प्रविधि विनाको जीवन कल्पना पनि गर्न सकिंदैन

सूचना प्रविधिको विकासले यतिबेला विश्वलाई नै एउटा गाउँमा सिमित बनाइसकेको छ । इन्टरनेटको अहिलेको अवस्थामा हरेक क्रियाकलाप हामी मोवाइलको माध्यमबाट नै घरमै बसेर थाहा पाउन सक्छौं । सूचना प्रविधिविनाको जीवन यतिबेला कल्पना पनि गर्न सकिदैन । दिनप्रतिदिन भइरहेको सूचना प्रविधिको विकाससँगै विकृति र विसंगति पनि बढ्दै गएका छन् । तर, विकृति बढ्यो भन्दैमा त्यसलाई अंगाल्न नै छाड्ने भन्दा पनि समाधानको उपाय खोज्नुपर्ने बताउनु हुन्छ शारदा आइटी सर्भिस प्रालिका कार्यकारी निर्देशक सुरेश तण्डुकार । सूचना प्रविधिको विकास र विस्तार गर्न सके व्यक्ति, परिवार मात्र होइन देशको नै भविश्य उज्ज्वल हुने तण्डुकार बताउनु हुन्छ । शारदा आइटी सर्भिस, त्यसले गर्ने काम, नेपालमा सूचना प्रविधीको विकासलगायत विविध विषयमा कार्यकारी निर्देशक तण्डुकारसँग mynewsnepal.com का लागि कुमार भण्डारीले गरेको कुराकानी : suresh tandukarसुरेश तण्डुकार, कार्यकारी निर्देशक – शारदा आइटी सर्भिस प्रा. लि. ० शारदा आइटी सर्भिसको स्थापना कहिले भएको हो ? – हामीले आइटी क्षेत्रमा केही नयाँ काम गर्नका लागि सन् २०१३ मा शारदा आइटी सर्भिसको स्थापना गरेका हौं । म र मेरा साथी दिपेश नकर्मी मिलेर शारदाको स्थापना गरेका हौं । ० शारदा आइटी सर्भिसको शुरुवात कसरी गर्नुभयो ? – हामीले शारदा आइटी सर्भिसको काम सर्वप्रथम त आफ्नै घरबाट नै शुरु गरेका हौं । आफैसँग भएको ल्यापटप र इन्टरनेटको सुविधालाई नै प्रयोग गरेर काम शुरु गरेका हौं । अहिले सबैले के भन्ने गर्छन् भने व्यापार गर्न वा जुनसुकै काम गर्न पनि लगानी गर्नुपर्छ । रुपैयाँको आवश्यकता पर्छ । तर, म के भन्छु भने लगानी गर्नुचाहिं पर्छ नै तर, त्यसमा रुपैयाँलाई नै प्रमुख मान्दिन । लगानी भनेको रुपैयाँ मात्र हुदैन । आफ्नो परिश्रम र मेहनत पनि हो । कुनैपनि कामप्रति लगाव हुने हो भने आफूसँग भएको स्रोत साधनलाई पनि प्रयोग गरेर काम गर्न सकिन्छ । हामीले पनि आफैसँग भएको स्रोत साधनलाई प्रयोग गरेर शारदा आइटी सर्भिसको स्थापना गरेका हौं । यतिसम्मकी हामीले कार्यालय स्थापना गर्दा आवश्यक पर्ने सामाग्रीहरु घरबाट नै ल्याएका थियौं । म अर्कै आइटी कम्पनीमा काम गर्थे । सोही शिलशिलामा दिपेश नकर्मी सँग भेट भयो । उहाँले काम लिएर आउनु हुन्थ्यो, म घरमै बसेर काम गर्थे । त्यसरी काम गर्दै जाँदा काम पनि धेरै नै आउन थाल्यो र अब हामीले केही नयाँ गर्नुपर्छ भनेर नै शारदा आइटी सर्भिसको स्थापना गरेर काम गर्दै आइरहेका छौं । वर्तमान अवस्थाको कुरा गर्ने हो भने अहिले हामीसँग