६ प्रदेशको विरोधमा ठोरीवासी

महेश गौतम, काठमाडौँः प्रमुख चार दलले शनिवार राति ६ प्रदेशको सीमाड्नमा गरेको सहमतिको पर्सा जिल्लाको ठोरीवासीले विरोध गरेको छ । ठोरीलाई चितवनसँगै पर्ने प्रदेशमा राख्न यसअघि नै दलका नेताहरूसमक्ष माग राखेको भएपनि त्यसको बेवास्ता गरी प्रदेश नं २ मा राख्ने सहमति गरेको भन्दै सो सहमतिको विरोध गर्दै ठोरीवासी विरोध प्रदर्शनमा उत्रिएका छन् । ठोरीका अगुवाहरूको सक्रियतामा सङ्घर्ष समितिसमेत गठन गरी ठोरीवासी सङ्घर्षमा उत्रिएका छन् ।

ठोरीका बासिन्दाले संस्कृति, भेषभूषा, जात, भूगोल र भाषाका आधारमा चितवनसँग मिल्ने भएकाले ठोरी, निर्मलबस्ती र सुवर्णपुर गाविसलाई छुट्याएर चितवनमा गाभ्दै प्रदेश नं ३ मा राख्न माग गरेका छन् ।thori

ठोरी र निर्मलबस्ती गाविस २०३४ सालभन्दा पहिले चितवनमैं रहेको र अहिलेपनि चितवनमैं गाभ्दा उचित हुने भन्दै तीन गाविसलाई चितवनमा गाभ्दा भोलिका दिनमा ठोरी मुलुककै एक प्रमुख आर्थिक नाकाको रूपमा स्थापित हुने सङ्घर्ष समितिका संयोजक प्रकाश खनालले बताए ।

राज्य पुनर्संरचना गर्दा नवलपरासी, बागलुङलगायतका जिल्ला टुक्रयाएको नजिर देखाउँदै पर्साको ठोरीलगायतका तीन गाविसलाई पनि टुक्रयाएर प्रदेश नं। ३ मा राख्न उनीहरूले माग गरेका छन् ।

सङ्घर्ष समितिमार्फत् २६ गते म·लवार पर्सा र चितवनका प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने सङ्घर्ष समितिका संयोजक खनालले बताए । साथै आन्दोलनलाई सार्थक बनाउनका लागि २८ गते बिहीवार प्रमुख चार दलका शीर्ष नेताहरूलाई पनि ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको उनले बताए ।

चार दलले गरेको सहमति अनुसार प्रस्तावित ६ प्रदेशमा सप्तरीदेखि पर्सासम्मको आठ जिल्लालाई समेटेर प्रदेश नं। २ बनाइने उल्लेख छ ।

Comments

Top