रेखा राप्रपामा पनि नअट्ने ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट काठमाडौं महानगरपालिकाको उपमेयर पदका लागि सिफारिस भएकी रेखा थापा पराजित हुने डरले पछि हटेको चर्चा हुन थालेको छ । उनले काठमाडौंको उपमेयरमा चुनाव नलड्ने बताएकी छिन् । कुनै बेला माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग कम्मर मकाई मकाई नाचेर चर्चामा आएकी अभिनेत्री रेखालाई राप्रपाले पत्याएर काठमाडौं महानगरपालिकाको उपमेयर पदको टिकट दिने जनाएको थियो । तर, रेखा आफू पराजित हुने डरले ब्याक भएकी हुन् । उनले संसदीय चुनावमा समानुपातिक कोटामा बस्ने इच्छा जनाएको राप्रपाका नेताहरू बताउँछन् । आफू उपमेयरभन्दा पनि माथिल्लो भूमिका निर्वाह गर्न सक्ने भएको दाबी गरेकी छिन् । रेखाको यो भनाईले उनी मेयर पदको आकांक्षी रहेको संकेत दिएको छ । स्रोतका अनुसार रेखाले काठमाडौंको उपमेयरमा पार्टीका अन्य महिलाहरूलाई उठाउन उपयुक्त हुने सुझाव दिएकी थिइन् । राप्रपाको महाधिवेशन भन्दा अगाडि राप्रपामा प्रवेश गरेकी रेखा त्योभन्दाअघि माओवादी केन्द्रमा आबद्ध थिइन् । माओवादीमा रहँदा उनलाई पार्टीले पेलेपछि राजीनामा दिएकी थिइन् । तर, अब उनको राप्रपा भित्र पनि लफडा पर्न थालेपछि त्यहाँ समेत नअट्ने चर्चा हुन थालेको छ ।

प्रतिक्रिया

सम्बन्धित