सरकार-विप्लव समूहबीच पहिलो चरणको वार्ता सम्पन्न, दोस्रो वार्ता छिट्टै गरिने

barta_samiti

काठमाडौं  । सरकार र प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी नेत्रविक्रम चन्द विप्लव समूहबीच पहिलो चरणको वार्ता बुधबार बालुवाटारमा सकिएको छ।

सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई तथा विप्लव समूहका तर्फबाट पूर्वमन्त्री तथा प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र उदयबहादुर चलाउने दिपक वार्तामा बसेका थिए।

कुन कुन विषयमा सहमति गर्ने भन्ने एजेन्डा सो क्रममा राखिएका छन्। पहिलो चरणमा प्रतिबन्ध फुकुवा, जेलमा रहेका विप्लव समूहका नेता कार्यकर्तालाई छाड्नुपर्ने तथा विभिन्न मुद्दाको नोटिसमा राखिएकालाई हटाउनुपर्ने लगायतका विषय राखिएका छन्।

योसँगै सरकारका तर्फबाट भने विप्लव समूहसँग रहेका हातहतियार बुझाउनुपर्ने र शान्तिपूर्ण राजनीतिमा आउनुपर्ने शर्त छन्। यसबाहेक प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग एकीकरणसम्म गर्न सकिने प्रस्तावका विषयमा पनि साधारण छलफल भएको स्रोतले जनाएको छ।

एकीकरणका सवालमा भने राष्ट्रिय स्वाधिनतालाई बटम लाइनमा राखेर खास सहमति हुनसक्ने विषयमा पनि कुराकानी भएको थियो। दोस्रो चरणको वार्ताको मिति तय नगरिए पनि छिटै बस्ने जनाइएको छ । 

 

Comments

Top