सरकार ! पीपीई र स्टेथोस्कोपले लाठी र मुंग्रोको सामना गर्न सकिँदैन

Article_1

 

विश्वभर करोडौं संक्रमित र लाखौंको ज्यान लगिसकेको कोरोना भाइरसविरुद्ध लड्ने फ्रन्टलाइनर हो– स्वास्थ्यकर्मी । कुनै पनि व्यक्तिलाई संक्रमण भईसकेपछि सबैभन्दा नजिकको व्यक्ति भनेको स्वास्थ्यकर्मी नै हो । नौ महिना कोखमा राखेर जन्मदिने संक्रमित आमा र नौ महिना गर्भमा बोकेको सन्तानको नजिक जान नसकिने यस परिस्थितिमा बिरामीको नजिक जाने भनेको डाक्टर नै हुन्, अनि औषधी खुवाउने भनेको नर्स अनि उनीहरुसम्म पुर्याउने भनेका एम्बुलेन्स चालक हुन् ।

नेपालमा कोरोनाको महामारी ‘पीक’ अवस्थामा पुगिरहेको बेला केही दिन अघि विराट नर्सिङ होममा उपचारमा खटिएका डाक्टरमाथि आक्रमण भयो । उपचारमा खटिएका डाक्टर नै अस्पतालको बेडमा उपचार गराउनु पर्ने अवस्थामा पुर्याईयो ।

गुल्मीमा एम्बुलेन्स चालक लालबहादुर खत्रीमाथिको कुटपिट उदाहरण मात्र हुन् ।

अनि पछिल्लो उदाहरण बन्यो नेपालगञ्जको भेरी अञ्चल अस्पताल । संक्रमितको उपचारका लागि खटिइरहेका डाक्टरहरुले उपचार गर्दागर्दै बिरामीको मृत्यु भएपछि मृतकका भाई र छोराहरुले अस्पतालका डाक्टर र नर्सहरुमाथि भौतिक आक्रमण गरे । जसबाट ज्यान बचाउनका लागि अस्पतालको तलाबाट हाम फाल्नुका साथै ट्वाइलेटमा समेत लुक्नु पर्यो । तर, २ घन्टाअघिसम्म उनीहरुका आफन्तलाई औषधी खुवाउने पीपीई लगाएका नर्स र डाक्टरलाई घाँटी निमोठे ।

सोही अवस्थामा अस्पतालमा अन्य १५ जना आईसीयूका बिरामीहरु थिए, उनीहरुलाई ती नर्स र डाक्टरहरुले उपचार गरे या गरेनन्, गर्नु पर्छ वा गर्नुपर्दैन भन्ने ती हमलाकारीहरुले सोचेनन् ।

यस्तो महामारीको अवस्थामा बिरामीसँग पहिलोपल्ट प्रत्यक्ष जोडिने यी पात्रहरुका लागि भौतिक आक्रमण बाहिर देखिने घाउ हुन् । त्यो भन्दा धेरै गहिरो घाउ उनीहरुको अवश्य मनमा छ,– उनीहरुलाई पनि मन त हुँदो हो नि काखाको नानीलाई लिएर घरमै बस्ने मन । घरका बाबु–आमासँग सँगै बसेर खाना खाने मन । तर, २४ सै घन्टा पीपीई, मास्क, चस्मा, फेसशिल्ड, ग्लोब्स र गमबुटले शरीर छोपेर काम गर्नुपर्ने बाध्यता । छोराछोरी अनि परिवारको मायामा कैयौं स्वास्थ्यकर्मीहरु आफ्नो घरसम्म जान सकेका छैनन् ।

उनीहरुले प्रत्यक्ष भोगेका छन्, कोरोना संक्रमितको अवस्था र मृत्यु । उनीहरुलाई मानसिक रुपमा कति तनाव होला ? कति पीडा होला ? कुन डाक्टरलाई आफूले हेरेको बिरामी निको नहोस् भन्ने लाग्ला ? कुन नर्सलाई आफूले खुवाएको औषधीले बिरामीको मुस्कान नफर्कियोस् भन्ने लाग्ला ?

