टी–२० विश्वकपः न्यूजिल्यान्ड जितसँगै सेमिफाइनलमा, भारतको सपनामा तुषारापात

New-zeeland


काठमाडौं । युएईमा जारी टी–२० विश्वकपमा सेमिफाइनलमा पुग्ने चार टिमको टुंगो लागेको छ।

आइतबार आबुधावीमा सम्पन्न पहिलो खेलमा अफगानिस्तानलाई ८ विकेटले पराजित गर्दै न्युजिल्यान्ड अन्तिम चारमा पुगेको हो । न्यूजिल्यान्ड जीतका साथ सेमिफाइनल प्रवेश गरेसँगै भारत प्रतियोगिताबाट बाहिरिएको छ ।

अफगानिस्तानले दिएको १२५ रनको चुनौती पार गर्दै न्युजिल्यान्ड सेमिफाइनलमा स्थान बनाउने चौंथो टिम बनेको हो।

आजको खेलमा टस जितेको अफगानिस्तानले पहिला ब्याटिङ गर्ने निर्णय गरेको थियो। निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै अफगानिस्तानले १२४ रन जोड्न सफल भयो।

अफगानिस्तानका लागि नजिबुल्लाह जरदानले सर्वाधिक ७३ रन बनाए। उनले ४८ बलमा ६ चौका र तीन छक्का प्रहार गरे।

जवाफी ब्याटिङ गरेको न्युजिल्यान्डले ११ बल बाँकी छँदै २ विकेटको क्षतिमा लक्ष्य भेटायो। न्युजिल्यान्डका लागि केन विलियमसनले सर्वाधिक ४० रन र डेभोन कोनवेले ३६ रन बनाए।

भारत जारी प्रतियोगितामा पहिलो २ खेलमा हार ब्यहोर्दै खराब सुरुवात गरेको थियो । त्यसपछि पछिल्लो २ खेलमा जित हात पारेको भारतले सेमिफाइलन प्रवेशका लागि अन्तिम खेल अगाडि नै अफगानिस्तानको जीतको कामना गर्न बाध्य भएको थियो । तर न्यूजिल्यान्डले सेमिफाइनल प्रवेशका लागि खेलेको अन्तिम खेलमा जीत हात पारेपछि भारतको सपनामा तुषारापात भएको थियो ।
पाकिस्तान, इंग्ल्यान्ड र अष्ट्रेलिया यसअघि नै सेमिफाइनलमा प्रवेश गरिसकेका छन्।

आजै पाकिस्तान र स्कटल्यान्डबीच खेल हुँदैछ । पाकिस्तान यसअघि नै सेमिफाइनल प्रवेश गरिसकेको छ भने स्कटल्यान्ड प्रतियोगिताबाट बाहिरिइसकेको छ ।

 

Comments

Top