प्रहरीद्वारा अवैध लागूऔषध बरामद, ६ पक्राउ

aausadi

काठमाडौं । प्रहरीले अवैध लागूऔषध सहित काठमाडौं, मोरङ र कञ्चनपुरमा गरी ६ जनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौंको नागढुङ्गाबाट नियन्त्रित लागूऔषध नाइट्रोजेपाम १ हजार २ सय ट्याब्लेट, डाइजेपाम १ सय ३५ एम्पुल, फेनरागन १ सय ३४ एम्पुल, नुर्फिन १ सय एम्पुल र ब्राण्ड तथा जेनरिक नाम उल्लेख नभएको १ सय ३० एम्पुल सहित ३ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सप्तरी जयपुर गाउँपालिका—२ घर भएका ३५ वर्षीय वीरेन्द्र कुमार साह, सिरहा लहान नगरपालिका—१३ घर भई हाल काठमाडौं बस्ने २४ वर्षीय अमर यादब र सोही नगरपालिका–२३ घर भएका २४ वर्षीय ईन्द्रजित सहनी रहेका छन् । राजबिराजबाट काठमाडौंतर्फ आउँदै गरेको ना.८ ख ६४९७ नम्बरको बसमा महानगरीय प्रहरी बृत्त थानकोट र महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा क्यावीनमा बोराभित्र लुकाई  ल्याएको उक्त लागूऔषध फेला परेको थियो ।

प्रारम्भिक सोधपुछको क्रममा उक्त बसका सहचालक वीरेन्द्र कुमारले अमर र ईन्द्रजितलाई दिन उक्त लागूऔषध ल्याएको खुलेपश्चात काठमाडौं महानगरपालिका–१४ स्युचाटारबाट लागूऔषध लिन आएको अवस्थामा उनीहरुलाई समेत प्रहरीले पक्राउ गरेको हो ।

त्यसैगरी मोरङको विराटनगर महानगरपालिका–१३ सैनिक टोलबाट अन्दाजी ५० ग्राम अवैध लागूऔषध ब्राउन सुगर सहित सुनसरी धरान उपमहानगरपालिका(७ बस्ने ३२ वर्षीय सुबास तामाङलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

त्यस्तै कञ्चनपुरको बेलौरी नगरपालिका—१० दुखी टोलबाट ३ ग्राम ७० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो पदार्थ सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा शुक्लाफाँटा नगरपालिका—१० बस्ने २१ वर्षीय मनिष सुनार र कैलाली धनगढी उपमहानगरपालिका—२ बस्ने १८ वर्षीय किशोर रहेका छन् । प्रहरी चौकी भुडा र सशस्त्र प्रहरी बल नेपाल बिओपी भुडा कञ्चनपुरको संयुक्त टोलीले से।१ ह १४२९ नम्बरको अटो जाँच गर्ने क्रममा अटोमा सवार उनीहरुलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Comments

Top