कानुनी उपचारका लागि मिरुनाविरुद्ध काठमाडौं जिल्ला अदालत पुगे फुर्वा साङ्मो

furba sangmo

काठमाडौं । आफूमाथि कुटपिट र गाली बेइज्जती भएको भन्दै बौद्ध भिक्षु फुर्वा साङ्मो तामाङले जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गराएका छन्।

तामाङले अभिनेत्री मिरुना मगर र फिल्मका प्राविधिक पृथ्वीसिंह ठकुरीविरुद्ध मुद्दा दर्ता गरेका हुन्।

बुधबार उनीहरुविरुद्ध तामाङले गाली बेइज्जती र कुटपिटको मुद्दा दर्ता गराएको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए।

फिल्म हेर्ने क्रममा आफूमाथि दुर्व्यवहार भएको भन्दै मिरुनाले भिक्षु तामाङलाई केही समय अघि झापड हानेकी थिइन्। त्यसपछि उनीहरुले मिलापत्रसमेत गरेका थिए। तर यो केश अब अदालतमा पुगेको छ।

दर्ता गरिएको मुद्दामा मिरुनालाई पटक–पटक माफी माग्न पहल गर्दा पनि उनले बेवास्ता गरेको उल्लेख गरिएको छ। काठमाडौं जिल्ला अदालतकाअनुसार दर्ता गरिएको मुद्दामा फुर्वाले मिरुनालाई उक्साउने काम गरेको भन्दै फिल्म प्राविधिक ठकुरीउपर पनि कानुनअनुसारको कारबाही गर्न माग गरेका छन्।

त्यस्तै, मगरले पनि कानुन बमोजिम सजाय पाउनुपर्ने माग मुद्दामा गरिएको छ। हाल लण्डनमा रहेकी मिरुना र फुर्वाबीच गत जेठ १५ मा ‘कबड्डी ४’ फिल्म प्रदर्शनका क्रममा विवाद भएको थियो। मिरुना र फिल्मको निर्माण पक्ष प्रचारका लागि सिभिल मल पुगेका बेला फुर्वाले आफूमाथि दुर्व्यवहार गरेको भन्दै मिरुनाले थप्पड हानेकी थिइन्।

उक्त प्रकरणले विवादको रुप लिएपछि फिल्मको निर्माण पक्ष र बौद्ध भिक्षु तथा बौद्ध समुदायबीच सहमति पनि भएको थियो। तर, हाल भने उक्त विवादले कानुनी रुप लिएको छ।

Comments

Top