धेरै जना साथीहरु आवद्ध हुनुहुन्छ । हाम्रो भाग्य नै भन्नुपर्छ हामीले यस्ता कर्मचारीहरु पायौं जो एकदमै सहयोगी र व्यवहारीक हुनुहुन्छ । त्यसैले पनि हामीलाई काम गर्न सहज भएको छ । ० शारदा आइटी सर्भिसले अन्य के–के काम गर्छ ? – हामीले अनलाईनबाट र अनालईनमा हुने सम्पूर्ण कामहरु गर्छौं । हामीले फेसबुक विज्ञापनको काम, वेभसाइटको डिजाइन र डेभलभमेन्ट तथा कुनै पनि कार्यालयलाई आवश्यक पर्ने वेभ एप्लिकेशन निर्माण, ग्राफिक्स डिजाइन, वेभसाइटका लागि एनिमेटेड विज्ञापनहरुको निर्माणलगायतका कामहरु गर्दै आएका छौं । त्यस सँगसँगै अहिले प्रविधिमा देखिएको सुरक्षा समस्याको समाधानका लागि पनि काम गर्दै आएका छौं । अर्को हामीले गर्ने महत्वपूर्ण काम भनेको भर्खरै मात्र हामी गुगल एप्स फर वर्कमा पार्टनर पनि भएका छौं । हामी नेपालको दोस्रो कम्पनी हौं, जसले गुगलसँग सहकार्य गरेर काम गरिरहेको छ । जसले गर्दा हामीले गुगलको आधिकारिक विक्रेता भएर गुगल एप्सको नेपालमा रिसेल गर्न पाउँछौं । ० तपाईहरुले स्वदेश र विदेशका काममध्ये कसलाई बढी प्राथमिकता दिनुहुन्छ ? – मैले अघि पनि भने यस अघि म आफै अन्य आइटी कम्पनीमा काम गर्थै । धेरै विदेशी काम पनि गरे । तर, हामीले नेपाली ग्राहकहरुलाई पनि आइटीसँग वेल फेमिलियर बनाएर काम गर्ने र यो क्षेत्रमा केही नयाँ कुरा ल्याउने मुख्य उद्देश्य लिएर नै शारदा आइटी सर्भिसको स्थापना गरेका हौं । नेपालमा पनि आइटीको विस्तार गर्नुपर्छ भनेर नै हामीले यसको स्थापना गरेका हौं । त्यसैले पनि हामीले बाहिरको कामलाई भन्दा स्वदेशी कामलाई नै बढी प्राथमिकता दिन्छौं । म के भन्छु भने हामीले गर्ने काम र अन्य आइटी कम्पनीले गर्ने काममा धेरै नै फरक छ । ० धेरै फरक छ भन्नुभयो, अन्य आइटी कम्पनी र शारदाले गर्ने काममा कस्तो भिन्नता छ त ? – हुनत नेपालमा धेरै आइटी कम्पनीहरु छन् । धेरैले नेपाली भन्दा पनि विदेशी कामलाई बढी महत्व दिइरहेको हामी सबैलाई थाहा नै छ । त्यसैले पनि उनीहरुले गर्ने काम र हामीले गर्ने काममा धेरै अन्तर छ । पहिले कुरा त हामीले नेपाली कामलाई नै बढी महत्व दिन्छौं । गा्रहकको कार्य सानो र ठूलो भनेर भिन्नता नराखी दूवैलाई उत्तिकै प्राथमिकता दिई काम गर्ने हाम्रो विशेषता हो । हामीले सबै कामलाई उत्तिकै महत्व दिन्छौं र ग्राहकले खोजे भन्दा अझै राम्रो काम गर्ने कोसिश पनि गरिरहेका हुन्छौं । हामीले गा्रहकको कार्यलाई कसरी नयाँ रुप र सोचले गर्न सकिन्छ भनेर उचित सल्लाह र सुझाब पनि दिने गरेका छौ । आइटीको बारेमा सबैले बुझ्न सक्नु भएको छैन । जस्तै : हामीकहाँ एकजना वेभसाइट निर्माण गरिदिनु