फागुन २२ देखि एयर एसियाको उडान बन्द

airasia

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थल कार्यालयले फागुन २२ गतेदेखि मलेसियाको निजी एयरलाइन्स एयर एसियाको उडान बन्द गराउने भएको छ। एयर एसियाले विमानस्थल सेवा शुल्क बापतको बक्यौता नतिरेपछि उडान बन्द गर्न लागिएको कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए।

एयर एसियाले पुस २४ गते फेब्रुअरी २८ भित्र सबै बक्यौता चुक्ता गर्ने लिखित प्रतिबद्धता गरेको थियो। तर, प्रतिबद्धताअनुसार एयरलाइन्सले बक्यौता नतिरेपछि विमानस्थल सेवा शुल्क नियमावली २०६७ को नियम ३० अनुसार उडान बन्द गराउँदै बक्यौता दाखिल गर्न लागेको ठाकुरले जानकारी दिए।

प्राधिकरणले कार्यालयलाई मार्च ३ देखि उडान बन्द गराउन सहमति दिएको थियो। तर, विमानस्थल कार्यालयले एयर एसियालाई थप तीन दिनको समय दिँदै मार्च ६ बाट उडान बन्द गराउन लागेको प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले बताए।

कार्यालयले लगातार सार्वजनिक बिदा परेका कारण तीन दिन थप गरिएको जनाइएको छ। अब कार्यालयले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र प्राधिकरणलाई सूचना गराउँदै उडान बन्द गर्ने ठाकुरले अन्नपूर्णसँग बताए। एयर एसियाले विमानस्थल सेवा शुल्क बापत २० करोड रुपैयाँ विमानस्थल कार्यालयलाई बुझाउनुपर्नेछ।

एयर एसियाले पुस २४ गते पनि १० करोड रुपैयाँ दाखिल गर्ने र बाँकी रकम मासिक तीन करोड रुपैयाँको दरले किस्तामा तिर्दै जाने बताएको थियो। ‘तर, फेरि सोही दिन दुई करोड रुपैयाँ बुझाउँदै एयसियाले फेब्रुअरी २८ मा बाँकी बक्यौता रकम दाखिला गर्ने गरी लिखित सम्झौता गरेको थियो’, ठाकुरले भने। विमानस्थल कार्यालयले गत मंसिर मसान्तसम्म बक्यौता तिर्न पहिलोपटक सूचना प्रकाशन गरेको थियो।

एयर एसियाले विमानस्थल सेवा शुल्क बापतको बक्यौता नतिरेपछि उडान बन्द गर्न लागिएको हो।

पहिलो सूचना प्रकाशन भएको समयमा एयर एसियाले करिब नौ करोड रुपैयाँ दाखिल गरे पनि २३ करोड बाँकी थियो। तीन साताको अवधिमा केही थोरै बक्यौता भएकाले रकम दाखिल गरे पनि सबैभन्दा बढी एयर एसियाले अन्तिम दिन पुस २३ मात्रै दुई करोड रुपैयाँ तिरेको थियो।

कार्यालयका अनुसार नेपाल वायुसेवा निगम, मलेसियाको निजी वायु सेवा मालिन्दो एयर, यूएईको एयर अरेबिया, दक्षिण कोरियाको सरकारी वायु सेवा कोरियन एयर, भारतको निजी वायु सेवा इन्डिगो एयरलाइन्स, थाइल्यान्डको सरकारी कम्पनी थाई एयरवेज र हङकङको क्याथे ड्रागन एयरले पनि सेवा शुल्क तिर्न बाँकी छ।

यसैगरी, सिंगापुरको सिल्क एयर, भुटानको निजी वायु सेवा भुटान एयरलाइन्स, भारतको सरकारी वायु सेवा कम्पनी एयर इन्डिया ९इन्डियन एयरलाइन्स०, कतारको सरकारी वायु सेवा कतार एयरवेज, मलेसियाको सरकारी वायु सेवा मलेसिया एयरलाइन्स, चीनको चाइना इस्टर्न एयरलाइन्स र बंगलादेशको सरकारी वायु सेवा विमान बंगलादेशलगायत अधिकांश विदेशी एयरलाइन्सको पनि लामो समयदेखि केही रकम बक्यौता छ। यी कम्पनीलाई अब क्रमशः पत्राचार हुने उनले बताए।

यसैगरी सञ्चालनमा नरहेका एयरलाइन्सको बक्यौता पनि साढे ११ करोडभन्दा बढी छ। सञ्चालनमा नरहेका दुई दर्जनभन्दा बढी एयरलाइन्स कम्पनीले सरकारलाई बुझाउनुपर्ने ११ करोड ३९ लाख ६५ रुपैयाँ छ। सञ्चालमा नरहेका एयरलाइन्सले विमानस्थल प्रयोग गरे बापत तिर्नुपर्ने शुल्क बक्यौता रहेको कार्यालयले जनाएको छ।

कार्यालयले रकम असुलीका लागि प्राधिकरण र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहयोगमा रकम असुली प्रक्रिया अगाडि बढाउने भएको छ। विमानस्थल कार्यालयले सञ्चालनमा नरहेका एयरलाइन्स कम्पनीको बक्यौतका विषयमा प्राधिकरणलाई सूचना गरिसकेको छ। प्राधिकरणको सहमतिसँगै कार्यालयले संस्कृति, पर्यटन तथा नागरिक उड्डन मन्त्रालयमार्फत महालेखा नियन्त्रक कार्यालय अन्तर्गतको कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालयलाई रकम असुल गराउन पत्राचार गर्ने तयारी भएको छ।

यसैगरी त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयलगायत सरकारी कार्यालयको पनि ५५ करोड १२ लाख २१ हजार रुपैयाँ बक्यौता छ। सरकारी निकायमा सबैभन्दा बढी विमानस्थल भन्सार कार्यालयको ५३ करोड ९६ लाख रुपैयाँ बक्यौता छ।अन्नपूर्णमा खबर छ

Comments

Top