नेपाली खेलकुदकर्मीमा फैलियो कोरोना संक्रमण

Corona_Sports

 

काठमाडौं । नेपालमा पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको अवस्थामा खेलकुदकर्मी पनि प्रभावित भएका छन् । यसैबीच नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्द र सचिव अशोक नाथ प्याकुरेललाई कोरोना संक्रमण देखिएको छ ।

पछिल्लो हप्ता भरतपुरको चितवनमा सम्पन्न क्यानको बोर्ड बैठकमा सहभागी बनेका चन्द र प्याकुरेललाई कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि भएपछि दुवै जना आईसोलेसनमा बसिरहेको जनाइएको छ । कोरोना महामारीबीच क्यानले असोज ६ गते भरतपुरमा बोर्ड बैठक आयोजना गरेको थियो । बैठकले खेलाडीको केन्द्रिय सम्झौता देखि प्रतियोगिताका तालिका सार्वजनीक गरेको थियो ।

अध्यक्ष र सचिवलाई कोरोना संक्रमण देखिएपछि चितवन बैठकमा सहभागी अधिकांश सदस्य एकान्तवासमा बसेका छन् भने अधिकांशले कोरोना परिक्षण गराएका छन् । धेरै जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।

परिक्षणको क्रममा क्यान उपाध्यक्ष राजुबाबु श्रेष्ठ सहित कोषाध्यक्ष रोशनकुमार सिंहको भने रिपोर्ट नेगेटिभ आएको छ । क्यानले आन्तरिक रुपमा बैठक सहभागी सबैलाई कोरोना परिक्षणका लागि अनुरोध समेत गरेको छ ।

त्यस्तै अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाको स्वकीय सचिव अनन्त प्रसाद घिमिरेलाई कोरोना भाईरसको संक्रमण भएको छ ।

अध्यक्ष शेर्पाको स्वकीय सचिव अनन्तलाई बुधबार कोरोना संक्रमण पुष्टि भएको हो । परिवारका सदस्यलाई कोरोना देखिएपछि परिक्षण गराउदा अनन्तलाई समेत कोरोना पोजेटिभ देखिएको हो ।

कोरोना देखिएपनि आफु पूर्ण रुपमा स्वास्थ्य रहेको र अहिले होम आईसोलेसनमा बसेको जनाइएको छ । ‘अहिले मेरो अवस्था ठिक छ । संक्रमण भएसँगै होम आईसोलेसनमा बसेको छु,’ उनले भने ।

६२ वर्षीय बुबा र बहिनीलाई कोरोना संक्रमण भएपछि उनले पीसीआर परिक्षण गरेका थिए । उनले घर बाहिर ननिस्किएको बताए ।

यसअघि राष्ट्रिय टिमको प्रशिक्षणमा सामेल हुँदै गरेका एरिक बिष्ट, एपीएफ क्लबका फुटबल खेलाडी र ब्रिगेड ब्वाईज क्लबका विदेशी खेलाडीलाई यस अघि संक्रमण पुष्टि भएको थियो । बुधबार मात्रै थ्रीस्टार क्लबको एक युवा खेलाडीलाई कोरोना संक्रमण पुस्टि भएको छ ।

त्यस्तै पौडीबाज नयना शाक्य दम्पतीलाई कोरोना संक्रमण देखिएको थियो । उनीहरु दुवैजना कोरोना मुक्त भइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित