संसद अधिवेशन फागुन २१ मा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २१ गते संघीय संसदको अधिवेशन आह्वा‍न गरेकी छन् । प्रधानमन्त्रीको सिफारिसमा संविधानको धारा ९३ को उपधारा (१) बमोजिम राष्ट्रपति भण्डारीले फागुन २१ गते सोमबार दिउँसो ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा संघीय संसदको अधिवेशन आह्वान गरेकी हुन्। प्रतिनिधिसभाको निर्वाचन सकिएको तीन महिनापछि संसद अधिवेशन बस्न लागेको हो।

मंसिर १० र २१ गते भएको प्रतिनिधिसभाको निर्वाचनबाट प्रत्यक्ष १६५ र समानुपातिक ११० गरी २७५ प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन्। ५९ सदस्यीय राष्ट्रिय सभा सदस्यमध्ये ५६ जना निर्वाचित भइसकेका छन्। तीन जना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्ने संवैधानिक व्यवस्था छ।

निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले तीन जनाको नाम राष्ट्रपति समक्ष सिफारिस गरिसकेका छन् । तर, एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली त्यसलाई उल्ट्याउने पक्षमा छन् ।

Comments

Top