प-यो भनेर कोही आउनु भयो भने सबैभन्दा पहिले हामीले उहाँलाई आइटीको बारेमा सोध्छौं । उहाँले आईटीलाई कसरी बुझ्नु भएको छ, वेभसाइटको बारेमा कत्तिको ज्ञान छ, उहाँको चाहना के हो, सुरक्षाका लागि के सोच्नु भएको छ ? त्यसपछि मात्र हामी के सल्लाह दिन्छौं भने तपाईले यस्तो वेभसाइट बनाउनु भयो भने यस्ता फाइदाहरु हुन्छन् । सुरक्षाका लागि यो उपाय अपानाउनु पर्छ भनेर सम्पूर्ण विषयमा जानकारी गराइसकेपछि मात्र बल्ल हामी काममा लाग्दछौं । अर्को, कुरा हामीले उहाँहरुलाई आइटीमा पनि लगानी गर्नुस् जसले गर्दा कार्यालयको काम सहज रुपमा गर्न सकिन्छ भनेर आग्रह गर्छौं । जसरी विज्ञापनमा लगानी गरिन्छ, त्यसरी नै आइटीमा पनि लगानी गर्ने हो भने प्रविधिसँग खेल्न सकिन्छ भने काम गर्न पनि सहज हुन्छ । यस्ता कुरामा पनि जानकारी गराएर हामीले काम गर्दै आएका छौं । अहिले के छ भने कोही ग्राहक मलाई यस्तो काम गरिदिनु प¥यो भनेर कही जान्छ भने उसले त्यही मात्र पाउँछ । तर, शारदामा त्यस्तो हुँदैन । उहाँले जे खोज्नु भएको छ, त्यसको शुरुदेखि अन्त्यसम्मको ज्ञान शारदाले प्रदान गर्दछ र भविश्यमा देखिन सक्ने समस्याको बारेमा पनि बुझाउन कोशिस गर्दछ । हामीले सेक्युरिटीलाई नै बढि प्राथमिकता दिएर त्यससँग सम्बन्धित विषयमा सुझाव दिएर काम गर्छौं । ० नेपालमा अहिले सूचना प्रविधिको अवस्था कस्तो छ ? – सूचना प्रविधिको विकासले अहिले विश्व नै गाउँमा सिमित भइसकेको अवस्था छ । हरेक कुरा अहिले हामी इन्टरनेटको माध्यमबाट मोवाइलमा नै पाउन सक्छौं । जुन आइटीको विकासले नै संभव भएको हो । आइटी क्षेत्र भनेको यति राम्रो क्षेत्र हो कि, जुन काम गर्न बाहिर जानु पर्दैन र पैसा कमाउन विदेश नै जानुपर्छ भन्ने पनि छैन । घरमै बसेर पनि काम गर्न सकिन्छ । यस्तो क्षेत्रको विकास र विस्तारले व्यक्ति, परिवार मात्र होइन देशको नै भविश्य उज्ज्वल हुन्छ । यो कुरा, जापान, अमेरिका, चाइनालगायतका देशलाई हेर्ने हो भने पनि प्रमाणित हुन्छ । जहाँ आइटीको विस्तार दिनप्रतिदिन नयाँ–नयाँ कुराबाट हुदै आएको छ । नेपालमा आइटीको कुरा गर्ने हो भने विस्तारै विकास हुदै गएको छ । तर, आवश्यकता अनुसार हुन सकेको मैले पाएको छैन । आइटीमा विश्व बजार यति अगाडि बढिसकेको अवस्थामा नेपाल अझै धेरै पछाडि नै छ । अहिले हरेक कुरा अनलाईनको माध्यमबाट हुन्छन् । तर नेपालमा त्यो अवस्था अझै आएको छैन । आइटी क्षेत्रमा नीति र नियमको पनि खाँचो छ । जस्तैः हामीले सर्भर र डोमेन पर्चेज गर्नु प¥यो भने अझै पनि नेपालमा कानुनी मापदण्ड तयार भएको छैन । अहिले पनि नेपालमा नै बसेर पर्चेज गर्नु प¥यो र काम गर्नुप¥यो