सारा दुनियाँलाई घरभित्र थुनिएर खान पुगेको अहिलेको परिवेशमा उनीहरुलाई पनि दुईछाक हातमुख जोड्न त अवश्य नै पुग्थ्यो होला । 

आफूलाई जन्मदिने आमा–बुवा र आफूले जन्म दिएका छोराछोरीको नजिक जान नसक्ने यस परिस्थितिमा डाक्टर नर्सले आफ्नो कर्तव्यसँगै दायित्व पूरा गर्ने प्रयास गरेका छन् । उनीहरुलाई सम्मानका साथ सलाम गर्नुपर्ने अहिलेको परिस्थितिमा हातमा लाठी र मुंग्रो लिएर अपरेशन थिएटर र आईसीयूमा छिर्नु कुनै नैतिकताले सिकायो ?

संक्रमण बढीरहेको यस परिवेशमा डाक्टरहरुमाथि गरिएको यस्ता किसिमको दुव्र्यवहारका कारण डाक्टरहरु अस्पताल नजाने र घरमै बस्ने निर्णय गरे भने भावी दिनमा बिरामी हुँदा कहाँ जाने ? अनि तपाईंँको उपचार कसले गर्ने ? त्यसतर्फ ध्यान जानु पर्ने होइन र ?

हत्केलामा ज्यान राखेर अर्काको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई उपचार गर्नुभन्दा पनि बिरामी तलमाथि केही भईहाल्यो भने कसरी बच्ने भन्दै भाग्ने ठाउँ खोज्नुपर्ने परिस्थितिको सिर्जना नगराऔं । डाक्टरका हतियार भनेका पीपीई र स्टेथोस्कोप नै हुन्, तिनीहरुले तपाईंहरुको लाठी र मुंग्रोको सामना गर्न सक्दैनन् ।

अस्पतालमा खटिएका स्वास्थ्यकर्मी र अस्पताललाई सुरक्षाको प्रत्याभूति गराउन सरकारको प्रमुख दायित्व हो । उनीहरुलाई भौतिक आक्रमणबाट बचाउनका लागि सरकारले यथाशक्य पहल गर्नु वा कानुनी दायरा नै उल्लेख गर्नुपर्दछ, अन्यथा गम्भीर बिरामीहरुलाई कुनै पनि अस्पतालले भर्ना नलिने र गम्भीर बिरामीलाई कुनै पनि डाक्टरले उपचार सुरु नगर्ने अवस्था आउन सक्छ । यदि कुनै डाक्टरले गम्भीर प्रकारको बिरामीको उपचार गर्न इन्कार गरेमा र त्यस बिरामीको ज्यान तलमाथि भएमा त्यसको जिम्मेवारी कसले लिने ? सरकारले ? डाक्टरले वा बिरामीका आफन्त वा अहिलेसम्मका दुर्व्यवहार देखाएका मानवरुपी दानवहरुले ?

हुन त कतिपय अवस्थामा अस्पताल र स्वास्थ्यकर्मीले गल्ती र कमजोरी नै हुँदैन भन्ने होइन, तर ति भनेको अपवाद हुन् । त्यस्तैलाई कारबाहीका लागि कडा नियम बनाउनु सरकारको दायित्व हो । यदि त्यस किसिमकाअस्पताल, डाक्टर र बिरामीको मृत्युपछि डाक्टरलाई आक्रमण गर्ने दानवरूपी मानवलाई कडा भन्दा कडा सजाय दिन सकियो भने बिराटनगर, गुल्मी र नेपालगञ्जका जस्ता घटना फेरी नदोहोरिन सक्छन्, र धेरै बिरामीहरूको मुहारमा मुस्कान फर्किन सक्दछ ।

 

 

Comments

Top