नेपालमा सीएको भविश्य उज्ज्वल छ

balchandraनेपालमा चाटर्ड एकाउन्टटेन्ट(सिए) अध्ययन गराउने संस्थाहरुको इतिहास हेर्ने हो भने दुई दशक पनि पूरा भएको छैन । नेपालमा सीए अध्ययन गर्ने ठाउँ नपाएर भारतबाट सीए अध्ययन गरेर आएकाहरुको संख्या धेरै नै छ । तर, पछिल्लो समयमा भने नेपालमा पनि सीए अध्ययन गराउने संस्थाहरुको कमी छैन । सीए अध्ययन गराउने संस्थाहरुमध्ये सबैभन्दा पुरानो संस्था हो, सीएआई इन्टरनेशलन । अझै पनि भारतमा सीए अध्ययन गर्न जाने विद्यार्थीको संख्यामा कमी आउन सकेको छैन । तर अहिले भने नेपालमै सीए अध्ययन गर्ने विद्यार्थीहरुको संख्या दिनप्रतिदिन बढिरहेको दावी गर्नुहुन्छ सीएआई इन्टरनेशलनका प्रमुख बालचन्द्र प्रवाह । नेपालमा सीए अध्ययन, यसको इतिहास, सरकारले यसप्रति हेर्ने दृष्टिकोण र सिएको भविश्यलगायतका विविध विषयमा सीएआई इन्टरनेशलनका प्रमुख बालचन्द्र प्रवाहसँग यूनाइटेड पोष्टका लागि कुमार भण्डारीले गरेको कुराकानी : बालचन्द्र प्रवाह, प्रमुख–सीएआई इन्टरनेशलन ० अहिले चाटर्ड एकाउन्टटेन्ट(सिए) अध्ययन गर्ने विद्यार्थीको संख्या कति छ ? – विगत चार÷पाँच वर्षदेखिको तथ्यांक हेर्ने हो भने विद्यार्थीको संख्या झण्डै उस्तै छ । घटेको पनि छैन र उल्लेख्य रुपमा बृद्धि भएको अवस्था पनि छैन । ० नेपालमा भन्दा भारतमा गएर सीए अध्ययन गर्नेको संख्या बढि छ नि ? – हो, यो कुरा साँचो हो । तर विस्तारै नेपाली बोर्डमा पढ्ने विद्यार्थीको संख्या पनि दिन प्रतिदित बढ्दै गएको छ । भारतमा पढेका विद्यार्थीहरुले नेपालमा आएर एक वर्ष इन्टर्न गर्नु पर्ने र परिक्षा नीतिका कारणले गर्दा नेपालमै पढ्ने विद्यार्थीहरुको संख्या बढ्दै गएको हो । ० भारतीय वोर्ड चाहिं विश्वमा नै मान्यता प्राप्त भएर विद्यार्थीहरु उतै लागेका हुन त ? – विश्वव्यापी रुपमा पक्कै पनि भारतीय बोर्ड नै अगाडि छ । उनीहरुको इतिहासको कुरा गर्ने हो भने पनि झण्डै छ दशक नाघिसकेको छ भने नेपालले एक दशकमात्र पूरा गरेको इतिहास छ । त्यसैले पनि भारतीय बोर्ड नै अगाडि छ । तर अब केही समयमा नै नेपाललाई पनि यूकेले सम्बन्धन दिने प्रक्रिया अगाडि बढेको छ । सम्बन्धन दिएको खण्डमा दुबै बोर्ड उस्तै हुन्छन् । ० सरकारले यो क्षेत्रलाई हेर्ने दृष्टिकोण कस्तो पाउनु भएको छ ? – वास्तवमा भन्ने हो भने सरकारलाई त सीएको बारेमा थाहा नै छैन जस्तो लाग्छ मलाई । त्यहाँ देश बनाउने व्यक्ति नै छैनन् कि जस्तो पनि लाग्छ । यसमा चाटर्ड एकाउन्टेन्टहरुको छाता संस्था आइक्यानको पनि पहल नपुगेको हुन सक्छ । ० सीए अध्ययनका लागि धेरै विद्यार्थीहरु विदेशिएका छन् नि, उनीहरुलाई नेपालमै अध्ययन गराउन चाहिं के गर्नुपर्ला ? – हो, धेरै विद्यार्थीहरु सीए अध्ययनका लागि विशेषगरी