थ्रीलर सिनेमाका सफल क्याप्टेन

Dipak

यदि तपाईं थ्रीलर सिनेमा रुचाउनु हुन्छ,तर निर्देशक श्रीराम राघवन्लाई चिन्नु हुन्न भने भन्नै पर्छ ‘कुछ तो मिसिङ हे’ । अब्बल थ्रीलर मानिने एक हसिना थि, जनि गद्दार, एजेन्ट बिनोद, बदलापुर र अन्धाधुन राघवन्कै चलचित्र हुन । २२ जुन १९६३ मा मुम्बईमा तमिल परिवारमा जन्मिएका उनका पिता बोटानिष्ट हुन भने आमा सिनेमामा अत्यधिक रुचि राख्ने गृहणी हुन् । प्रारम्भिक शिक्षा सेन्ट भिसेन्ट हाईस्कूलमा गरेका यिनले पुणेको फर्गुसन कलेजबाट अर्थशास्त्रमा स्नातक गरेका छन् ।

पुणेको फिल्म एण्ड टेलिभिजन ईन्स्टिच्युटबाट सिनेमा अध्ययनमा स्नातक गरेका श्रीरामकै क्लासमेट हुन् निर्देशक राजकुमार हिरानी । स्नातक पढ्दा नै बनाएको उनको फिल्म द एट कोल्म अफेयर ले १९८७ को राष्ट्रिय चलचित्र पुरस्कार पाएको थियो । र यो फिल्मको सम्पादन यिनै राजकुमार हिरानीले गरेका थिए जो आज चर्चित फिल्म निर्देशक छन् ।

सिनेमाको पढाई सकेपछि यिनले ४५ मिनेटको डकु फिक्सन रमन राघव बनाएका थिए । सिरियल किलर माथी बनेको यो सिनेमा पछि उनले केही समय टिभी सिरियल लेखक भएर काम गरे । कुनै समय पत्रकार बन्ने तिब्र अभिलाषा बोकेका राघवनले भारतको चर्चित फिल्मी पत्रीका स्टारडस्टमा रिपोर्टिङ गरेका थिए । केही समय इन्डियन स्पेस रिसर्च सेन्टरमा काम गरेका यिनीसंग निर्देशक मुकुल आनन्दसित काम गरेको पनि अनुभव छ ।

टिभी लेखकका रुपमा यिनले सि आइ डि आहत, फस्र्ट किल आदिमा काम गरे । श्रीराम राघवनले बनाएको डकु फिक्सन रमन राघव फिल्म अनुराग कश्यपलाई खुबै मन परेको थियोे । कश्यप सो समयमा रामगोपाल बर्माका असिस्टेन्ट थिए । यिनै कश्यपले एकदिन यो फिल्म बर्मालाई देखाएका थिए । रामगोपाल बर्माले रमन राघव हेरेपछि यिनको काम मन पराए र एक हसिना थि को निर्देशनको जिम्मा दिए । राम राघवनलाई भने यसको पत्यार लागेको थिएन् किनकि यसैगरि त्यस अघि नायक सनी देओलले पनि उनलाई बचन दिएका थिए । तर काम अगाडी बढेन् । यहाँ त झन् मुडि नम्बर १ को पहिचान बनाएका रामगोपाल बर्मा परे । तर यहां भने बर्माले बाचा निभाए ।

एक हसिना थि पछी यिनले जनि गद्दार बनाए नील नीतिन मुकेशलाई डेब्यु गराइएको यो फिल्म औधी रुचाइयो । तेस्रो फिल्म एजेन्ट बिनोदको असफलता बाट भने यिनी केही बिरक्तिएका थिए । यो फिल्मलाई उनले जेम्स बण्ड शैलीमा ब्राण्डिङ गर्ने सोच राखेका थिए र यसलाई देसी फिल्मका रुपमा पनि तिव्र प्रचार पनि गरे तर फिल्मको बक्स अफिस असफलताले सब प्लान चकनाचुर भयो । यसपछि यिनी केही समय गुमनाम जस्तै बसे ।

