अफगानिस्तानमा आपतकालीन बैठक, सत्ता हस्तान्तरण गर्ने मनसायमा राष्ट्रपति घानी

ghani

काठमाडौं । पछिल्लो सातादेखि अफगानिस्तानका विभिन्न शहर कब्जा गर्दै आएका तालिवानी समूहले आखिर राजधानी काबुल पनि कब्जा लिएका छन् । ताबिलानी लडाकुहरु राजधानी काबुल प्रवेश गरेसँगै राष्ट्रपति असर्फ घानीले आपतकालीन बैठक बोलाएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनले अहिले अमेरिकी विशेष दूत जाल्मे खलिलजाद र शीर्ष नेटोका अधिकारीसँग वार्ता गरिरहेका छन् । यसअघि शनिबार घानीले एक वक्तव्य जारी गर्दै मुलुक गम्भीर खतरामा रहेको बताएका थिए ।

घानीले अफगानिस्तानको सुरक्षालाई सशक्त बनाउने र सेनालाई संगठित गर्ने प्रयास भइरहेको बताएका थिए । तालिबानले मुलुकका अधिकांश क्षेत्रलाई कब्जामा लिएसँगै राष्ट्रपति घानीमाथि राजीनामा दिन दबाब बढेको छ ।

अमेरिकाले आफ्ना नागरिकको सुरक्षाको लागि थप पाँच हजार सेना काबुल पठाएको छ । त्यस्तै उसले आफ्ना नागरिक र दूतावासका कर्मचारीको पनि काबुलबाट हेलिकप्टरबाट उद्धार गरिरहेको छ ।

यसैबीच तालिबानले भने आफ्ना लडाकुहरुलाई काबुल नछिर्न निर्देशन दिइएको दाबी गरेको छ । तालिबानले एक वक्तव्य जारी गर्दै आफ्ना लडाकुलाई काबुलको गेटमा नै बस्न निर्देशन दिइएको बताएको छ । काबुल घना बस्ती भएको क्षेत्र भएकाले आम नागरिकको सुरक्षालाई ध्यानमा राख्दै लडाकुहरुलाई बाहिरै बस्न निर्देशन दिइएको तालिबानको दाबी छ ।

तर पनि काबुलका सडकहरुमा तालिबानी लडाकुहरु देखिएको छ । तालिबानी लडाकु राजधानी प्रवेश गरेसँगै काबुलबाट बाहिरिने सर्वसाधारणको संख्या एक्कासी बढेको छ । तर पनि अधिकांश देश तालिबानीकै कब्जामा रहेको मानिएको अफगानिस्तानमा काबुलबाट बाहिरिनुमात्र समस्याको समाधान नभएको बताइन्छ ।

यसैबीच अफगानिस्तानका राष्ट्रपति अर्सद घानीले तालिबानीलाई सत्ता हस्तान्तरण गर्ने मनसाय राखेको पनि सञ्चारमाध्यमहरुले जनाएका छन् । हतियारधारी लडाकुसमूहसँग प्र्रतिशोध लिनुभन्दा शान्तिपूर्णहिसाबले आफू बाहिरिनु घानीका लागि उपयुक्त भएको सञ्चारमाध्यमहरुले दाबी गरेका छन् ।

Comments

Top