माओवादीले सरकारमा नजाने अडान राख्दै गर्दा प्रधानमन्त्री ओलीले भने,‘सरकारले चाँडै पूर्णता पाउँछ’

काठमाडौं । नेकपा एमालेसँग पार्टी एकताको विधि औपचारिक रूपमै टुंगो नलागेसम्म माओवादी केन्द्रले केपी ओली नेतृत्वको सरकारमा सहभागी नहुने अडानमा दोहोर्याई रहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले भने सरकारले छिट्टै पूर्णता पाउने बताएका छन् ।

माओवादीको समर्थनमा विहिबार ओलीले प्रधानमन्त्री बनेपनि माओवादीले भने हालसम्म मन्त्रीहरुको नामावली पठाएको छैन ।

शेर्पा जातिहरुको प्रमुख चाड ग्याल्बो ल्होसारको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण शेर्पा समूदायलाई शुभकामना व्यक्त गर्दै ओलीले चाँडै नै मन्त्रीमण्डलले पूर्णता पाउने बताएका हुन् ।

शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्रीले शेर्पा समुदायले नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा परिचितगर्न खेलेको भूमिकाप्रति धन्यवाद पनि दिए । प्रधानमन्त्रीले नेपाल बहुजाती, बहुसाँस्कृतिक, बहुभाषिक देश भएको उल्लेख गर्दै नेपालको यस प्रकारको मौलिक विविधता हाम्रो राष्ट्रिय एकताको आधार रहेको बताए ।

प्रधानमन्त्रीले अबको सरकारको मूल प्राथमिकता सुखी नेपाली समृद्ध नेपाल भएको बताउँदै सरकार प्राकृतिक स्रोत साधनको अधिकतम उपयोग गर्दै रोजगारीकाअवसरहरु सृजना गरेर देशलाई समृद्ध बनाउने दिशातिर लाग्ने बताए ।

Comments

Top