विदेशी लगानी भित्र्याउन सरकारको ध्यान पुगेको छैन

sunil kcनेपाल र भारतबीचको खुल्ला सिमाना दुई देशको व्यापार विस्तारका लागि ठूलो अवसर भएको तथा चीन र भारतको बीचमा नेपाल रहेकाले पनि नेपाललाई एशियाकै आर्थिक हबका रुपमा विस्तार गर्न सकिने बताउनुहुन्छ एशियन इन्स्टिच्यूट अफ डिप्लोमेसी एण्ड इन्टरनेशनल अफेयर्स (एआइडीआइए) का सिईओ तथा फाउण्डर सुनिल केसी । यदि नेपाल सरकारले पहल गर्ने हो भने जलविद्युत, पर्यटन र कृषि क्षेत्रमा विदेशी लगानी अझै बढि भित्र्याउन सकिने उहाँको भनाई छ । नेपाल जस्तो विकाशोन्मुख देशमा ‘थिंक ट्यांक’को आवश्यकता महसुस गरी एआइडीआइएको स्थापना गर्नुभएका केसीसँग विदेशी लगानी, नेपालको नीति, आर्थिक अवस्थालगायतका विषयमा mynewsnepal.com का लागि सुशील न्यौपानेले गरेको कुराकानीः सुनिल केसी, सिईओ÷फाउण्डर – एशियन इन्स्टिच्यूट अफ डिप्लोमेसी एण्ड इन्टरनेशनल अफेयर्स (एआइडीआइए) ० एआइडीआइए कस्तो संस्था हो ? – एआइडीआइए एउटा ‘थिंक ट्यांक’ संस्था हो । साउथ एशियामा विकासको क्षेत्रमा बढी भन्दा बढी एनजीओ तथा आइएनजीओको मोनोपोली सिस्टम छ । नेपाल जस्तो विकाशोन्मुख देशमा पनि यसको आवश्यकता महसुस गरी हामीले एआइडीआइएको स्थापना गरेका हौं । यो एनजीओ तथा आइएनजीओ केही पनि होइन । एआइडीआइए नै पहिलो नेपाली थिंक ट्यांक हो । ० एआइडीआइएको मुख्य काम के हो ? – एआइडीआइएले गर्ने मुख्य काम भनेको दुई देशको बीचमा विजनेश टु विजनेश, सरकार टु सरकार र राजनीतिक पार्टी टु राजनीतिक पार्टीलाई जोड्नु हो । हामी जीटुजी र विटुवि मा आधारित भएर काम गर्छौं । हामीले दक्षिण एयिशयाका देशहरुमा काम गर्दै आएका छौं । हामीले विषेशगरी टे«ड डिप्लोमेसीलाई प्राथमिकता दिन्छौं । आर्थिक डिप्लोमेसीलाई देशको पहिलो प्राथमिकतामा राखिनु पर्ने हो, तर त्यो हुन सकेको छैन । हाम्रो अभियान नेपाल सरकारले आर्थिक डिप्लोमेसीलाई आफ्नो फ्रन्ट पोलिसीको सेन्टर प्वाइन्टमा राखेर त्यसलाई प्रवद्र्धन गर्नुपर्छ भन्ने नै हो । यसो गरेमा देशको आर्थिक अवस्था सुध्रदै जानेमा दुइमत छैन । हामीले जुन देशले नेपालको विकासमा सहभागिता जनाएका छैनन् उनीहरुलाई नेपाल सरकारसँग भेटाउने र आयात तथा निर्यात के गर्न सकिन्छ त्यसको लागि पहल गर्दै आएका छौं । अर्को भनेको हामीले राम्रो व्यक्तिलाई महावाणिज्य दूत बनाउनका लागि पनि सिफारीस गर्ने काम गर्दै आएका छौं । यतिमात्र होइन नेपाल तथा विदेशका व्यापारीहरुलाई भेटाएर द्विपक्षिय सम्बन्ध सुधारका काम पनि गर्दै आएका छौं । ० एआइडीआइएले विदेशी राष्ट्रसँग