भने अन्य विदेशी व्यक्तिको कार्ड प्रयोग गरेर पेमेन्ट गर्नुपर्ने अवस्था छ । त्यसैले माथिल्लो स्तर जसले नीति नियम बनाउने हो, त्यस ठाउँमा आइटी सम्बन्धि ज्ञान भएको व्यक्ति पुग्ने हो भने केही राम्रो हुन्थ्यो कि भन्ने आशा चाहिं हो । ० आइटीको विकास सँगसँगै विकृति पनि बढ्दै गएका छन् नि ? – हो, आइटीको विकास सँगसँगै विकृति पनि बढ्दै गएका छन् । कुनै पनि कुराको निर्माण प्रयोग गर्नका लागि नै गरिन्छ । तर त्यसलाई गलत तरिकाले प्रयोग ग-यो भने त त्यसले दिने परिणाम पनि गलत नै हुन्छ नि । जस्तैः मुसा मार्नका लागि प्रयोग गरिने विष मानिसले खायो भने त मानिस मर्छ नी । त्यसैले जुन कुरा जे का लागि निर्माण भएको हो, त्यसमा नै प्रयोग गर्नुपर्छ । आइटीले गरेर कति कुरा सहज भएका छन् नि होइन र ? जस्तै मोवाइलको नै कुरा गर्नुस् न । जसले हामीलाई कति सहज भएको छ । विकृति बढ्दै गयो भन्दैमा आइटीलाई अँगाल्न भने छाड्नु हुँदैन । त्यस्ता विकृति तथा विसंगतिलाई हटाउने बाटो खोज्दै हामी अघि बढ्नुपर्छ र विकास र प्रविधिलाई जहिले पनि सँगसँगै लिएर जानुपर्छ । अहिले भन्ने हो भने आइटी विनाको जीवन अब हामी कल्पना पनि गर्न सक्दैनौं । अनलाईन सेक्युरेटिलाई बलियो बनाएर अघि बढ्नु नै अहिलेको आवश्यकता हो । ० भर्खर आइटी क्षेत्रमा प्रवेश गरेका र आइटी पढ्न चाहने युवा पिढींलाई के भन्नुहुन्छ ? – आफूलाई जुन कुरामा बढि इच्छा छ, त्यसलाई नै बढि महत्व दिनुपर्छ  । म उहाँहरुलाई के भन्छु भने यदि तपाईहरु आइटी क्षेत्रमा काम गर्न चाहनु हुन्छ भने प्रत्येक दिन आइटीको बारेमा अपडेट चाहिं भइरहनु पर्दछ । नयाँ प्रविधिसँग फेमिलियर हुनै पर्दछ । यदि त्यस्तो हुन सक्नु भएन भने तपाईसँग भएको एक्सपेरियन्स ले कुनै पनि काम गर्दैन । किनकी आइटीमा प्रत्येक दिन केही न केही नयाँ कुरा भइरहेका हुन्छन् नै । अहिले जुनसुकै कुरा पनि इन्टरनेटको माध्यमबाट पाउन सकिन्छ । त्यसैले आफू जान्न इच्छुक चाहिं हुनुपर्छ । आइटी भनेको अरुले सिकाउने कुरा होइन, आफैले जान्न खोज्ने कुरा हो । पहिले नै पैसालाई प्राथमिकता दिने भन्दा पनि ज्ञान कसरी बढाउने भन्ने कुरा बढि महत्व हुन्छ । यो क्षेत्रमा कमाइ राम्रो हुन्छ, तपाईहरुले सोचेभन्दा बढी नै आम्दानी हुन्छ । तर, मेहनत चाहिं अन्य क्षेत्रमा भन्दा बढी नै गर्नुपर्छ । ० यस विषयमा केही भन्नु छ कि ? – सूचना प्रविधिमा थोरै मात्रको दक्षता हासिल गर्दा कुनै पनि कार्यालयको काम धेरै सहज र सरल तरिकाले गर्न सकिन्छ । साथसाथै समय र मिहिनेत पनि कम खर्चिने हुनाले, हामी सबैलाई सूचना प्रविधिमा लगानी गर्न प्रोत्साहन गर्दछौ ।

Comments

Top