देशभरका विभिन्न स्थानबाट २९ जुवाडे पक्राउ

juwa

काठमाडौं । नेपाल प्रहरीको विभिन्न टोलीले भक्तपुर, तनहुँ, नवलपरासी (पूर्व) र कञ्चनपुरबाट २९ जुवाडे पक्राउ गरेको छ ।

भक्तपुरको भक्तपुर नगरपालिका–७, गोल्मढी बस्ने ३८ वर्षीय राजेश खयामलीको किराना पसलमा तास खेलिरहेको अवस्थामा राजेशलगायत चारजनालाई प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ६९ हजार ७५० रुपैयाँ र तीन बुक ताससहित पक्राउ गरेको हो ।

त्यस्तै तनहुँको शुक्लागण्डकी नगरपालिका–४, दुलेगौडा, भीमसेन चोकस्थित थकाली भान्साघरमा तास खेलिरहेको अवस्थामा शुक्लागण्डकी–९ बस्ने ४० वर्षीय सूर्यबहादुर विकलगायत पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ५८ हजार ४९५ रुपैयाँ र एक बुक ताससहित पक्राउ गरेको हो ।

त्यसैगरी नवलपरासी (पूर्व)को गैँडाकोट नगरपालिका–१०, भैसाखोरी बस्ने ४७ वर्षीय डिल्लीराम सापकोटाको सोही ठाउँस्थित सापकोटा न्यु तन्दुरी होटेल एन्ड रेस्टुरेन्टमा तास खेलिरहेको अवस्थामा डिल्लीरामलगायत ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गैँडाकोट र अस्थायी प्रहरी पोस्ट बेल्डिहाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद एक लाख २५ हजार ३५ रुपैयाँ र एक बुक ताससहित पक्राउ गरेको हो ।

त्यस्तै कञ्चनपुरको कृष्णपुर नगरपालिका–५, गुलरिया बस्ने ४० वर्षीय भीमबहादुर बोहराको घरमा तास खेलिरहेको अवस्थामा बोहरालगायत १४ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ९३ हजार १८५ रुपैयाँ र तीन बुक ताससहित पक्राउ गरेको जनाइएको छ ।

 

Comments

Top