कसरी नेपाललाई समन्वय गराउँछ ? – हामीले प्रत्येक वर्ष नेपालको काठमाडौंमा, भारतको दिल्लीमा, अफगानिस्तानको काबुलमा, बंगलादेशको ढाकामा, यूरोपको स्टोनियामा, जर्मनी, वेल्जियमलगायतका देशहरुमा विजनेश फोरम सञ्चालन गर्दै आएका छौं । त्यस फोरममा हामीले त्यहाँको सरकार र थिंक ट्यांकसँग एसोसिएट भएर काम गर्छौं । ० अब कुनै नयाँ काम गर्दै हुनुहुन्छ कि ? – २०१६ को जनवरीमा हामीले इन्टरनेशनल अफेयर्स र डिप्लोमेसीमा सर्ट ट्रम कोर्षको लञ्च गर्दैछौं । ० एआइडीआइएको मुख्य काम लगानी भित्र्याउनु नै हो त ? – थिंक ट्यांकको काम भनेको पोलिसी बनाउने होइन । हाम्रो काम भनेको पोलिसी मेकिङमा सपोर्ट गर्नु नै हो । जो पोलिसी मेकर छन् वा राजनीतिक दल तथा सरकारमा रहेका व्यक्तिहरुलाई कन्भिन्स गर्ने काम थिंक ट्यांकले गर्छ । जस्तै, नेपालको माओवादी र भारतको विजेपी पार्टीको सम्बन्ध राम्रो छैन भने ती दुईलाई मिलाउने काम थिंक ट्यांकले गर्छ । ताकि त्यसले दुई देशबीचको सम्बन्ध सुधार होस् । ० तपार्इंहरुले बढी कुन देशलाई प्राथमिकतामा राखेर काम गर्दै आउनु भएको छ ? – हामीले झण्डै ७० प्रतिशत काम भारतसँग मिलेर गर्दै आएका छौं । र, बाँकी ३० प्रतिशत काम अन्य देशसँगको सहकार्यमा गर्दै आएका छौं । हामीले भारतसँग बढि काम गर्नुको कारण खुल्ला सिमा र भारतसँग निर्भर हुनु नै हो । यहाँ हामी सबैले बुझ्नु पर्ने कुरा के हो भने अरेवियन देशबाट बढी रेमिट्यान्स नेपाल भित्रन्छ भनिन्छ । तर, त्यो सत्यता हो जस्तो मलाई लाग्दैन । किनकी नेपालमा सबैभन्दा बढी रेमिट्यान्स त भारतबाट भित्रन्छ । यसको कुनै लेखाजोखा नै छैन । सरकारसँग यसको कुनै तथ्यांक नै छैन । अन्तर्राष्ट्रिय लगानीको कुरा गर्नुहुन्छ भने पनि सबैभन्दा बढी लगानी भारतबाट नै भित्रिएको छ । ० नेपाल र भातरबीच खुल्ला सिमा हुँदा जोखिम पनि बढेको छ नि होइन ? – जहाँ पनि र जहिले पनि अबसर र चुनौती सँगै आएका हुन्छन् । खुला सिमाकै कारण नेपाल र भारतको सम्बन्ध एकदमै राम्रो छ जस्तो मलाई लाग्छ । कहीं कतै विवाद नभएका होइनन् तर त्यो ठूलो समस्या हो जस्तो लाग्दैन । त्यस्ता समस्या भनेको कुटनीतिक पहलबाट मिलाउनु पर्ने हो र मिलाउनु पर्छ । समस्या के हो भने नेपालमा राजनीतिक दलका नेताहरु भारतका नेताहरुसँग सम्बन्धित विषयमा कुरा गर्न डराउनु नै हो । समस्या परेको विषयमा खुलेर कुरा गर्नुपर्छ र चाँडै मिलाउन सक्नुपर्छ । ० सोचेअनुरुप विदेशी लगानी नेपाल भित्रन नसक्नुको कारण के हो ? – जब नेपाल सरकारले आन्तरिक व्यापारलाई विस्तार गर्न सक्छ, तब