फ्रान्समा तेस्रो चरणको लकडाउन घोषणा, कम्तीमा एक महिना लकडाउन हुने

France_MN

पेरिस । पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या तीब्र रुपमा बढ्न थालेपछि फ्रान्समा पुनः लकडाउन घोषणा गरिएको छ । कोरोनाभाइरसको संक्रमण फेरि तीव्र रूपमा फैलिन थालेपछि फ्रान्सका राष्ट्रपति एमान्युल म्याक्रोंले बुधबार राष्ट्रिय टेलिभिजनबाट सम्बोधन गर्दै देशैभरी लागू हुने गएक कम्तीमा एक महिनाका लागि तेस्रो लकडाउनको घोषणा गरेका हुन्।

शनिबारदेखि लागु हुने लकडाउन कम्तिमा एक महिनासम्म रहनेछ। राजधानी पेरिसलगायत कोरोनाभाइरसको संक्रमण धेरै भएका केही स्थानमा यसअघि नै विभिन्न खाले प्रतिबन्धहरू लगाइएका थिए।

म्याक्रोंले देशभरिका विद्यालय पनि तीन साताका लागि बन्द हुने बताएका छन्। फ्रान्समा अहिलेसम्म कोरोनाभाइरसको संक्रमणबाट करिब १ लाख मानिसको मृत्यु भइसकेको छ। पछिल्लो समय कोरोनाविरूद्धको खोप लगाउन थालिए पनि त्यसको गति सुस्त भएकाले नयाँ भेरियन्टसहित फ्रान्समा कोरोनाको तेस्रो लहर चलिरहेको छ।

अहिले फ्रान्समा दैनिक औसतमा ४० हजार कोरोना संक्रमित थपिने गरेका छन्। बिरामीहरू धेरै भएर देशको स्वास्थ्य प्रणालीले नै काम गर्न नसक्ने अवस्था नआओस् भनेर म्याक्रोंले अर्थतन्त्रलाई दाउमा राखेर फेरि लकडाउन घोषणा गरेको बताइएको छ।

पछिल्लो २४ घन्टामा मात्र फ्रान्समा ४१ हजार ९ सय ७ जना नयाँ संक्रमित थपिएका छन् भने ३ सय ३ जनाको मृत्यु भएको छ । हालसम्म फ्रान्समा ४६ लाख ४४ हजार ४ सय २३ जनामा संक्रमण देखिएकोमा २ लाख ९४ हजार ६ सय ३८ जना मात्र कोरोनामुक्त भएका छन् । फ्रान्समा पछिल्लो अवस्थामा सक्रिय संक्रमित संख्या अमेरिका पछि दोस्रो स्थानमा रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित