भारतलाई पठाएको पत्र सदनमा पेश गर्न एमालेको माग

prachanda and bhimराष्ट्र हित विपरितको पत्र लेख्ने कुरा कल्पनासम्म गर्न सक्दिनँ : प्रधानमन्त्री

काठमाडौं : एमाले सांसद भीम रावलले प्रधानमन्त्रीका विशेष दूत एवंम् उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बुझाएको पत्र सदनमा पेश गर्न माग गरेका छन्। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष समेत रहेको रावलले संसदको बैठकमा विशेष समय लिएर बोल्दै पत्र सदनमा पेश गर्न माग गरेका हुन् । सदनमा बोल्दै उनले भने–‘नेपालको संविधान संयुक्त राष्ट्रसंघको पञ्चशिलका आधारमा अन्तर्राष्ट्रिय सम्बन्ध कायम गर्ने व्यवस्था छ। तर, प्रधानमन्त्रीले संविधान संशोधनको विषयमा भारतीय प्रधानमन्त्रीलाई पत्राचार गरेका समाचार आएको छ। यो हाम्रो संविधान र जनताको भावना विपरित छ।’ अन्तर्राष्ट्रिय कूटनीतिक सिद्धान्त अनुसार कुनै पनि देशबीचको सम्बन्धमा अत्यन्त असहज परिस्थिति उत्पन्न भएमा त्यसको समाधानका लागि विशेष दूत पठाएर सम्बन्ध सुधार गर्ने परम्परा रहेको भन्दै रावलले अहिले कुन त्यस्तो अप्ठ्यारो पर्‍यो र अन्तर्राष्ट्रिय मान्यता विपरित उपप्रधानमन्त्रीलाई विशेष दूतका रुपमा पठाउनु पर्यो ? भन्दै प्रश्न गरेका थिए । यता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने आफूले भारतलाई राष्ट्रहित विपरितको पत्र नलेखेको उनले स्पष्ट समेत पारेका छन् । सरकारका विशेष दूत विमलेन्द्र निधिमार्फत् सरकारले संविधान संशोधनको खाकासहितको पत्र पठाएको भन्ने प्रचारको उनले खण्डन गरे । नेपाल टेलिभिजनको नियमित कार्यक्रम सिधा कुरा प्रधानमन्त्रीसँगको शनिवारको श्रृंखलामा प्रचण्डले औपचारिक कुटनीतिक विषयबाहेक पत्रमा कुनै कुरा उल्लेख नभएको जानकारी गराएका छन् । ‘छिमेकी मित्रराष्ट्र भारतलाई सरकारले पठाएको पत्रबारे प्रतिपक्षी दलका साथीहरुको प्रचार सुन्दा दुःख लागेको छ । औपचारिक कुटनीतिक विषयबाहेक पत्रमा कुनै कुरा उल्लेख गरिएको छैन । मैले राष्ट्र हित विपरितको पत्र लेख्ने कुरा कल्पनासम्म गर्न सक्दिनँ,’ प्रधानमन्त्रीले भने–‘आधारहिन प्रचारबाट एकछिन भ्रम दिन त सकिएला, तर प्रकारान्तरमा गलत प्रचार गर्ने साथीहरुकै विश्वसनियता घट्छ भन्ने म ठान्छु ।’

Comments

Top