजनिक यातायात सञ्चालन दिने निर्णय गरेको थियो। हाल कायम रहेको भाडामा ५० प्रतिशत बढी भाडा लिएर सिट क्षमताको आधा मात्रै यात्रु बोक्ने गरी सार्वजनिक यातायात चल्न दिने निर्णयमा उल्लेख छ। एक लाइनको सिटमा एक जना मात्रै यात्रु राखेर यातायात सेवा सञ्चालन गर्नुपर्ने सरकारको सर्त छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बुधबार मन्त्री, यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच बिहीबारदेखि लामो दूरीका सवारी सञ्चालन गर्ने सहमति भएको थियो।

त्यसको मापदण्ड बनाउन यातायात व्यवस्था विभागलाई जिम्मा दिइएको थियो । त्यही मापदण्डभित्र रहेर व्यवसायीले लामो दूरीका सार्वजनिक सवारी सञ्चालन गर्नका लागि दुवैपक्षबीच सहमति भएको छ ।

लामोदूरीको यातायात सञ्चालन हुने यस निर्णयसँगै उपत्यकाका सबै नाकाहरु निर्वाध रुपमा खुला गरिएको छ ।

Comments

Top