नेपाल जोर्डनसँग पराजित, ‘पेनाल्टी नै नेपालका लागि दुर्भाग्य’

jordan

काठमाडौं । नेपाल जोर्डनसँग ३–० ले पराजित भएको छ । विश्वकप र एसियन कपको छनौट अन्तर्गतको सोमबार राती सम्पन्न खेलमा नेपाल जोर्डनसँग ३ गोल अन्तरले पराजित भएको हो ।

जोर्डनलाई जित दिलाउन बाहा फाइजल सिफले दुई गोल गरे । यस्तै याजन अल अरबको नाममा एक गोल रह्यो ।

नेपाल खेलको २३ मिनेटमा जोर्डनको पेनाल्टी गोलमार्फत पछाडि परेको थियो भने त्यसपछि दोस्रो हाफको पाँचौं मिनेटमा जोर्डनले फ्रिकिकमार्फत् गोल गर्दै खेल २–० मा अग्रता लिएको थियो । यी दुवै गोल फाइजलले नै गरेका थिए ।
त्यसपछि जोर्डनले खेलको ६७ औं मिेनटमा अर्को गोल गर्दै गोल अग्रता तेब्बर बनाएको थियो ।

त्यसपछि खेलको निर्धारित समयमा कुनै गोल हुन नसकेपछि खेलमा नेपालले ३–० को पराजय भोगेको थियो ।

खेल पछि प्रतिक्रिया दिँदै नेपाली टिमका प्रशिक्षकले पहिलो हाफमा खाएको पेनाल्टी नै खेलको टर्निङ प्वाइन्ट बनेको बताए । उनले भने, ‘यदि त्यो पेनाल्टी नदिइएको भए खेलमा जे पनि हुनसक्थ्यो, सो पेनाल्टी नै नेपालका लागि दुर्भाग्य बन्यो ।’

जितसँगै समूह ‘बी’ को जोर्डनले ६ खेलमा १३ अंक जोडेको छ । जोर्डन अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

नेपालले ७ खेलमा ६ अंक जोडेको छ । नेपाल चौंथो स्थानमा रहेको छ ।

अब नेपालले समूह चरणको अन्तिम खेलमा अष्ट्रेलियासँग खेल्नेछ । नेपाल र अष्ट्रेलियाबीचको खेल शुक्रबार हुनेछ ।

Comments

Top