मेस्सीद्धारा सन्यासको घोषणा

messiकाठमाडौं : अर्जेन्टिनाका क्याप्टेन तथा स्टार खेलाडी लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । ‘मेरा लागि राष्ट्रिय टोलीको यात्रा सकियो, मैले जति सकेँ सबै गरेँ, तर च्याम्पियन बन्न नसकेकोमा निक्कै दुःख लाग्दोरहेछ’ कोपा अमेरिकामा चिलीसँग पराजित भएपछि सुपरस्टार मेस्सीले भावुक हुँदै दिएको अभिव्यक्ति हो यो । सोमबार बिहान अमेरिकाको न्युजर्सीस्थित मेटलाइफ रंगशालामा भएको फाइनल खेलमामा गत बर्षकै संस्करणको नतिजा दोहोरिँदा सबैभन्दा निराश मेस्सी नै भए र हारको पीडाबाट विक्षिप्त बनेर सन्यासको घोषणा गरे ।

सोमबार बिहान मेटलाइफ स्टेडियममा सम्पन्न कोपा अमेरिकाको फाइनलका चिलीसँग पेनाल्टी सुटआउटमा ४–२ गोलले पराजित भएसँगै मेसीले सन्यासको घोषणा गरेका हुन्। खेलमा उनको पेनाल्टी प्रहार आकाशिएको थियो। खेल सकिएपछि टिवाइसी स्पोर्टससँग कुरा गर्दै मसीले आफूले अब अर्जेन्टिनाको राष्ट्रिय टिमबाट नखेल्ने बताएका हुन्। मेसीले सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै भनेका छन्–‘अर्जेन्टिनाको राष्ट्रिय टिमबाट आफूले खेल्ने दिन सकिएको छ। मैले यो निर्णय आफू स्वयंले गरेको र ती ब्यक्तिहरु जो मेरो सन्यासको प्रतिक्षामा छन् उनीहरुका लागि पनि गरेको हुँ।’ उनले धेरै मेहनत गरे पनि केही योगदान नदिइ छाड्न लागेको बताएका छन्। यसै संस्करणको कोपा अमेरिकाको सेमिफाइनलमा अमेरिकाबिरुद्ध गोल गर्दै अर्जेन्टिनी राष्ट्रिय टोलीबाट अहिलेसम्मकै सबैभन्दा धेरै गोल गर्ने कीर्तिमान राखेका मेस्सीले राष्ट्रिय टोलीबाट ११३ क्याप जितेका छन् । उनको अन्तर्राष्ट्रिय गोलसङ्ख्या ५५ छ । यसअघि ग्याब्रियल बाटिस्टुटाको नाममा ५४ गोलको कीर्तिमान थियो । सन् २००५ मा १८ बर्षको उमेरमै हंगेरीबिरुद्ध अन्तर्राष्ट्रिय डेब्यु गरेका मेस्सीले सन् २००६ को विश्वकपमा आफ्नो क्षमता केहि प्रदर्शन गर्ने मौका पाए । त्यसयता उनी निरन्तर अर्जेन्टिनाको राष्ट्रिय टोलीका सदस्य छन् ।messi_1 सन् २०११ यता अर्जेन्टिनी टोलीको नेतृत्वसमेत गर्दै आएका छन् । ५ पटकका फिफा बर्षखेलाडी मेस्सीले व्यवसायिक खेल जीवनमा बार्सिलोनाबाट हासिल गर्न बाँकी केहि छैन । उनले बार्सिलोनाका लागि २८ उपाधि दिलाएका छन् । तर, राष्ट्रिय खेलमा भने चुक्दै आएका छन् । राष्ट्रिय टोलीबाट उनले सन् २००८ को बेइजिङ ओलम्पिकमा स्वर्ण दिलाए । उमेर समूहमा अण्डर २१ विश्वकपको उपाधि दिलाए । तर, उपविजेतामा भने उनले हृयाट्रिकनै गरे । उनको सन्यासबारे अर्जेन्टिनाका केहि टिममेटले भने आश्चर्य व्यक्त गरेका छन् । यद्यपी उनले अर्जेन्टिनी फुटबल संघले आग्रह गरेको खण्डमा निर्णय परिवर्तन गर्न सक्ने संभावना कायमै रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

Comments

Top