जीवनदेखि हारिन् निशा, उपचारकै क्रममा नर्भिकमा निधन

nisha gray

काठमाडौं । चर्चित मोडल तथा कलाकार निशा घिमिरेको उपचारका क्रममा निधन भएको छ । मोडल घिमिरेको उपचारका क्रममा बुधबार साँझ मृत्यु भएको हो । घिमिरेको आज साँझ ६ः५१ बजे मृत्यु भएको नर्भिक अस्पतालले जनाएको छ ।

लगातारको उपचारपछि पनि उनको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार आउन सकेको थिएन । उनलाई लगातार अक्सिजनको सपोर्ट दिएर सीसीयूमा राखिएको थियो । खाना पनि पाइपबाट खुवाउने गरिएको थियो भने उनका शरीरमा रहेका घाउहरु समेत लामो समयसम्म पुरिन सकेका थिएनन् । गम्भीर अवस्थामै रहेकी घिमिरेको मुटु र मृगौलाले काम गर्न छाडेपछि बुधबार बिहानदेखि अवस्था गम्भीर बन्न पुगेको अस्पतालले जनाएको छ ।

नर्भिक अस्पतालले जिउँदो लाशजस्तो भएर घरमै थन्किएकी घिमिरेलाई २०७८ जेठ २७ गते उद्धार गरेको थियो । उद्धार गरी अस्पतालले निःशुल्क उपचार थालेको थियो । सो क्रममा उनको सबैखालका विकल्प तथा विधिबाट उपचार गरिएको थियो । लामो समयसम्मको उपचारपछि पनि उनको अवस्था स्थिर नै रहेको थियो अस्पतालले जनाएको छ ।

 

Comments

Top