को–को छानिए बेलायत भ्रमणका लागि क्रिकेटरहरु ?

[caption id="attachment_22804" align="alignleft" width="382"]फाइल तस्विर फाइल तस्विर[/caption]

काठमाडौं : बेलायत भ्रमणका लागि नेपाली क्रिकेट टोलीको घोषणा भएको छ । पारस खड्काको कप्तानीमा घोषित १५ सदस्यीय टोलीमा बिक्रम शोबले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन् । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले तोकेको छनौट समितिले खेलाडीहरु छानेको हो । टोलीमा सुवास खकुरेल र अनिल मण्डलले पुनरागमन गरेका छन् । आन्तरिक विवादमा परेपछि अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले नेपाल क्रिकेट संघ क्यानलाई निलम्बन गरेपछि राष्ट्रिय टोलीले पहिलो पटक अन्तराष्ट्रिय स्तरमा सहभागीता जनाउन लागेको हो । आईसीसीका बेन्केटापथी राजु, नेपाली टोलीका प्रमुख प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काको तीन सदस्यीय टोलीले १५ सदस्यीय टोलीको छनौट गरेको हो । क्यान निलम्बनमा परेपछि आईसीसी आफैंले नेपाली टिम हेरिरहेको छ । घोषित टोलीमा ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, बसन्त रेग्मी, शरद भेषावकर, सोमपाल कामी, सागर पुन, विनोद भण्डारी, करण केसी, सन्दिप लामिछाने, राजु रिजाल र राजेश पुलामी मगर रहेका छन् । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत नेदरल्याण्डसँगको खेलको तयारीमा रहेको नेपाली क्रिकेट टोली आगामी २७ गते बेलायत जाने छ ।नेपाली टोलीले आगामी साउन चार गते बेलायतमा मेरिलोन क्रिकेट क्लब एमसीसीसँग प्रतिस्पर्धा गर्नेछ । नेपाली टोलीले अन्य स्थानीय टोलीसँग समेत मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा गर्नेछ ।

Comments

Top