मात्र विदेशी लगानी देशमा भित्रन्छ । नेपालकै व्यापारीहरुले लगानी गर्ने ठाउँ र वातावरण पाएका छैनन् । उनीहरुका लागि उचित स्थान र वातावरण सृजना गर्ने हो भने त्यो देखेर विदेशीहरु पनि त आइहाल्छन् नि । नेपालमा लगानी गर्ने क्षेत्र भनेको तीनवटा मात्र छन् । हाइड्रो, पर्यटन र कृषि । सरकारले लगानीमैत्री वातावरण बनाउन सक्ने हो भने विदेशी लगानीकर्ताहरु नेपाल आउन आतुर छन् र चाँडै आउँछन् । ० विदेशी लगानी नेपाल भित्र्याउन एआइडीआइएले कस्तो पहल गरेको छ त ? – यो भन्दा अघि पनि हामीले विभिन्न देशका सम्बन्धित निकायसँग वार्ता गराएकै हौं । तर सबैभन्दा ठूलो समस्या नेपाल सरकारमा नै छ । हाम्रो देशमा त के छ भने कसैले लगानी गर्न आउँछु भन्यो भने उसँग पहिले नै मलाई यति प्रतिशत चाहिन्छ भनेर बार्गेनिङ शुरु हुन्छ । अनि उसले कहाँ काम गर्छ, उ त भागिहाल्छ नि । नेपालको व्यूरोक्रेसी नै एकदमै कमजोर छ । नेपालमा विभिन्न देशका लागनीकर्ताहरु लगानी गर्न चाहन्छन्, त्यो हामीले बुझेका छौं । हाम्रो काम भनेको पहल गर्ने मात्रै हो र पहल गरिरहेका छौं । तर नेपाल सरकारले त्यस्ता लगानीकर्ताहरुलाई वास्ता नै गर्दैन । ० तर विदेशी लगानीकर्ताहरुले पनि विभिन्न शर्त राखेर लगानी गर्छन नि ? जस्तै हाइड्रोकै कुरा गर्ने हो भने उनीहरुकै कन्सलटेन्ट, उनीहरुकै सामान, भेरियसन अर्डरबाट थप भुक्तानी पाउनुपर्ने जस्ता शर्त राख्दा अप्ठेरो परेको त होइन ? – कसैले लगानी गर्छ भने उसले पनि त त्यहाँबाट केही फाइदा लिन खोज्छ । यो त हामी सबैले बुझेकै कुरा हो नि । यसलाई म खासै ठूलो समस्या देख्दिन । यो भनेको ठेकेदार कम्पनी र नेपाल सरकारबीच हुने सम्झौता हो । सम्झौतामा जे उल्लेख भएको हुन्छ, सोही अनुसार नै काम हुन्छ । ० अन्तर्राष्ट्रिय स्तरमा नेपालको व्यापारको आकार कस्तो छ ? – अहिलेको कुरा गर्नुहुन्छ भने हामीले बढी भन्दा बढी आयात गरिरहेका छौं । निर्यात त भएकै छैन भन्दा पनि फरक नपर्ला । केही समय अघि नेपाली कार्पेट तथा पस्मिनाहरुको निर्यात हुँदै आएको थियो, तर अहिले त्यसको अनुपात एकदमै घटेको अवस्था छ । नेपालका मन्त्रीहरु के सोच्छन् भने हामी राजनीति गर्ने व्यक्ति हौं । तर राजनीति गर्ने व्यक्तिको काम भनेको विजनेश लिने र दिने पनि हो । यो कुरा नै बुझ्न नसक्दा समस्या देखिएको हो । ० एआइडीआइएले अब के गर्दैछ त ? – हामीले अब छिट्टै नै बंगलादेशमा एउटा विग विजनेश इभेन्टको आयोजना गर्दैछौं । त्यसको उद्देश्य भनेको बंगलादेशका लागनीकर्तालाई नेपाल भित्र्याउनु नै हो । सार्कले राम्रोसँग