मल्लकालीन कोटभैरवमा सामान्य पूजा

Kot Bhairav Mandir Final _Bst7gZYSZ8.
पोखरा–   पोखरा महानगरपालिका–३३ को भरतपोखरीमा अवस्थित मल्लकालीन कोटभैरव मन्दिरमा कोरोना महामारीलाई लक्षित गरी सामान्य पूजा मात्र सञ्चालन गरिएको छ । कोरोना भाइरसको महामारी फैलिन सक्ने अवस्थालाई दृष्टिगत गर्दै जिल्ला प्रशासन कार्यालय कास्कीले जिल्लाका शक्ति पीठ एवं मठमन्दिरमा नवदुर्गाका अवसरमा नित्यपूजाबाहेक दर्शनका लागि मन्दिर तथा शक्तिपीठ सञ्चालमा रोक लगाइसकेको छ ।

परम्पराको निरन्तरताका लागि कोटभैरव मन्दिरमा नित्य पूजा गरिए पनि प्रशासनको निर्णयलाई आत्मसात् गर्दै बाह्य दर्शनार्थीका लागि भने पूजाआजामा रोक लगाइएको कोटभैरव मन्दिर संरक्षण तथा सम्बद्र्धन समितिका अध्यक्ष चेतबहादुर महतले जानकारी दिए । पर्यटकीयस्थल पोखराको दक्षिण भेगमा रहेको यो मन्दिर भूकम्पले क्षतिग्रस्त बनाएपछि प्यागोडाशैलीमा नयाँ स्वरुपमा बनाइएको छ । मल्लकालीन समयदेखि अस्तित्वमा आएको मन्दिरको ऐतिहासिक एवं यहाँको सांस्कृतिक महत्वसमेतलाई उजागर गर्ने गरी प्राचीन कलायुक्त मन्दिर निर्माण गर्न लागिएको र निमार्णकार्य जारी रहेको समितिले जनाएको छ । पुनःनिर्माणका क्रममा जग खन्दा ठूलाठूला ढुङ्गाका बीचमा इँटा राखेर त्यहाँ कालो माटोले टालेको अवस्थामा फेला परेको थियो ।

तत्कालीन समयदेखि नै मन्दिरको नियमित पूजाआजाका लागि गुठी जग्गा व्यवस्था गरिए पनि पछिल्ला समयमा बढ्दै गएको कृषिप्रतिको अनिच्छाका कारण ती जग्गा बाँझै छन् । मन्दिरमा विभिन्न जातजातिका लागि गुठी जग्गा छुट्याइएको थियो । गुठी जग्गामा खेती नगरिएका कारण समितिका लागि नियमित पूजाआजा खर्चिलो बन्दै गएको छ ।

देशका ठूलाठूला शक्तिपीठमा जस्तै कोटभैरव मन्दिरमा मगर पुजारीका साथै ब्राह्मण पूजारीले पूजा गर्ने प्रचलन छ । नवदुर्गाका अवसरमा मगर पुजारीले मन्दिरको सरसफाइलगायत अन्य पूजाआजा गर्ने र ब्राह्मण पुजारीले सप्तशती पाठ गर्ने प्रचलन रहेको समितिका उपाध्यक्ष गुरुप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार कोटभैरवमा साउने संक्रान्तिमा सामूहिक रुपमा लुतो फालिन्छ भने आश्विन शुक्ल पक्ष ९बडादशैं० र चैत्र शुक्ल पक्ष ९चैते दशैं० मा विशेष पूजा गरिन्छ । देशका अन्य शक्तिपीठमा जस्तै बडादशैंमा विधिवत् घटस्थापना गरी फूलपाती भित्र्याउने, महाअष्टमी कालरात्रि, महानवमीको विशेष पूजा गरी विजया दशमीका दिन सामूहिक टीका, प्रसाद लगाउने प्रचलन छ । कोटभैरव मन्दिरको नाममा झण्डै १०० भन्दा बढी रोपनी गुठी जग्गा रहेको र त्यसको यकिन तथ्याङ्क निकाल्ने प्रयास पनि भइरहेको समितिका सचिव कमलप्रसाद पौडेलले जानकारी दिए । कोटभैरव मन्दिर धार्मिक तीर्थस्थलका साथै पर्यटकीयस्थल पनि रहेको र यसलाई धार्मिक पर्यटनको आकर्षक गन्तव्यका रुपमा विकास गर्ने समितिको पहल रहेको सचिव पौडेलको भनाइ छ ।

वरपर भिरालो र बीचमा उच्च भूभागमा अवस्थित रमणीय मन्दिर परिसरबाट माछापुच्छ«्रे हिमालका साथै कास्की, तनहुँ, लमजुङ, मनाङ, गोरखा, चितवन, नवलपरासी, पाल्पा, पर्वत, बागलुङ, म्याग्दी, स्याङ्जालगायत जिल्ला एकैसाथ अवलोकन गर्न सकिन्छ । यहाँ नजिकै रहेको हुडिकोटबाट त पोखराको फेवातालसहित सात तालको शहर उपमा पाएको लेखनाथलाई सजिलै हेर्न सकिन्छ ।

दर्शन गरेमा चिताएको पुग्ने जनविश्वाससमेतले पोखरासहित आसपासका जिल्लाबाट कोटभैरव पुगेका दर्शनार्थीले यहाँबाट देखिने मनोरम दृश्यको अनुपम स्वादमा रमाउने गर्दछन् । समुद्री सतहबाट एक हजार १६५ मिटरको उचाइमा रहेको मन्दिर नेपालका बाइसे चौबीसे राजाको पालादेखिनै यस क्षेत्रको महत्वपूर्ण शक्तिपीठका रुपमा रहेको सचिव पौडेलले बताउनुभयो ।

‘हामी यकिन इतिहासको खोजीमा छौँ, हालसम्मका अभिलेख तथा प्रमाण खोज्ने क्रममा मन्दिरमा विसंं १९३२ मा स्थापना गरिएको घण्टी फेला परेको छ’, उनले भने, ‘मन्दिरको ऐतिहासिक, धार्मिक एवं पुरातात्विक महत्वलाई समेत उजागर गर्ने समितिको लक्ष्य छ ।’ पोखराबाट लगभग १७ किलोमिटर टाढा पर्ने यस मन्दिर जाने मुख्य चोक मनियलडाँडासम्म कालोपत्रे सडकका कारण दर्शनार्थीलाई सहज भएको उनले बताए । चौबीसै घण्टा शीतल हावा लागिरहने यहाँ बर्खा होस् वा हिउँद जुनसुकै समयमा वरपरका क्षेत्रमा हुस्सु, कुइरो लाग्दासमेत सधैं खुल्नु यहाँको विशेषता हो । विगतका वर्षमा नवदुर्गाका अवसरमा टाढाटाढाबाट ठूलो सङ्ख्यामा दर्शनार्थी आउने गरे पनि कोरोना भाइरसको महामारी र प्रशासनसमेतको आग्रहअनुरुप टाढाटाढाबाट आउने दर्शनार्थीलाई यस वर्ष भने दर्शनमा रोक लगाइएको सचिव पौडेलले जानकारी दिए ।

Comments

Top