अस्वस्थ प्रतिस्पर्धा नै सबैभन्दा ठूलो चुनौति

10411394_663178883756242_5629356723322529569_nनेपालको खेल क्षेत्रमा बढी राजनीति हावी भएका कारण स्तर घट्दै गएको नेपाल बंसिङ संघका महासचिव दिपक गुरुङ बताउनु हुन्छ । प्राइम एजुकेशन इन्फरमेशन सेन्टरका प्रवन्ध निर्देशक समेत रहनु भएका गुरुङ कन्सलटेन्सी क्षेत्रम पनि अस्वस्थ प्रतिस्पर्धा हुँदा क्षेत्र ने धराशयी बन्न पुगेको दावी गर्नुहुन्छ । गुरुङ एकातिर बक्सिङ खेलको स्तर उकास्न क्रियाशिल हुनुहुन्छ भने सँगसँगै कन्सलटेन्सी व्यवसायलाई पनि अगाडि बढाउँदै आउनु भएको छ । नेपालको समग्र खेल क्षेत्र तथा कन्सलटेन्सी व्यवसायका बारेमा mynewsnepal.com लागि कुमार भण्डारीले गुरुङसँग गरेको कुराकानी : दिपक गुरुङ, महासचिव– नेपाल बंसिङ संघ तथा प्रवन्ध निर्देशक– प्राइम एजुकेशन इन्फरमेशन सेन्टर ० नेपालमा खेलकुदको अवस्था कस्तो छ ? – वर्तमान अवस्थामा नेपालको खेल क्षेत्रको कुरा गर्ने हो भने एकदमै नाजुक अवस्था छ भन्दा फरक नपर्ला । हामीले विर्सनै नहुने खेलाडी शरदचन्द्र शाहको पालामा नेपालले एशिएन गेम, साफ र ओलम्पिकमा विभिन्न मेडल पाएको थियो । त्यतिबेला र अहिलेको समयलाई तुलना गर्ने हो भने खेलकुदको स्तर धेरै नै घटेको छ ।

० स्तर घट्नुको कारण के हो त ? – खेलकुदको स्तर घट्नुमा दुईवटा कारणहरु रहेका छन् । एउटा भनेको खेलकुद क्षेत्रमा बढी राजनीति हावी हुनु नै हो भने अर्को राज्यले खेलाडीहरुलाई उचित सुविधा प्रदान गर्न नसक्नु नै हो । राष्ट्रिय खेलाडीलाई समेत खेल जीवन पश्चात बाँच्न धौ–धौ परेको अवस्था छ । यसमा सरकारले कुनै चासो देखाएको छैन । कम्तिमा सरकारले त्यस्ता खेलाडीहरुलाई गाँस, बास र कपासको व्यवस्था सुनिश्चित गर्ने र आवश्यक भौतिक पूर्वाधारको विकास गर्ने हो भने नेपालमा खेलकुद क्षेत्रको विकास हुनेमा दुइमत छैन ।

० नेपालमा बक्सिङ खेलको अवस्था चाहिं कस्तो छ ? – बक्सिङको अवस्था पनि हिजोका दिनहरुमा भन्दा आज धेरै खस्केको छ । हिजोका दिनमा नेपालका लागि अन्तर्राष्ट्रिय पदक बढी भित्र्याउने खेल बक्सिङ नै हो । तर पनि सम्बिन्धित निकायले चासो र चिन्ता नदेखाउँदा यस्तो समस्या आएको हो ।

० बक्सिङ खेलको विकासका लागि बक्सिङ संघले के गर्दै छ ? – बक्सिङ खेलको स्तर उकास्नका लागि यतिबेला बक्सिङ संघ क्रियाशिल भएर लागेको छ । तर, सोचे अनुसारको उपलब्धि हासिल गर्न सकिएको छैन । आर्थिक अवस्था कमजोर हुँदा हामीले सहज तरिकाले काम गर्न पाएका छैनौं । अन्य खेलहरुलाई जस्तो मार्सल आर्टका खेलहरुलाई विदेशबाट समेत सहयोग नपाइने भएकाले पनि समस्या देखिएको हो । त्यसैले संघले नै आर्थिक अवस्थाको मजबुद बनाउनका लागि काम गर्दै आएको छ ।

० सरकार र सम्बन्धित निकायले यो खेललाई हेर्ने दृष्टिकोण कस्तो पाउनु भएको छ ? – यसलाई हेर्ने निकाय भनेको सरकार र राष्ट्रिय खेलकुद परिषद् नै हो । सरकारले बक्सिङलाई मात्र हेर्ने भन्ने होइन । नेपालका जतिपनि खेलहरु छन्, ति सबैलाई हेर्नुपर्ने हुन्छ । तर, कुन खेललाई बढी प्राथमिकता दिने भन्ने छुट्याउन सक्नु पर्छ । जुन खेलले अन्तर्राष्ट्रिय स्तरसम्म पुगेर नेपालको नाम फैलाएको छ, त्यसलाई बढी प्राथमिकतामा राखेर काम गर्दै जाने हो भने खेल क्षेत्र उकालो लाग्नेमा दुइमत छैन ।

