नेपाललाई २१४ रनको लक्ष्य

Nepal_Zimbabe

काठमाडौं । नेपालले जिम्बाबे ए विरुद्धको अन्तिम एकदिवसीय खेलमा जितका लागि २१४ रनको लक्ष्य पाएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा जारी खेलमा टस हारेर ब्याटिङ गरेको जिम्बाबे एले ३२.१ ओभरमा २१३ रन बनाउँदा सबै विकेट गुमाएको हो ।

नेपालका लागि डेब्यू म्यान किशोर महतोले ५ विकेट लिएका थिए ।

विस्फोटक सुरुवात गरेको जिम्बाबेलाई रोक्न नेपाललाई ज्यादै गाह्रो भएको थियो । नेपालका लागि महतो बाहेक अन्य बलर खासै प्रभावशाली बन्न नसकेको आजको खेलमा कप्तान सन्दीप लामिछाने सर्वाधिक असफल बने । उनले ६ ओभरमा ५६ रन दिएर कुनै विकेट लिन सकेनन् ।

नेपालका लागि करण केसी र दीपेन्द्र सिंह ऐरीले १÷१ विकेट लिए भने सोमपाल कामीले २ विकेट हात पारे ।

त्यस्नै नेपालका लागि बसिर अहमदले २ ओभरमा ११ रन दिँदै कुनै विकेट लिएनन् ।

जिम्बाबेका लागि इन्सोसेन्ट ले १२ रन बनाए । त्यस्तै टाडिवान्शे मौरमानीले अर्धशतकीय योगदान गर्दा कुद्जाई मौनजे र रोय काजाले क्रमशः ३९ र ३६ रन बनाए ।

त्यस्तै जोनाथन क्याम्पबेल ३ रनमा आउट हुँदा सेफास गुवाउले १६ रन बनाए । त्यस्तै टोनी मुन्योन्गाले २४ रन बनाए भने लुके जोङ्वेले १९ रन बनाए । ब्राड इभान्सले ६ रन बनाउँदा ब्रान्डन मभुता ६ रनमा आउट भए । त्यस्तै भिक्टर न्युची बिना रन नटआउट रहे ।

अब केही बेरमा नेपालले ब्याटिङ सुरु गर्नेछ ।

मौसमको खराबीका कारण ढिलो सुरु भएको अन्तिम खेललाई ३३ ओभरमा झारिएको थियो ।

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीमा स्वरूप नेपालले जिम्बावे ‘ए’ सँग सिरिज खेलिरहेको हो।

यस अघि भएको तीन खेलको टी-ट्वान्टी सिरिज १-१ को बराबरीमा सकिएको थियो।

 

Comments

Top