भारत नै गएका छन् । गुणस्तर बढाउने हो भने उनीहरु आफै नेपालमा अध्ययन गर्न इच्छुक भइहाल्छन् नि । यसमा आइक्यान र शिक्षा मन्त्रालयले पहल गर्न सक्नुपर्छ । ० सीए अध्ययन एकदमै गाह्रो छ भनिन्छ नि ? – हो, एकदमै गाह्रो छ । ० यति गाह्रो हुनुको कारण के हो ? – अरु विषजस्तो ३५ प्रतिशत आउँदैमा यसमा पास भइदैन । ५० प्रतिशत भन्दा बढी अंक ल्याउनै पर्छ । धरातलीय अध्ययन गरेर पास गर्न सकिदैन । विषयबस्तुको गहिराईसम्म नै पुग्नुपर्छ । त्यसैले पनि गाह्रँे छ । जसरी डाक्टरले नजान्दा विरामीको मृत्यु हुन्छ, त्यसरी नै सीए पनि दक्ष भएन भने एउटा कार्यालयमात्र होइन देश नै डुब्न सक्छ । ० पछिल्लो समयमा भारतमा सीए अध्ययन गरेका विद्यार्थीहरु आन्दोलित पनि भए नि ? – हो, एक वर्षे इन्टर्न गर्नुपर्ने प्रावधान राख्दा विद्यार्थीहरु आन्दोलित भएका हुन् । ० के त्यो निर्णय सहि थियो ? – भारतमा अध्ययन गरेका विद्यार्थीहरुले ‘डमी’ गरे भन्ने विषय बाहिर आएकाले यस्तो निर्णय गरिएको थियो । डमी भन्नाले त्यहाँको सीएलाई घुस खुवाउने र काम गरेको छ भनेर उसले भनिदिने जस्ता कुरा बाहिर आएपछि एक वर्षे इन्टर्नको प्रावधान ल्याइएको हो । तर यसले राम्रँेसँग अध्ययन गरेका विद्यार्थीहरुलाई त अप्ठेरो प¥यो । यसमा नियमन गर्ने निकायले अध्ययन गरेर मात्र त्यस्तो निर्णय गर्नुपर्दथ्यो । सजाय दिनेलाई दिनै पर्छ तर राम्रँे गर्नेले त सजाय पाउनु भएन नि । ० सीएआईको इतिहास कस्तो छ ? – नेपालमा पनि सीए अध्ययन गर्न सकिन्छ भनेर स्थापना भएको नेपालकै पहिलो संस्था हो सीएआई । सन् १९९६ मा हामीले यसको स्थापना गरेका हौं । त्यसभन्दा अघि नेपाली विद्यार्थीहरुले नेपालमा सीए अध्ययन गर्न पाउँदैन थिए । उनीहरु सीए अध्ययनका लागि भारत वा अन्य कुनै देश नै जानु पर्ने हुन्थ्यो । चार जना व्यक्तिबाट शुरु भएको यस संस्थामा आवद्ध साथीहरुले नै अहिले अन्य संस्थाहरु स्थापना गरेर काम गरिरहनु भएको छ । काठमाडौंमा जतिपनि सीए अध्ययन गराउने संस्थाहरु छन् अधिकांश संस्थाका सञ्चालकहरु पहिले सीएआईमा नै आवद्ध हुनुहुन्थ्यो । त्यसैले सीएआईलाई कसैले पनि विर्सन सक्दैनन् । ० सीए अध्ययन गराउने अन्य संस्था र सीएआईमा के फरक छ ? – सीएआईको अन्य संस्थाको भन्दा लामो इतिहास र अनुभव छ । त्यसैले गर्दा जो विद्यार्थी सीए अध्ययन गर्छु र भविश्य बनाउँछु भन्ने सोचेर अघि बढेको हुन्छ ऊ खोज्दै खोज्दै हामीकहाँ नै आइपुग्छ । तपाईले सीएको रिजल्ट पनि हेर्न सक्नुहुन्छ । जतिपनि सीए भएका छन् त्यसको झण्डै ७० प्रतिशत सीएआईका नै हुन्छन् । सीएआईले बजारमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ । हामीले सोही अनुसारको गुणस्तर पनि प्रदान गरिरहेका छौं । ० सीए अध्ययन गर्ने