० बक्सिङ संघको महासचिवको हैसियतले तपाईले आफ्नो व्यक्तिगत तर्फबाट यो खेललाई माथि उकास्न के गर्ने सोच बनाउनु भएको छ ? – मेरो व्यक्तिगत तर्फबाट गर्ने सहयोग मैले यसअघि देखि नै गर्दै आएको छु । र, मैले गर्न सक्ने सबै सहयोग गर्न तयार छु । बक्सिङको विकासका लागि सरकारसँग आवश्यक पहल गर्ने, हामीसँग आवद्ध जिल्ला, क्षेत्र तथा संघहरुलाई क्रियाशिल बनाउन पहल गर्ने, दक्ष खेलाडी उत्पादन गर्ने र उत्पादन भएको दक्ष खेलाडीहरुको भविश्य सुनिश्चितताका लागि राज्यसँग पहल गर्ने काम मैले गरिरहेको छु ।

० पंसंग बदलौं, तपाई प्राइम एजुकेशन इन्फरमेशन सेन्टरको प्रवन्ध निर्देशक समेत हुनुहुन्छ, यसको बारेमा बताइदिनुस् न । – प्राइम एजुकेशन इन्फरमेशन सेन्टरको स्थापना सन् २००३ मा भएको हो । यसले उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई शैक्षिक परामर्श प्रदान गर्नेदेखि आवश्यक तयारी कक्षाहरु सञ्चालन र डकुमेन्टेसनको काम गर्दै आएको छ । हामीले यूएसए, यूके, अष्ट्रेलिया, न्यूजिल्याण्ड, आयरल्याण्ड र फ्रान्स जान चाहने विद्यार्थीहरुलाई त्यहाँका विश्वविद्यालय तथा कलेजहरुमा पठाउँदै आएका छौं ।

० प्राइमको मुख्य उद्देश्य के हो ? – प्राइमको मुख्य उद्देश्य भनेको उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई उनीहरुको क्षमता र आर्थिक अवस्था अनुसार उनीहरुले खोजेको र रोजेको देशमा पठाउनु नै हो । विद्यार्थीहरुको समस्या समाधानका लागि पनि हामीले काम गर्दै आएका छौं ।

० पछिल्लो समयमा कन्सलटेन्सीहरुमाथि मेनपावरको काम गरेको भन्ने आरोप पनि लाग्दै आएको छ नि ? – कुनै कन्सलटेन्सीहरुले त्यस्तो काम गरेका होलान् । कुनै पनि क्षेत्रमा राम्रोसँगै नराम्रो काम गर्नेहरु पनि हुन्छन् । म स्पष्ट भन्छु– गरेनन् र गर्दैनन् भन्न सकिंदैन । तर, केही कन्सलटेन्सीहरुले नराम्रो काम गरे भनेर सबैमाथि आरोप लगाउनु चाहिं गलत हो । कन्सलटेन्सी व्यवसायलाई मेनपावरको काम गर्ने अधिकार नै हुँदैन । र पनि त्यस्तो काम गर्दा आम विद्यार्थी तथा अभिभावकहरुसम्म यसले नराम्रो असर पुगेको छ । त्यसैले यो कार्यलाई सम्बन्धित निकायले तत्कालै रोक्नु पर्छ ।

० कन्सलटेन्सी क्षेत्रका चुनौतीहरु के–के हुन् ? – यो क्षेत्रको सबैभन्दा ठूलो चुनौती भनेको अस्वस्थ प्रतिस्पर्धा नै हो जस्तो मलाई लाग्छ । कन्सलटेन्सी क्षेत्रका केही व्यवसायीहरुले प्रोफेसनल तरिकाले काम नगर्दा र हुरि बतासको शैलीमा यस क्षेत्रमा प्रवेश गर्ने व्यवसायीहरुका कारण नै यस्ता चुनौति देखिएका हुन् । जुन देशले भिसा प्रक्रिया सजिलो बनाएको छ, त्यहाँको काम गर्ने र भिसा प्रक्रिया गाह्रो भएपछि व्यवसाय नै बन्द गरेर अन्य व्यवसायतिर जाने कारणले गर्दा यो पेशा नै धरापमा पर्दै गएको छ ।

० यसको समाधानको लागि के गर्नु पर्ला ? – यसका लागि अस्वस्थ प्रतिस्पर्धा हटाउने र सम्बन्धित निकायले पनि स्वीकृति प्रदान गर्ने बेलामा आवश्यक मापदण्ड पूरा गरेको छ या छैन, त्यसलाई हेरेर मात्र स्वीकृति प्रदान गर्ने हो भने यस्ता समस्या केही हदसम्म भए पनि कम हुन्छन् ।

