सभापतिज्यू विधिले चल्ने कि निधिले ?

deuba and nidhiकाठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई यतिवेला पार्टी भित्रकै असन्तुष्ट नेताहरुले बिधि अनुसार चल्न नचाहेको गम्भिर आरोप लगाउन थालेका छन् । यथार्थमा कांग्रेस सभापतिमा निर्वाचित भएको भोलिपल्ट देखि नैं शेरबहादुर देउवाले पार्टीको विधि, विधान र परम्परालाई मिच्दै आएका छन् । देउवालाई विधि अनुसार चल्न नदिने मूलस्रोतका खानी नैं बिमलेन्द्र निधि हुन् । निधिलाई आवश्यकता भन्दा वढी नैं पावर दिँदा देउवालाई यतिवेला पार्टी सभापति र संसदीय दलको नेता ‘बोकाको मुखमा कुभिण्डो’ भएको छ । १२ औं महाधिवेशनमा बहुमतले सभापतिमा निर्वाचित सुशील कोइराला(स्वर्गीय)लाई उनको कार्यकालभर पार्टीलाई विधि बिधान अनुसार नचलेको आरोप लगाउँदै उनका हरेक निर्णयलाई लत्याउँदै आएका देउवाले हालसम्म पार्टी र सरकारको काममा कुनै पनि कामलाई पूर्णता दिन सकेका छैनन् । देउवाले एक पछि अर्को गर्दै आफु निकटका केन्द्रीय सदस्य र सहयोगीहरुलाई चिढ्याएका मात्र छैनन्, पार्टी भित्रकै असन्तुष्ट धारलाई होच्याउने गरेका छन् । आफुलाई समाजवादी विचारधारको अनुयायि र गान्धीवादी भन्न रुचाउने र पिता महेन्द्रनारायण निधिले आर्जेको शाखमा विरासतको राजनीति गर्न रुचाउने विमलेन्द्रका कारण सभापति देउवाको छविमा कालो पोतिन पनि थालेको छ । पार्टीको बिधान अनुसार दुई महिना भित्र पार्टी पदाधिकारी, केन्द्रीय सदस्यलाई मनोनित गर्नेदेखि लिएर सबै विभाग, केन्द्र र प्रतिष्ठानलाई पूर्णत नदिएर देउवाले निधिको सुझावलाई शिरोधार्य गरिरहेका छन् । निधिले देउवालाई विधि अनुसार चल्न नदिन सबैभन्दा पहिलो व्यवस्थापिका संसदको बैठकमा केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि बोल्ने क्रममा काठमाडौंलाई तराई जोड्ने दू्रतमार्ग (फास्टट्रयाक) भारतीय कम्पनीलाई नै दिनु पर्ने भनेर विवादमा तानिए । आखिर द्रुतमार्ग निर्माण गर्ने बिषय उनै निधि भौतिक पूर्वाधार मन्त्री हुँदा नेपाललाई बर्षेनी अरवौं हानी हुने गरी भारतीय कम्पनीलाई ठेक्का दिन खोजिएको थियो । तर, ओली सरकारले भारतीय कम्पनीलाई सो मार्ग निर्माणवको ठेक्काबाट हात झिक्न लगाएर नेपाल सरकार आफैले बनाउने निर्णय गरेको थियो । दु्रतमार्गको बिषय अदालतको बिचाराधिन बिषय भएको थाहा हुँदा हुँदै निधिले देउवालाई सो बिषय उठाउन लगाएर बिवादमा पारेका थिए । निधिले पार्टीको महाधिवेशनमा दिलोज्यान दिएर सघाएका पूर्वसहमहामन्त्री पूर्णबहादुर खड्काबिरुद्ध कुरा लगाएर खड्कालाई देउवावाट अलग गराई छाडे । उनले तत्कालिन संस्थापन अर्थात कोइराला