तर फेरि शुरु हुनुपर्छ भन्ने सोचलाई मजबुत गर्दे बदलापुर बनाए । वरुण धवनको स्थापित चकलेटी पहिचान भन्दा विपरीतमा रहेको यो रोललाई वरुणले बखुबी निभाए । समिक्षकले हिंसाको डरलाग्दो प्रयोग भनेर आलोचना गरेको भएपनि फिल्मले बक्स अफिसमा राम्रो कमाई गरेको थियो । बदलापुर फिल्मलाई आफ्नो हालसम्मकै सबैभन्दा चुनौतीपूर्ण फिल्म मान्ने श्रीराम राघवन्को पछिल्लो सिनेमा अन्धाधुन हो ।

आयुषमान खुराना, तब्बु, राधिका आप्टे जस्ता अब्बल कलाकारले अभिनय गरेको यो फिल्म बल्कबस्टर हिट भयो । समिक्षात्मक र बक्स अफिस दुबैतिर वाहवाही बटुलेको यो फिल्मले राष्ट्रिय चलचित्र पुरस्कार र फिल्मफियर अवार्ड पनि पाएको छ । धेरैलाई थाहा नहुन सक्छ अन्धाधुनको रोलका लागि नायक आयुषमान खुरानाले अडिसन दिएका थिए । शुरुमा उनलाई रोल दिने कुरामा राघवन हच्किएका थिए तर आफुले विगतमा वरुण धवनलाई पनि त नयां रुपमा परिक्षण गरेको बलमा तयार भएका थिए । त्यसमाथि आयुषमानको लगाव देखेपछि यिनले फाइनल ओके गरेका थिए ।

थ्रीलर सिनेमा बनाउनु एकदमै चुनौतीको काम हो । यसमा एक रौं बराबरको गल्ती पनि हानीकारक हुन्छ । एउटै थ्रीलर बनाउन औसत निर्देशकलाई हम्मेहम्मे हुन्छ । उनीले कसरी बारबार थ्रीलर नै बनाइराखेका छन् ? उनको प्रष्ट जवाफ छ ‘रुची र डेडिकेशन भयो भने सकिन्छ ।’ राम्रो थ्रीलरका लागि पहिलो आवश्यकता हो चुस्त र मजबुत स्कृपिट । त्यसपछि अरु कुरा पनि जरुरी हुन्छ ।

यिनको सिनेमा शैलीलाई फिल्म समिक्षक सिद्दार्थ भाटियाले राघवन नोयरको उपमा दिएका छन । यिनका फिल्ममा रुचि राख्ने दर्शकलाई थाहा हुनुपर्छ, राघवन्का फिल्ममा हुने हिंसा,हास्यरस सबै ग्रे कलरकै हुन्छन् । सामान्य पात्रको गुप्त अपराधीक पाटोको तिब्र पटाक्षेप गर्नमा माहिर मानिने यी निर्देशकलाई फार्गो नामक हलिउड चलचित्र निकै मनपर्छ । निर्देशक जिन पियरी मेलभिलका फिल्मका यिनी डाइहर्ट फ्यान हुन । क्राइम थ्रीलर लेखक कर्नेल वुलरिच यिनका प्रिय लेखक हुन् ।

अत्यास लाग्ने झरी, कालो छायाँ, पात्रको बिक्ष्प्ति मानसिकता आदि यिनका फिल्ममा धेरै प्रयोग गरिन्छ । थ्रीलरमा आफ्नो छुटै पहिचान बनाएका यी निर्देशकले ह्याप्पी बर्थ डे र मिस चन्डी जस्ता सहज फिल्म पनि निर्देशन गरेका छन् । हाल भारतीय सेनाका पूर्व सेकेन्ड लेफटेन्ट अरुण खेतरपालको जीवनीमा आधारित फिल्मको तयारीमा रहेका राघवन्ले यो फिल्ममा पुन वरुण धवनसँग काम गर्दैछन् । कोरोना कहर कम भएपछि यसको काममा तिव्रता दिने उनले हालैको एक अन्तर्वातामा बताएका छन् ।

Comments

Top