० शिक्षा मन्त्रालयबाट जारी निर्देशिकाले कस्तो फाइदा पुगेको छ त ? – हो, शिक्षा मन्त्रालयले शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण सम्बन्धि निर्देशिका २०६८ जारी गरेको छ । यो निर्देशिका कागजमा मात्र सिमित नभई कार्यान्वयन हुने हो भने हामी जस्तो यहि पेशालाई नै अँगालेर गुणस्तरिय परामर्श प्रदान गर्दै आएका कन्सलटेन्सीहरुलाई फाइदा पुग्छ भने गलत गर्न खोज्ने व्यवसायीहरु आफै यस क्षेत्रबाट बाहिरिन्छन् । यो निर्देशिका अनुसार चल्ने हो भने कन्सलटेन्सीहरुमाथि जुन आरोप लाग्दै आएको छ, त्यो निर्मुल हुन्छ ।

० तपाईहरुले सहि परामर्श प्रदान गरेको बताइरहँदा विद्यार्थीहरु त समस्यामा परिरहेका छन् नि ? – हो, कतिपय देशमा उच्च शिक्षाका लागि पुगेका नेपाली विद्यार्थीहरुले समस्या भोग्नु परेको पक्कै हो । तर समस्या कसरी उत्पन्न भयो भन्ने कुरा महत्वपूर्ण हुन्छ । मलाई के लाग्छ भने विद्यार्थीहरुले समस्या पाउनुमा कन्सलटेन्सी मात्र दोषी पक्कै हुँदैनन् । यसमा विद्यार्थीको पनि उत्तिकै दोष देखिन्छ । कन्सलटेन्सीहरुले सहि सूचना दिन नसक्नु र विद्यार्थीहरुले बुझ्ने कोशिस नगर्नु नै यसको मुख्य कारण हो । विद्यार्थीले पनि आफू जान लागेको देशको सम्बन्धित निकायमा गएर बुझ्न आवश्यक छ । कन्सलटेन्सीहरुले जे सूचना दिएका छन्, त्यसलाई नै विद्यार्थीहरुले स्वीकारेर विदेश जानुपर्छ भन्ने छैन । आज भनेको इन्टरनेटको जमाना हो । त्यसैले विद्यार्थी आफैले पनि आफू जान लागेको देश, कलेज, त्यहाँको रहन सहन, भाषा, आफूले पाउने सुविधा लगायतका विषयमा जान्नु आवश्यक छ । अर्को कुरा यस्ता समस्या आउनुमा आर्थिक अवस्था नै हो । नेपालबाट उच्च शिक्षाका लागि गएका विद्यार्थीहरुलाई अभिभावकले आवश्यक रकम पठाउन नसक्दा विद्यार्थीहरु त्यहाँ काम गर्न बाध्य हुन्छन् र समस्या उत्पन्न हुन्छ । विद्यार्थीहरु आफै विद्यार्थी भिसामा विदेश गएर पैसा कमाउने सपना देख्दा समस्या बढ्दै गएका हुन् ।

० कतिपय कन्सलटेन्सीहरुले भिसा तथा जवको ग्यारेन्टी भन्दै विद्यार्थीहरु तानिरहेका छन्, के यो संभव छ ? – छैन, यो कुरा विल्कुलै गलत हो । म त के भन्छु भने संसारमा एउटा मात्र कुराको ग्यारेन्टी हुन्छ, त्यो भनेको मृत्यु मात्र हो । मृत्यु बाहेक अरु कुनै पनि कुराको ग्यारेन्टी हुँदैन । जसले शतप्रतिशत ग्यारेन्टी भनेका छन्, तिनीहरुमाथि तत्काल कारबाही हुनुपर्छ र विद्यार्थीहरु पनि त्यसको पछि लाग्नु हुँदैन ।

० उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई केहि सल्लाह छन् कि ? – म विद्यार्थीहरुलाई कुनै पनि विषयमा भ्रममा नपर्न आग्रह गर्दछु । कुनै कन्सलटेन्सीले गरेको प्रचार र तिनले दिएको सूचनाको भरमा विदेश जाने हो भने त्यो विद्यार्थीले पक्कै पनि विदेश पुगेर समस्या भोग्नु पर्छ । विद्यार्थीले पनि सत्य तथ्य कुरा के हो भन्ने बुझ्नु आवश्यक छ । त्यसका लागि उचित कन्सलटेन्सी छान्ने र आफू जान लागेको देशको सम्बन्धित निकायसम्म विद्यार्थी तथा अभिभावक स्वयम उपस्थित हुनु जरुरी छ ।

Comments

Top