प्लटिङमा आपूर्तिमन्त्रीको अवैध लगानी, डन मनाङ्गे र बाहुनसँग कनेक्सन

platingकाठमाडौं । राप्रपाका नेता तथा आपूर्तिमन्त्री दीपक बोहराले ललितपुर जिल्लास्थित ठेंचोमा तीन सय रोपनी जग्गाको प्लटिङमा अवैध रुपमा लगानी गरेको रहस्य खुलेको छ । मन्त्री बोहरासहित दश जनाको समूहले लगानी गरेको ठेंचोको प्लटिङ यतिखेर बिबादमा परेको छ । विशेष गरेर डन दीपक मनाङ्गेको अबरोधले जग्गा विक्री गर्न समस्या परेको हो । मनाङ्गेको निर्देशनमा सेन्ट्रल जेलमा रहेका सुजन पौडेल उर्फ रमेश बाहुन र उनको समूहले बोहराको लगानी रहेको जग्गा प्लटिङलाई समस्यामा पारेको हो । बाहुनले जेलभित्रैबाट फोन गरेर रकम माग गरेपछि प्रचण्ड सरकारका बहालवाला मन्त्री बोहरा पनि चकित परेका छन् । मन्त्री बोहराले यो कुराको जानकारी प्रहरी उच्च अधिकारीलाई गराएको स्रोतले बतायो । तर, प्रहरीले यो विषयलाई गम्भीरतापूर्वक नलिएपछि मन्त्री बोहरा चकित परेका हुन् ।आपूर्ति मन्त्री बोहरासहितको समूहले ठेंचोमा अत्यन्तै सस्तो मूल्यमा गरिव जनताको जग्गा हडपेको आरोप छ । बोहरासहितको समूहले पाँच लाख रोपनीका दरमा जग्गा खरिद गरेको एकजना पीडितले बताए । तर, अहिले सो जग्गालाई मन्त्री बोहराको समूहले १५ देखि २० लाख प्रति आनाका दरले जग्गा बिक्री गरिरहेको छ ।  यो कुरा चाल पाएपछि मनाङ्गेले बाहुन र उनका साथीद्वय प्रकाश माली र युवराज खड्काको समूहलाई लगाएर पटक–पटक गरी मोटो रकम चन्दा लिएको स्रोतको दावी छ । मन्त्री बोहरा निकट एक सहयोगीले भने,‘कस्तो ठाउँमा लगानी गरिए छ भनेर मन्त्रीज्यू हैरान बन्नु भएको छ । माली र खड्काले मनाङ्गे र बाहुनको नाम लिएर प्रत्येक हप्ता कमिशन माग्न आउँछन् ।’ माली र खड्काको समूहले ठेंचोस्थित तीन सय रोपनीको जग्गा प्लटिङलाई निशाना बनाएका छन् । जग्गा प्लटिङबाट मात्रै यो समूहले ३० लाख जबरजस्ती कमिशन लिएको प्रहरीको आशंका छ । मनाङ्गेको कनेक्सन अवैध लागूऔषध र अपहरण तथा फिरौती मुद्दामा केन्द्रीय कारागार सुन्धारामा सजाय काटिरहेका डन बाहुनले जेलभित्रबाटै फिरौती उठाउन थालेका छन् । बाहुनले ललितपुरलाई आफ्नो केन्द्र बनाएर अपराधिक क्रियाकलाप गर्दै आएका थिए । उनलाई अपराधमा सहयोग गरिरहेका छन् खड्का र मालीले । यी दुई युवाले ललितपुरका उद्योगपति, व्यापारी, जग्गा कारोबारी, हाउजिङ कम्पनीका मालिक, ठेकेदार, हार्डवेर व्यापारी आदिको सूची तयार पारेर बाहुनसम्म पु¥याउने गर्छन् । बाहुनले सेन्ट्रल जेलबाट फोन गरेर धम्काई रकम उठाउने गरेका छन् । रमेश बाहुनलाई डन दीपक मनाङ्गेले प्रयोग गरिरहेको आरोप पनि लागेको छ । सेन्ट्रल जेलमा रहेका बाहुनले उठाएको रकमको केही हिस्सा प्रहरीका उच्च अधिकारी र सेन्ट्रल जेलका हाकिम तथा मनाङ्गेसम्म पुग्ने गरेको स्रोतले जनायो । ‘सेन्ट्रल जेलमा रहेको व्यक्तिलाई प्रहरीको मिलोमतोमा फोन प्रयोग गर्न दिइएको छ’, स्रोतले भन्यो,‘जेलको हाकिम र बाहिर रहेका गुण्डाहरूको सहयोगमा बाहुनले जेलभित्रैबाट आफ्ना गतिविधि चलाइरहेका छन् ।’ प्रकाश र युवराजको जोडीले काभ्रेका दावा लामा, सुरेश लामा, उमेश लामा, चन्द्र लामा, विष्णु लामा, आइत लामालाई साथमा लिएर गुन्डागर्दी गर्दै आएको ललितपुर प्रहरी परिसरका एक प्रहरीले बताए । नाङ्गेको डिस्को क्लवमा कुनै बेला मालीले बाउन्सरको काम गर्थे । मालीको गुन्डागर्दी शैली मनपराएर मनाङ्गेले आफ्नो अंगरक्षक बनाई केही समय सँगै हिँडाए पनि । ललितपुर जिल्लाको ठेंचो गाउँका स्थानीय बासिन्दा मालीलाई प्रहरीले पटक–पटक अपहरण, हत्या, जबरजस्ती रकम असुली लगायतको मुद्दामा पक्राउ गरेर कारबाही गरिसकेको छ । मालीले दश वर्ष अगाडि धापाखेलमा नेपाली सेनाका भुतपूर्व हवल्दार चुडाबहादुर खड्काको हत्या गरेर दुई वर्षसम्म फरार भएका थिए । मालीले चुडाबहादुर खड्कालाई कुटपिट गरेर हत्या गरेको भन्दै आफन्तले किटानी जाहेरी दिएपनि प्रहरीले भने उनलाई पक्राउ गरेर अनुसन्धान नगरि मुद्दालाई तामेलीमा राखिदिएको आरोप छ । यिनै मालीले बाहुनलाई डन मनाङ्गेसँग सम्पर्क गराइ दिएको स्रोतको भनाई छ । बाहुनका नजिकका मानिने युवराज खड्कालाई पनि अपराधमा मालीले ल्याएको चर्चा हुने गर्दछ । खड्काको काम भनेको सुराकी गरेर बाहुन समक्ष व्यापारीहरूको सूचना पु-याउनु हो । प्रकाश र युवराजको समूहले मनाङ्गेको पैसा ललितपुरमा मिटर व्याजमा लगाउने गरेको छ । प्रकाश र युवराजको यो क्रियाकलापको जानकार रहेको ललितपुर प्रहरीले उनीहरूलाई किन छुट दिइरहेको छ भनेर पीडितहरू समेत चकित परेका छन् ।ललितपुर प्रहरीले अपराधमा संलग्नहरूमध्ये ३० जना जति गुण्डाहरूलाई पक्राउ गरेर सार्वजनिक मुद्दा चलायो तर, सबैलाई तारेखमा छाड्यो । ललितपुरमा हुने आपराधिक क्रियाकलापमा दीपक मनाङ्गेको संलग्नता देखिएको सूचना आइरहेको बताउँदै ललितपुर प्रहरीले सबै गुण्डा नाइकेहरूलाई निगरानीमा राखेको  छ । ‘पीडितहरूले मलाई सिधै आएर गोप्य रुपमा सूचना वा निवेदन दियो भने यी गुण्डा नाइकेहरूलाई ठाउँमा ल्याउन प्रहरी सक्षम छ । पीडितले हामीलाई भन्नु पर्छ । डराउनु हुँदैन । सबै गुन्डा नाइकेहरू प्रहरीको निगरानीमा छन् ।  गुण्डा नाइकेहरूको डरले पीडितहरूले निवेदन दिन नआए पनि प्रहरीले सूचना संकलन गरिरहेको छ । अपराध गर्ने कसैले पनि छुट पाउँदैन ।’–परिसरका एसपी अशोक सिंहले बताए । ‘मनाङ्गेको आडमा माली र खड्काले संगठित हिसावले आपराधिक काम गरेको सूचना प्रहरी समक्ष आइसकेको छ । हामीले ‘एक्सन’ लिन्छौँ । तपाईहरूले केही समयभित्र रिजल्ट देख्न पाउनु हुन्छ । काभ्रेली गुन्डानाइके दावा लामा समूहले पनि ललितपुर जिल्लालाई सेल्टर बनाएको सूचना आएको छ । सर्च गरेर सबै गुन्डा नाइकेहरूलाई तह लगाउँछौँ ।’ एसपी सिंहले थपे । -यूनाइटेड पोस्ट साप्ताहिकमा खबर छ

Comments

Top