साना उमेरका बच्चालाई कोरोनाबाट कसरी जोगाउने ?

bibek

काठमाडौं । कोरोना भाइरसको संक्रमणले नेपालमा तिन हजार भन्दा बढि ब्यक्तिको मृत्यु भैसकेको छ भने विश्वभर ३२ लाख भन्दा बढि मानिसले कोरोना संक्रमणकै कारण ज्यान गुमाइसकेका छन् । नेपालमा २ लाख ६० हजार भन्दा बढि संक्रमित भैसकेकाक छन् भने विश्वभर संक्रमित हुनेको संख्या १५ करोण नाघिसकेको छ ।

कयौँको रोग सम्बन्धी अधुरो जानकारीको कारण मृत्यु भएकोे पाईएको छ भने धेरै ब्यक्तिहरुको भने कोरोना भाइरस संक्रमणकै कारण ज्यान गएको छ । कोरोना भाइरस संक्रमित मध्ये ८.५ देखि १३ प्रतिशत बच्चाहरु रहेको विश्वभर भईरहेको बिभिन्न अध्ययनले देखाएका छन् । र बच्चाहरुमा पनि १० बर्ष भन्दा मुनिको बच्चाहरुमा यो संक्रमण तुलनात्मक रुपमा कम देखिएको छ । डा.विवेक सिंहसँग गरिएको कुराकानीको संपादित अंश

के नवजात शिशुमा यो संक्रमण हुन सक्छ ?
नवजात शिशुमा पनि यो संक्रमण हुन सक्छ तर गर्भवती आमा बाट नवजात शिशुमा यो संक्रमण सर्ने सम्भावना न्युन छ , र यदि केहिगरि संक्रमण भैहालेपनि यो सामान्यनै हुने देखिएको छ ।

कस्तो बच्चामा यो संक्रमण हुने सम्भावना अधिक हुन सक्छ ?
मुटू र फोक्सोकोे रोगी, समय भन्दा अगाडि जन्मिएका बच्चाहरुमा यो संक्रमणको सम्भावना अधिक हुन सक्छ ।

बच्चाहरुलाई मास्क लगाउँदा कतिको उपयोगी होला ?
मास्कले धेरै हद सम्म कोरोना भाइरसको संक्रमणलाई रोक्न सक्छ जुन अहिले सम्मको १०० औँ अध्ययनले पुष्टि गरिसकेका छन् । र मास्क ठुलो मानिस, बच्चा सबैको लागि उपयोगी हुन्छ, अझै जब तपाई आफ्नो बच्चाहरुलाई लिएर कुनै भिड–भाड भएको स्थान जादै हुनुहुुन्छ भने त झनै जरुरी हुन्छ । र मास्क लगाउदा मुख र नाक पुर्ण रुपमा छोपिएको हुनु पर्छ ।

के मास्कले शरिरको अक्सिजन मात्रा कमी गर्छ ?
मास्कले शरिरको अक्सिजन मात्रा कमी गर्दैन, २४ घण्टा मास्क लगाउन जरुरी पनि देखिदैन, खुल्ला ठाँउमा बस्दा मास्क लगाउन जरुरी हुन्न ।

बच्चाहरुमा कस्तो लक्षण धेरै देखिने गर्छ ?
धेरै जसो बच्चामा रुघाखोकी लाग्ने, ज्वरो आउने लक्षण देखिए पनि, वाकवाक लाग्ने बान्ता हुने, पखला लाग्ने, सास फेर्न गार्हो हुने, ओठ निलोे हुने, समास्या देखिन सक्छ ।

बच्चाहरुलाई अरु के कुरामा ध्यान दिनु पर्ने हुन्छ ?
सकेसम्म भिड–भाड भएको ठाँउमा जान नदिने, र जानु परेमा अनिवार्य मास्कको प्रयोग गर्ने । हात धुने बानी बसाल्ने , समाजिक दुरी कायम राख्ने ।

के कोरोनाले मानसिक असर पर्न सक्छ ?
कोरोना भाइरसको संक्रमणले बच्चा र ठुलो मानिस दुबैमा मानसिक असर पर्न सक्छ, जसले गर्दा बच्चाहरु अत्तिने, रुने, उदास हुने, कसैसंग न बोल्ने गर्न सक्छन, यस्तो समस्या आएमा चिकित्सकसँग तुरन्तै सम्पर्क गर्ने ।

कोरोनाकोे मानसिक असर बाट बच्चाहरुलाई कसरी जोगाउन सकिन्छ ?
बच्चाहरुलाई हरेक दिन को समाचारहरु सेयर न गर्ने, डर , त्रासका कोरोना सम्बन्धी भिडीयो हरु न देखाउने, दिन को १ –२ घण्टा मात्र समाजिक सन्जाल प्रयोग गर्न दिने । र फुर्सदको समयमा नयाँ सिपहरु सिकाउने, विज्ञानका वृत्तचित्रहरु देखाउने ।

कस्तो खाने कुरामा ध्यान दिनु पर्छ ?
बच्चाहरुलाई चिसो चिजहरुबाट बचाउने, किनकी समान्य रुघा खोकीले पनि अभिभावकलाई अत्ताउन सक्छ । तरल पदार्थ, सुप, फलफुल, तरकारीहरुको मात्रा धेरै दिने । कुनै आयुर्वेदिक औषधी दिँदा सहि सल्लाह लिएर मात्र दिने ।

के आयुर्वेदिक औषधीले कोरोना निको हुन्छ ?
आयुर्वेदिक औषधीले कोरोना निको पारेको अहिले सम्म पुष्टि भएको छैन तर यो प्राचिनकाल देखि चलि आएको एउटा विज्ञान हो र यसले कोरोना बाट बचाँउन चाँडै निको पार्न केहि हद सम्म मद्धत गर्छ भनी धेरै अध्ययनले पुष्टि गरेका छन् ।

Comments

Top