काठमाडौं । बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ गंगालाल अस्पतालबाट डिस्चार्ज भएका छन् ।
गत शुक्रबार राती एक्कासी छाती दुखेपछि अस्पताल भर्ना गरिएका कलाकार श्रेष्ठ आज (बुधबार) डिस्चार्ज भएको उनका छोरा यमन श्रेष्ठले बताए ।
यमनका अनुसार मदनकृष्णको शनिबार एन्जिओप्लास्टी गरी दुईवटा स्टेन्ट राखेर मुटुमा रक्तसञ्चारको ब्लकेज हटाइएको थियो । अहिले उनको स्वास्थ्यस्थिति राम्रो भएको छ ।
मदनकृष्णलाई चार साताको अनिवार्य बेडरेष्ट गर्नका लागि डाक्टरले सुझाएका छन् । डाक्टरले मदनकृष्णलाई आगामी चार साताका लागि, ‘नो फेसबुक, नो सोसल मिडिया, नो टु मच मोबाइल, नो टु मच फोन कन्भर्सेसन, नो प्रोग्राम’ जस्ता कडा निर्देशन दिएको पनि यमनले जनाए ।
यमनले मदनकृष्णले डाक्टरहरुको निर्देशन पूर्ण पालना गर्ने प्रतिबद्धता गर्दै ‘हस्’ भन्दै टाउको हल्लाएर अस्पतालबाट डिस्चार्ज भएको पनि जनाए ।
यसअघि मदनकृष्ण समेत परिवारलाई नै कोरोना पुष्टी भएपछि मदनकृष्णको मेडिसिटी अस्पतालमा उपचार गरिएको थियो । लामो समयदेखि पार्किन्सनजस्तो गम्भीर प्रकृतिको रोग लागेका बखत कोरोना संक्रमण जितेका मदनकृष्ण कैयौं संक्रमितहरुको प्रेरणाको स्रोत बनेका छन् ।
Comments