काठमाडौं । राजधानीको कपनमा बुधबार लागेको आगलागीमा ज्यान गुमाएका तीन जनाको पहिचान खुलेको छ ।
मृत्यु हुनेमा ताप्लेजुङ घर भएका २७ वर्षका कासाङ तेञ्जी शेर्पा, सङ्खुवासभा घर भइ सुकेधारा बस्ने अशोक राई र काठमाडौ महानगरपालिका वडा नं २६ रानीबारी बस्ने २५ वर्षका छेवाङ शेर्पा रहेको प्रहरीले जनाएको छ ।
उनीहरुको शव शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । आगलागीमा एक जना घाइते भएका छन् । घाइतेको उद्धार गरी चुनिखेलमा रहेको करुणा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
बुढानीलकण्ठ नगरपालिका— ११ कपनस्थित एलाइट हिमालयन एड्भेन्चर ट्रेकिङ कम्पनीको कार्यालयमा बुधबार साँझ आगलागी भएको थियो । आगो गएराति नै निभाइएको छ ।
आगो निभाउन बौद्ध रामहिटी, ललितपुर महानगरपालिका, भक्तपुर नगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, त्रिभुवन विमानस्थलबाट एकरएक तथा काठमाण्डौ महानगरपालिकाबाट दुई गरी ९ वटा दमकल प्रयोग गरिएको थियो । यस्तै, १० वटा पानी ट्याङ्कर परिचालन गरिएको थियो ।
Comments