भक्तपुर । कुनै छोराले आफ्नी आमाको हातबाट टीका लगाउन नपाए को सँग नै लगाउलान् र ? जसरी जुन अवस्थामा रहे पनि आफूलाई जन्म दिने आमा बिरामी भएपछि जति नै सुकै ठूलो चाडबाड भए पनि मनाउने कुरै भएन । यस्तै रह्यो २०७७ को दशैं भक्तपुरका सांसद एवं विकासप्रेमी युवा नेता महेश बस्नेतका लागि ।
कोरोना महामारीको बेला जनता र विकास भन्दा अन्य कुरा भुलेका बस्नेतलाई आफ्नै परिवारमा कोरोनाले यसरी आक्रमण गर्छ भन्ने पक्कै लागेको थिएन होला, तर भयो त्यस्तै । ६ महिना अघि मात्र मुटुको अपरेशन गरेकी ६६ वर्षीया आमासहित परिवारका ८ जनालाई कोरोना संक्रमण देखिएपछि सांसद बस्नेतले नियमित दशैंको दिनमा नै टीका लगाएनन्, कुरे कोरोना परिक्षणको नेगेटिभ रिपोर्ट, अनि लगाए आजको दिन उनै ‘बहादुर’ आमासँग दशैंको टीका, दुईदिन पछि नै भएपनि ।
भक्तपुर क्षेत्र नं. २ का सांसद एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य महेश बस्नेत बुधबारमात्र आफ्नो परिवारका साथ दशैंको टीका लगाएर मनाएका छन् । आमासहित सबै परिवारको रिपोर्ट नेगेटिभ देखिएपछि बस्नेत परिवारले आज टीका ग्रहण गरेका हुन् ।
सांसद बस्नेतले ओपन हर्ट सर्जरी गरिएकी आमाबाट दशैंको टीका ग्रहण गर्दै दशैं सुरुवात गरेका थिए । बस्नेतलाई आमा र बुबाले टीका लगाइदिएका थिए । त्यसपछि बस्नेतले आफ्ना सबै परिवारलाइ टीका लगाइदिएका थिए ।
बस्नेतले बुधबार बिहान मात्रै सामाजिक सञ्जालमार्फत आफ्ना सबै परिवारमा कोरोना रिपोर्ट नेगेटिभ आएको उल्लेख गरेका थिए ।
Comments