विद्यार्थीहरु सीएआई नै आउपनु पर्ने कारण के हो ? – हाम्रो गुणस्तरिय सेवा र सुविधा अनि इतिहास पनि हो । हामीले विज्ञापन गरेर विद्यार्थी तान्ने भन्दा पनि सन्तुष्ट भएका विद्यार्थीहरुबाट नै विज्ञापन भएर आएका विद्यार्थीहरु हामीसँग धेरै छन् । ० अहिलेसम्म आइपुग्दा सीएआईबाट कति जना सीए उत्पादन भए त ? – हामीकहाँबाट झण्डै ७ सय जना सीए उत्पादन भइसकेका छन् । ० सीए अध्यनका लागि सीएआई आएका विद्यार्थीहरुलाई सबैभन्दा पहिले कस्तो सुझाव र सल्लाह प्रदान गर्नुहुन्छ ? – मेरो व्यक्तिगत कुरा गर्नुहुन्छ भने म सबैभन्दा पहिले त विद्यार्थीलाई तर्साउँछु नै । विद्यार्थी तर्साएर तर्सने खालको छ कि छैन, उसले सीए अध्ययन गर्न सक्छ कि सक्दैन सबै विषयमा जानकारी लिइसकेपछि मात्र हामी उसलाई भर्ना गर्छौं । हामीले सीएआईको स्थापना नाफा कमाउन मात्र गरेका होइनौं । त्यसैले पनि जो व्यक्ति सीए अध्ययन गरेरै छाड्छु भनी अठोट बोकेर अघि बढेको हुन्छ उसलाई मात्र हामी पढाउँछौं । ० सीए अध्ययन गर्न कति खर्च लाग्छ ? – सीए अध्यनका लागि सबै खर्च हिसा गर्ने हो भने दुई लाख रुपैयाँले पुग्छ । ० प्रसंग बदलौं, एसीसीए र सीएमा के फरक छ ? – एसीसीए प्रोफेसनल होइन । भन्न त प्रोफेसनल नै भनिन्छ तर होइन । एसीसीए पास गरेपछि पुनः तीन वर्ष आर्टिकल गर्नुपर्छ । बल्लमात्र उसले लाइसन्स पाउँछ भने सीए अध्ययन गरेकाहरुले पास गर्नासाथ लाइसेन्स पाउँछन् । ० तरपनि एसीसीए अध्ययन गर्ने विद्यार्थीको संख्या बढी छ नि ? – पहिलो कुरा एसीसीएमा बढी विद्यार्थी हुनुको कारण भनेको विदेश जाने लहर नै हो । जो विद्यार्थी विदेश जान चाहन्छ उ एसीसीए अध्ययन गर्छ । नेपालमा एसीसीए अध्ययन गरेकाहरुलाई अडिट गर्ने लाइसन्स दिइएको छैन । पास गर्न सजिलो र विदेश गएर जागिर खान सजिलो हुने भएकाले नै एसीसीए अध्ययन गर्ने विद्यार्थीहरु बढी भएका हुन् । ० नेपालमा उत्पादित सबै सीएले रोजगारी पाएका छन् त ? – शत प्रतिशतले रोजगारी पाएको अवस्था छ । माग धेरै छ, राम्रा व्यक्ति मात्र पास भएका हुन्छन् । त्यसैले पनि अहिलेसम्म सीए भएपछि रोजगारी ग्यारेन्टी जस्तै छ । ० नेपालमा अहिले कति जना सीए छन् त ? – अहिले सीएको संख्या ११ सय पुगेको छ । ० कस्ता विद्यार्थीले सीए अध्ययन गर्न सक्छन् ? – विज्ञान तथा व्यवस्थापन विषय लिएर १२ कक्षा पास गरेका विद्यार्थीहरुले सीए अध्ययन गर्न पाउँछन् । बजारमा हेर्ने हो भने दुई तिहाई सीए विज्ञान विषय पढेका नै छन् । ० सीए अध्ययन गर्न खोजिरहेका विद्यार्थीहरुलाई के भन्नुहुन्छ ? – यदि तपाईहरुलाई आफूप्रति आत्मविश्वास छ, म सीए अध्ययन गर्न सक्छु, आपतमा आत्तिन्न र सुखमा मात्तिन्न भन्ने सोच छ भने मात्रै सीए अध्ययन गर्न आउनुहोस् ।

Comments

Top