‘इकुपिताङ’ लिएर दर्शकमाझ आउँदै सुलेमान

IKu_Pitang

काठमाडौं । बालबालिकादेखि बृद्धसम्मका लागि लोकप्रिय पात्र ‘इकु’ दर्शकले फेरि हेर्न पाउने भएका छन् । हाँस्यश्रृखला ‘इकुपिताङ’मार्फत ‘इकु’लाई सानोपर्दामा देख्न पाउने भएका हुन् ।

‘इकु’को भूमिका निर्वाह गरेर चर्चित भएका कलाकार सुलेमान शंकर ‘इकु’ले शृंखला ‘इकुपिताङ’ बनाएका हुन् । शृंखलाको कथा, निर्देशनसमेत सुलेमानकै रहेको छ । ‘इकु’को भूमिकामा पनि उनी आँफै देखिनेछन् ।

शृंखलामा सुलेमानको अलवा श्याम राई, ज्याक गुरुङ, उत्तम केसी, राजु कमेडी, अमृता खनाल, आरती लामा, सचिन शर्मा, गणेश इशारा, मनिष खड्का, माया थामी, सिमरन मट्ट, सरोज ढकाल, मिलन शंकर, बालकलाकार कुसल लोहनी, दीपक थापामगर, सुमन मगरलगायतको अभिनय रहेको छ ।

योगेश उपाध्यायको संगीत र विनय कार्कीको गीत शृंखलामा समेटिएको छ ।

हुन त केही अगाडि निर्देशक मरिचमान श्रेष्ठ र राजु पौडेलले आफ्नो श्रृंखला ‘हल्का रमाइलो’को केही भागमा ‘इकु’लाई प्रस्तुत गरेका थिए । शृंखलामा केही भेराइटी दिन ‘इकु’ पात्र समेटिएको बताइएको ‘हल्का रमाइलो’मा अहिले भने ‘इकु’को कथा सकिएको छ ।

ग्ल्योबल टिभी एचडी र एसएमएस फिल्मको निर्माण रहेको ‘इकुपिताङ’ ग्ल्योबल टिभी एचडीबाट असारको दोस्रो साताबाट प्रसारण हुनेछ । ‘मेरी बास्सै’पछि सुलेमानले ‘इकु’लाई फिल्ममा प्रस्तुत गर्दासमेत दर्शकले मन पराएका थिए ।

दर्शकले रुचाएको ‘इकु’ को भूमिकामा फेरि टेलिभिजनको पर्दामा देखिन लाग्दा निकै खुसी लागेको सुलेमानले बताएका छन् । ‘फेरि एक पटक इकु टेलिभिजनको पर्दामा हेर्न पाए हुन्थ्यो भनेर देश विदेशका कार्यक्रममा जाँदा दर्शकले सधैं भन्नुहुन्थ्यो’ सुलेमानले भने, ‘दर्शकको चाहनाअनुसार नै इकुपिताङ निर्माण भएको छ ।’

‘पहिलेका बालबालिकालाई ‘इकु’ को बारेमा थाहा छ । तर, अहिलेका बालबालिकालाई केही थाहा छैन’ सुलेमानले थपे ‘अहिलेको पुस्तामाझ पनि इकु चरित्र जिवित राख्ने चाहना मेरो थियो । त्यसैले पनि इकुपिताङ जन्मियो ।’ पहिले झै जंगली पात्रको रूपमा ‘इकु’लाई फरक ढंगले प्रस्तुत गरिने सुलेमानको भनाइ छ ।

राजु पौडेल र मदन महर्जनको छायांकन र रविन बजगाइँको सम्पादन रहेको शृंखला असार दोस्रो साताबाट प्रसारणमा आउने सुलेमानले बताए । शृंखलाको प्रोमो अहिले सार्वजनिक गरिएको छ ।

Comments

Top