आइपीएलमा सन्दीपको दिल्ली शीर्षस्थानमा, आरसिबीविरुद्ध ५९ रनको जित

Dehli

युएई । युएईमा जारी १३ औं संस्करणको आइपीएलमा नेपाली क्रिकेटर सन्दीप लामिछाने आबद्द दिल्ली क्यापिटल्स शीर्ष स्थानमा उक्लिएको छ ।

सोमबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ५९ रनले पराजित गर्दै दिल्ली शीर्ष स्थानमा उक्लिएको हो ।

दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा दिल्लीले दिएको १ सय ९७ रनको लक्ष्य पछ्याएको बैंगलोरले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३७ रनमा सीमित भयो ।

बैंगलोरका लागि कप्तान विराट कोहलीले सर्वाधिक ४३ रन बनाए । वासिङ्गटन सुन्दरले १७ तथा आरोन फिन्चले १३ रन जोडे ।

नाभदिप सैनी अविजित १२ रन बनाउँदा मोइन अली र शिवम डुबेले समान ११/११ रन बनाए । दिल्लीका कागिसो राबडाले ४ विकेट लिए । एन्रीच नोर्ट्जे र अक्षर पटेलले २/२ विकेट  लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९६ रन बनाएको थियो ।

दिल्लीका लागि मार्कुस स्टोनिसले अविजित रहँदै ५३ रनको अर्धशतकीय इनिङ्स खेले । पृथ्वी शले ४२ रन जोड्दा ऋषव पन्तले ३७ रन बनाए । शिखर धवनले ३२ रन बनाउदा कप्तान श्रेयस आयर ११ रनमा आउट भए ।

जितसँगै शीर्ष स्थानमा उक्लिएको दिल्लीले चौंथो जित निकालेको छ । दिल्लीले ५ खेलमा ८ अंक जोडेको छ । तेस्रो स्थानको बैंगलोरको यो दोस्रो हार हो । बैंगलोरले ५ खेलमा ६ अंक जोडेको छ । पाँच खेल हुँदा पनि सन्दीपलाई भने दिल्लीले खेलाएको छैन ।

 

Comments

Top