एउटै मञ्चमा ५० देशका राष्ट्रिय गीतका साथ रामजी नेपाली

ramji

बाग्लुङ । सेप्टेम्बर २७ अर्थात् विश्व पर्यटन दिवस । आजको दिनलाई नेपालमा पनि पर्यटन दिवसका रुपमा मनाइँदैछ । मर्मस्पर्शी लोकगीतका सर्जक रामजी नेपाली पछिल्ला दिनमा नेपाल चिनाउने अभियानमा लागेका छन् । यसै क्रममा विश्वका सबै मुलुकका राष्ट्रिय गान गाउने अभियानमा लागिरहेका उनले विश्वका ५० मुलुकका राष्ट्रिय गान एउटै मञ्चबाट प्रस्तुत गर्न लागेका छन् ।

नेपाल पत्रकार महासंघ बाग्लुङ शाखाको आयोजनामा पर्यटन दिवसका अवसरमा विश्वका विभिन्न ५० देशका राष्ट्रिय गान गाउन लागेका छन् ।

नेपाललाई विश्वभर चिनाउने अभियानमा लागेका नेपाली कोरोना महामारीका कारण भारतबाट सुरु गरेको आफ्नो वैदेशिक यात्रामा रोक लगाउँदै नेपाल फर्किदैँ आफ्नो अभियान केही समयका लागि पछि सारेका थिए ।

नेपालीले पहिलोपटक एकै मञ्चबाट ५० देशका राष्ट्रगान गाउन लागेका हुन् । यसअघि गत फागुनमा गलकोट नगरपालिका–५ टेउमामा भएको अन्तर्राष्ट्रिय आधुनिक मूर्तिकला कार्यशालामा नेपालसहित ११ देशका राष्ट्रगान गाएका थिए ।

विभिन्न २५ देशका राष्ट्रगान गाउँदै सन् २०१५ देखि विश्वयात्रामा निस्किएका उनको यस वर्ष बङ्गलादेश, श्रीलङ्का, माल्दिभ्सलगायतका देश पुग्ने योजना थियो । कोरोनाले निम्त्याएको विषम स्थितिका कारण उनको विश्वयात्रा अहिले स्थगनमा छ, फेरि कहिले शुरु हुन्छ ठेगान छैन ।

बागलुङ नगरपालिका–६ भीरलाङ्खुरीमा जन्मिएर करिब २५ वर्षसम्म नेपाली सांगीगतक बजारमा रमाएका उनले सन् २०२५ भित्र १९४ देशका राष्ट्रगान गाउने र विश्वका २३२ वटै देशमा पुग्ने लक्ष्य रहेको छ ।

Comments

Top