गुट परित्याग गरेर देउवालाई महाधिवेशनमा सघाउन आएका वरिष्ठ नेता कुलबहादुर गुरुङ र उनको समूहलाई पार्टी र सरकारमा कहीँ पनि ठाउँ दिएनन् । अर्जुननरसिंह केसीलाई उनले रोजको स्थानिय बिकास, भौतिक पूर्वाधार र गृह कुनै पनि मन्त्रालय नदिएर तेजोवध गरेका छन् । त्यस्तै, महाधिवेशनमा देउवालाई सघाउन सबैभन्दा महत्वपूर्ण भूमिका खेलेका र हाल ६ जना सांसद लिएर बसेका प्रभावशाली नेता खुमबहादुर खड्काबिरुद्ध भड्काएका छन् । महाधिवेशनमा देउवालाई जिताउन भूमिका खेल्दा कुनैं सुशासन नचाहिने तर, अहिले देउवासँगको सल्लाह बमोजिम खड्कालाई उपसभापति दिने बेलामा भ्रष्टाचारमा मुछिएको भन्दै बद्नाम गर्दै हिंडेका छन् । देउवालाई यसरी गुरुङ, पूर्णबहादुर, खुमबहादुर र केसीसँग नजिक हुन नदिने निधिले महाधिवेशनमा संस्थापन पक्षको भोट काटेर देउवालाई राजनीतिक वरदान दिएका नेता कृष्णप्रसाद सिटौला बिरुद्ध पनि दिनैपिच्छे कुरा लगाउने गरेका छन् । सरकारमा उपप्रधानमन्त्री पनि आफैलाई र पार्टी उपसभापति पनि आफैलाई चाहिने निधिको नीति देखेर पार्टीका पुराना, इमान्दार र विगतमा देउवालाई सघाएका कर्तव्यनिष्ठ कार्यकर्ताहरु निरास भएका छन् । पछिल्लो दिनमा उनले असन्तुष्ट नेता रामचन्द्र पौडेल पक्षलाई १३ वटा मन्त्रालयमा तीन वटा मात्र मन्त्रालय दिनु पर्छ भनेर देउवालाई कन्भिन्स गरिरहेका छन् । त्यति मात्र होइन, उनले सभापति देउवालाई कमजोर र वदनाम गर्न देउवा पत्नी आरजु राणालाई मन्त्री बनाउनु पर्ने भन्दै फेसवुक क्याम्पेन पनि गरेको कांग्रेसका एक नेताले बताए । देउवाले पार्टी बिधान मिचेर कुनै पनि संगठनात्मक संरचनालाई पूर्णता नदिएको मात्र होइन, संसदीय दललाई पनि पूर्णता दिएका छैनन् । उनले आफु भन्दा बरिष्ठ पार्टीको कार्यवाहक सभापति समेत भएका गोपालमान श्रेष्ठलाई समेत अपमान गर्ने गरेका छन् । आफु अपमानित हुने गरेको र मर्यादालाई पनि ख्याल नगरिएको कुरा श्रेष्ठले नेविसंघ महाधिवेशनको उद्घाटन समारोहमा बोलेका थिए । निधिले भने बमोजिम देउवा चल्दै गए भोलीका दिनमा देउवा असफल हुने निश्चित भएको छ । किनकी निर्वाचित केन्द्रीय कार्य समिति सदस्यको बैठकले उपसभापति, महामन्त्री र सहमहामन्त्री चयन गर्नु पर्ने हुन्छ । देउवाले यसरी नैं निधिको बिधान बिरोधी सल्लाह मान्दै गएमा सभापतिको त्यस्तो प्रस्ताव फेल हुने मात्र होइन अल्पमतमा पर्ने निश्चित छ । किनकी उनको सदावहार विरोधी पक्षको नेतृत्व गर्दै आएका नेता रामचन्द्र पौडेलसँग २८ केन्द्रीय सदस्य र खुमबहादुर खड्कासँग ७ जना केन्द्रीय सदस्यहरु छन्,यूनाइटेड पोस्ट साप्ताहिकबाट ।

Comments

Top