भक्तपुरका ९२.५३ प्रतिशत संक्रमित होम आइसोलेसनमा

bhaktapur

 

भक्तपुर । भक्तपुरका ९२.५३ प्रतिशत कोरोना भाइरस संक्रमित होम आइसोलेसनमा रहेका छन्।

चिकित्सकहरुले स्वास्थ्य सचेतता अपनाउन नसकिए होम आइसोलेसनमा बस्नु बढी घातक हुने बताउँदै आएका छन्। तैपनि भक्तपुरमा सक्रिय संक्रमितमध्ये ९२।५३ प्रतिशत अर्थात एक हजार ९१ जना होम आइसोलेसनमा बसेका हुन्।

स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार यहाँका ६ सय ३३ पुरुष र ४ सय ५८ महिला संक्रमित होम आइसोलेसनमा छन्। ५४ पुरुष र ३४ महिला गरी ८८ जना सक्रिय संक्रमितमात्रै अस्पताल तथा नगरपालिकाले व्यवस्थापन गरेको आइसोलेसनमा रहेको कार्यालयका प्रमुख कृष्ण मिजारले जानकारी दिए।

उनले लक्षणयुक्त संक्रमितलाई सकेसम्म होम आइसोलेसनमा नबस्न आग्रह गरिएको आएको सुनाए। तर घरमा जस्तै स्याहारसुसार नहुने आशंकाले अधिकांश संक्रमित नपाले व्यवस्थापन गरेको आइसोलेसनमा जान चाहँदैनन्। त्यस्ता आइसोलेसनमा गएकासमेत घर फर्कने गर्दै आएका छन्।

भक्तपुरमा ७ हजार ६ सय नाघे संक्रमित
भक्तपुरका कोरोना भाइरस संक्रमितको संख्या ७ हजार ६ सय १७ पुगेका छन्। शनिबार ४९ जना नयाँ थपिएसँगै भक्तपुरका संक्रमितको संख्या ७ हजार ६ सय १७ पुगेको हो।

पछिल्लो सातादेखि भक्तपुरमा कममात्रै नयाँ संक्रमित थपिएका छन्। शुक्रबार ८० जना नयाँ संक्रमित थपिएका थिए। जबकि बिहीबार ७५ जनालाई मात्रै संक्रमण पुष्टि भयो।

स्वास्थ्य कार्यालयका प्रमुख मिजारले कन्ट्याक्ट टे«सिङमा कमी आएको कारण कममात्रै नयाँ संक्रमित थपिएको स्पष्ट पारे। कोरोना परीक्षण गर्न सरकारले कहिले शुल्क लाग्ने र कहिले निःशुल्क हुने जस्ता अन्योलको कारण कन्ट्याक्ट ट्रेसिङमा कमी आएको उनको भनाइ थियो।

कोरोनाको कारण ९५ जनाको मृत्यु

कोरोना भाइरस संक्रमणको कारण भक्तपुरमा ६३ पुरुष र ३२ महिला गरी ९५ जनाको मृत्यु भइसकेको छ। शुक्रबार थप एक पुरुषको संक्रमणकै कारण मृत्यु भएपछि मर्नेको संख्या ९५ पुगेको हो।

भक्तपुरका चार नपामध्ये सबैभन्दा बढी भक्तपुर नपाका संक्रमितले ज्यान गुमाएका छन्। भक्तपुर नपाका २५ पुरुष र १५ महिला गरी ४० जना संक्रमितको मृत्यु भएको छ।
त्यस्तै मध्यपुर थिमि नपाका २३ पुरुष र १० महिला गरी ३३ जना संक्रमितको मृत्यु भएको छ।

सूर्यविनायक नपाका ११ पुरुष र ६ महिला गरी १७ तथा चाँगुनारायण नपाका ४ पुरुष र एक महिला गरी ५ जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य कार्यालयको तथ्यांक रहेको छ।

८४।२२ प्रतिशत संक्रमित डिस्चार्ज
भक्तपुरका ८४.२२ प्रतिशत संक्रमित डिस्चार्ज भएका छन्। यहाँका ३ हजार ५ सय ४७ पुरुष र २ हजार ७ सय ४७ महिला गरी ६ हजार २ सय ९४ जना संक्रमित डिस्चार्ज भएका हुन्।

स्वास्थ्य कार्यालयले कूल संक्रमितमध्ये ८४.२२ प्रतिशत अर्थात ६ हजार २ सय ७४ जना डिस्चार्ज भएको जनाएको हो।

भक्तपुरमा संक्रमण निको भएर डिस्चार्ज हुनेको संख्या बढेको छ। तैपनि राष्ट्रिय तथ्यांकभन्दा न्यून नै रहेको छ। शनिबारसम्ममा राज्यको कोरोना संक्रमण जितेर डिस्चार्ज हुनेको दर ८८.४ प्रतिशत रहेको छ। -अन्नपूर्णपाेस्ट

 

Comments

Top