काम गर्न नसकेपछि अहिले बिबिआईएन (बंगलादेश, भुटान, भारत र नेपाल) कन्सेप्ट अगाडि ल्याइएको छ । बंगलादेशले अहिले नेपाल सरकारलाई हामी सामुन्द्रिक बाटो उपलब्ध गराइदिन्छौं तिमीहरु व्यापार गर र केही प्रतिशत हामीलाई पनि देउ भनिरहेको छ । नेपालको लागि यो एउटा अवसर हो, तर नेपाल सरकार कानमा तेल हालेर बसेको छ । यसमा कुनै पनि प्रतिक्रिया नै दिंदैन । हामी बंगलादेशको बाटो भएर साउथ इष्ट एसीयासम्म पुग्न सक्छौ व्यापारका लागि । तर खै नेपाल सरकारले बुझेको ? यसका लागि पनि हामीले पहल गर्दैछौं । ० नेपालमा चाइनाको व्यापारचाहिं कस्तो पाउनु भएको छ ? – चाइनाले व्यापार नगरेको देश पक्कै पनि छैन होला । चाइनाले फ्रान्सको एअरपोर्ट पनि बनाएको छ र इथोपियाको एअरपोर्ट पनि बनाएकै छ । चाइनामा उत्पादन भएका सामान प्राय प्रत्येक देशमा पुगेकै छन् । चाइनाले पछिल्लो समयमा नेपालको हाइड्रोमा लगानी गर्न खोजिरहेको छ । उसको चाहना भनेको आफूले उत्पादन गरेको विद्युत महंगो मूल्यमा भारत तथा पाकिस्तानलाई बेच्नु नै हो । ० नेपालमा विदेशी लगानी थप भित्र्याउन के–के कुरामा सुधार गर्नुपर्ला ? – नेपालमा जबसम्म राजनीतिक अस्थिरता कायम रहन्छ, तबसम्म नेपालमा लगानी भित्रन एकदमै गाह्रो छ । कि त नेपाल सरकारले ‘इकोनोमिक जोन’ बनाइदिनु पर्छ । ताकि उनीहरुको जति पनि क्षति हुन्छ, त्यो नेपाल सरकारले पूर्ती गरिदिनु प¥यो । मैले भन्न खोजेको के हो भने लगानीको ग्यारेन्टी नेपाल सरकारले लिन सक्नु प-यो । यस्तो अवस्था भयो भने मात्र नेपालमा लगानी भित्रन्छ जस्तो मैले बुझेको छु । अर्को कुरा, नेपाल सरकारले जति पनि देशमा राजदूतहरुको नियुक्ति गरेको छ, उनीहरुले पनि नेपालमा लगानी भित्र्याउन खासै पहल गरेका छन् जस्तो मैले पाएको छैन । उनीहरुलाई पनि नेपाल सरकारले काम लगाउन सक्नुपर्छ । जस्तै नेपालको पशुपतिनाथमा सबैभन्दा बढी भक्तजन भरतबाट आउने गर्छन् । भारतका २० प्रतिशत पर्यटक नेपाल आउँछन् । यदि भारतको पर्यटकीय स्थल गोवा र नेपालको पर्यटकीय स्थल पोखरालाई जोड्ने हो भने जो पर्यटक गोवा पुगेको छ, उ पोखरा पुग्छ नि होइन ! यस्तो वातावरण त सरकारले निर्माण गर्नु प¥यो नि । ० पछिल्लो समयमा भारतसँग भएको विप्पा सम्झौताको विषयमा विवाद र समर्थन दुबै भए, तपाईले यसलाई कसरी लिनु भएको छ ? – विप्पा सम्झौता हुनु भनेको लगानीमैत्री वातावरण हुनु नै भएको मैले बुझेको छु । यसलाई हामीले सकारात्मक रुपमा लिनुपर्छ । यो सम्झौतापछि भारतबाट धेरै लगानी भित्रिएको यथार्थलाई हामीले बिर्सनु हुँदैन ।

Comments

Top