विश्व विजेता जर्मनीको सामना गर्दै फ्रान्स

antoine-griezmann_D4NJMU4WPsकाठमाडौं : यूरोकप २०१६ को अन्तिम क्वाटरफाईनलमा नवप्रवेशी आइसल्याण्डलाई ५–२ गोलअन्तरले पराजित गर्दै आयोजक फ्रान्स सेमिफाईनलमा प्रवेश गरेको छ । सोमबार बिहान पेरिसको स्टेड डे फ्रान्समा भएको खेलमा यस अघिका खेलमा जाईन्ट किलरको छवि बनाएको आईसल्यान्ड फ्रान्स विरूद्वको खेलमा भने निरिह देखिएको थियो । खेल सुरु भएको पहिलो १० मिनेट भित्रै आयोजक फ्रान्सले केही अवसरहरुको श्रृजना गर्दा आईसल्यान्डले पनि २ पटकसम्म फ्रान्सको पोष्टमा आक्रमण गरेको थियो ।

आयोजक फ्रान्सले खेलको १२ औँ मिनेटमा भने अग्रता बनायो । यसपटक उसका स्ट्राइकर ओलिभर जिरुडले डिबक्सको बायाँ भागबाट प्रहार गरेको शक्तिशाली लेफ्ट फुटेट सटले आईसल्यान्डका गोलकिपरलाई कुनै मौकानै नदिईकन जाली चुम्न पुग्दा १–० को अग्रता बनाएको थियो । लगत्तै खेलको १९ औँ मिनेटमा फ्रान्सले अग्रता दोब्बर बनायो । एन्टोनी ग्रिजम्यानले मैदानको दायाँ कर्नरबाट उपलब्ध गराईदिएको पासमा उत्कृष्ट हेड गर्दै उसका युवा मिडफिल्डर पाउलो पोग्बाले गोल गर्दा आयोजकले २–० को अग्रता बनायो । २ गोलले पछि परेपछि पनि आईसल्यान्डले गोलको लागि केही अवसरहरु श्रृजना गरेको थियो। २६ औँ मिनेटमा डिबक्स भित्र पाएको सुन्दर मौकामा कोल्बेन चुक्दा गोलअन्तर घटाउने सुन्दर अवसर गुमाएको थियो । पहिलो हाफ सकिन ३ मिनेट बाँकी रहेको अवस्था फ्रान्सले अग्रता तेब्बर बनायो ।

यसपटक भने डिमिट्र पायट दृश्यमा आए । एन्टोनी ग्रिजम्यानले उपलब्ध गराईदिएको पासमा डिबक्स भन्दा केही बाहिरबाट प्रहार गरेको लेफ्ट फुटेट सटमा गोलमा परिणत भयो भने त्यसको २ मिनेट पछिनै ग्रिजम्यानले वान भर्सेस वानको अवस्थामा गोल गर्दै पहिलो हाफमा फ्रान्सलाई ४–० को अग्रता दिलाए। तर, दोश्रो हाफमा भने आईसल्यान्डले केही सुधारिएको खेल प्रदर्शन गर्‍यो । फलस्वरुप ५६औँ मिनेटमा सिग्थोरसनले गोल पोष्टको नजिकै प्राप्त बललाई सही दिशा दिँदा खेल ४–१ स्थितीमा आयो ।

तर, ५९ औँ मिनेटमा फ्रान्सका ओलिभर जिरुडले टीमका लागि पाँचौ र व्यक्तिगत दोश्रो गोल गर्न पुगे । पायटले डिबक्स भित्र उपलब्ध गराईदिएको बललाई उनले पोष्टको दिशा दिँदा स्कोरलाइन फ्रान्सको पक्षमा ५–१ को स्थितीमा पुग्यो । खेलको अन्त्यतिर आईसल्यान्डले पुनः एक गोल फर्कायो । यसपटक उसका लागि खेलको ८४औँ मिनेटमा बज्रानसनले हेडर मार्फत गोल गरे र टीमलाई ५–२ को स्थितीमा पुर्‍याए । फाईनल प्रवेशका लागि आयोजक फ्रान्सले जुलाई ९ मा विश्व विजेता जर्मनीको सामना गर्नेछ ।

Comments

Top